- किमाथांका नाकामा सडक, मितेरी पुल तथा रसुवाको टिमुरे, मुस्ताङको कोरला नाकामा सुक्खा बन्दरगाह निर्माणकार्यलाई निरन्तरता दिइने
नेपाल र चीनबिच व्यापार पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि समझदारी भएको छ । किमाथांका नाकामा सडक, मितेरी पुल र सुक्खा बन्दरगाह निर्माण गर्न, रसुवाको सुक्खा बन्दरगाह निर्माणलाई निरन्ता दिन र निर्माणधीन अन्य व्यापारिक पूर्वाधारलाई गति दिन दुई देशबिच समझदारी भएको हो ।
नेपाल–चीन वाणिज्य सचिवस्तरीय बैठकमा दुई देशबिच यस्तो समझादारी भएको हो । ‘नेपाल–चीन कोर्डिनेसन मेकानिजम अन बोर्डर ट्रेड एन्ड कोअपरेसन’को तेस्रो वाणिज्य सचिवस्तरीय बैठक ६–७ माघमा चीनको ल्हासामा सम्पन्न भएको थियो ।
बैठकमा संखुवासभा जिल्लाको सीमानाका किमाथांकामा सडक, मितेरी पुल, नेपालको किमाथांका र चीनको सिजास्वायत्त क्षेत्र (छेन्ताङ)मा जोड्ने सडक र सुक्खा बन्दरगाह (आइसिडी) निर्माणका लागि नेपालले प्रस्ताव गरेको थियो । नेपालको प्रस्तावमा कूटनीतिक माध्यमबाट अगाडि बढाउन दुई पक्षबिच समझदारी भएको हो ।
त्यस्तै, रसुवा (जिलोङ)को टिमुरेस्थित सुक्खा बन्दरगाह निर्माणकार्यलाई निरन्तरता दिने, मुस्ताङको कोरला नाकाको दुवैतर्फ भन्सार प्रक्रिया सहज बनाउने र कोरला नाकामा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रक्रियालाई तीव्रता दिने विषयमा समेत समझदारी भएको हो । हिल्सा–सिमिकोट सडक र रसुवा स्याफ्रुबेँसी सडक निर्माणकार्यमा नेपालको तर्फबाट सहजीकरण गर्ने तथा चीनको तर्फबाट निर्माणकार्यलाई तीव्रता दिने विषयमा समेत समझदारी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपालको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले गरेका थिए भने चीनको नेतृत्व सिजाङ जनसरकारका उपाध्यक्ष चाओ पेडले गरेका थिए । सन् २०२४ नोभेम्बरमा काठमाडौंमा सम्पन्न दोस्रो बैठकको निर्णय तथा सहमति कार्यान्वयनको प्रगति समीक्षा गरिएको थियो ।
काठमाडौं–ल्हासा बस सेवा पुन: सञ्चालन हुने
नेपालको काठमाडौं र तिब्बतको राजधानी ल्हासाबिच सीधा बस सेवा पुन: सञ्चालन गरिने भएको छ । हालै सम्पन्न नेपाल–चीन वाणिज्य सचिवस्तरीय बैठकमा काठमाडौं–ल्हासा बस सेवा पुन: सञ्चालनका लागि सहमति भएको हो ।
बैठकमा नेपाल–चीन उच्च प्रविधियुक्त कृषिपार्क निर्माण परियोजना अगाडि बढाउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । त्यस्तै, दुवै पक्षले अथोराइज्ड इकोनोमिक अपरेटर (एइओ) प्रमाणीकरणको अवधारणा कार्यान्वयन तथा परम्परागत चिकित्सा क्षेत्रमा आपसी सहकार्य सुदृढ गर्ने विषयमा समेत सहमति भएको हो । बैठकमा चीनको जिलोङ र रसुवा जिल्लाको कुनै एक नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना गर्न चीनले प्रस्ताव गरेको थियो ।
सुरुङमार्ग निर्माणदेखि भन्सार सहजीकरणमा छलफल
वाणिज्य सचिवस्तरीय बैठकमा दुवै पक्षबिच सन् १९८१ को व्यापार तथा भुक्तानी सम्झौताको समसामयिक संशोधनका विषयमा छलफल भएको थियो । त्यस्तै, व्यापारी, चालक र सहचालकका लागि सीमा प्रवेश पास सरलीकरण, टोखा–छहरे सुरुङ निर्माण प्रक्रियालाई तीव्रता, रासायनिक मल आयातका लागि कोटा निर्धारण, नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिपश्चात् पनि चीनको शून्य भन्सार नीतिलाई निरन्तरता दिने विषय तथा विपत्का समयमा चिनियाँ पक्षले सवारीसाधन पुनर्मार्गीकरण (रिरुटिङ) सुविधा दिनेलगायत विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, भन्सार सहजीकरण र सीमा व्यवस्थापन सुधारका लागि दुवै पक्षले नेपाल–चीन सीमा यातायात सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी व्यापारको समय र लागत घटाउने विषयमा समेत छलफल भएको थियो ।