राष्ट्रिय सभाका लागि आइतबार निर्वाचन हुँदै छ । फागुनभित्र रिक्त हुने १९ सिटमध्ये २ सिटका लागि बागमतीमा पनि निर्वाचन हुन लागेको हो । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यको पदावधि सकिने संवैधानिक व्यवस्थाअनुसार आगामी फागुनमा रिक्त हुने १८ सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । एकजना सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिनेछ ।
आगामी फागुनमा महिला क्लस्टरबाट राष्ट्रिय सभा सदस्य रहेकी नेकपा एमालेकी इन्दिरादेवी गौतम र गंगाकुमारी बेलवासेको पदावधि आगामी फागुनमा सकिँदै छ। सोही कारण बागमतीबाट महिला र अन्य क्लस्टरअन्तर्गत दुई सदस्यका लागि निर्वाचन हुन लागेको हो। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।
आइतबार बागमती प्रदेशबाट दुईजना राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले सहकार्य गर्ने निर्णय यसअघि नै गरिसकेका छन् । सोही सहकार्यअनुसार दुई सिटका लागि कांग्रेस र एमालेले एक–एकजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । महिला क्लस्टरअन्तर्गत कांग्रेसबाट गीता देवकोटा र एमालेबाट डा. प्रेमप्रसाद दंगाल उम्मेदवार बनेका छन् । कांग्रेस–एमालेबीच भएको सहकार्यका कारण बागमती प्रदेशबाट दुवै दलका उम्मेदवार निर्वाचित हुने लगभग निश्चित देखिएको छ ।
१० जना जनप्रतिनिधि मतदानमा सहभागी हुन पाउने छैनन्
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट प्रदेश सभा सदस्य ११० र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष २३७ जना गरी जम्मा ३४७ जना मतदाता रहने व्यवस्था थियो । तर भ्रष्टाचार मुद्दाका कारण एक जना जनप्रतिनिधि मतदानबाट वञ्चित भएका छन् भने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन प्रदेश सभा तथा स्थानीय तहबाट राजिनामा दिएका ९ जना जनप्रतिनिधिले पनि मतदान गर्न पाउने छैनन् । यसरी बागमती प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि कुल मतदाता संख्या ३३८ कायम भएको छ ।
मतदान गर्न नपाउनेहरूमा प्रदेश सभा सदस्यबाट राजिनामा गरेका कांग्रेसका कुन्दन काफ्ले, राप्रपाका सुनिल केसी, एमालेका प्रकाश श्रेष्ठ र अमनकुमार मास्के, तत्कालीन नेकपा एकीकृत समाजवादी ९हाल नेकपा० का वसन्त मानन्धर र तत्कालीन नेकपा माओवादी केन्द्र ९हाल नेकपा० का युवराज दुलाल रहेका छन् । यसैगरी स्थानीय तहको प्रमुख पदबाट राजिनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका बालेन्द्र शाह, रेनु दाहाल र अशोक व्यञ्जुसहित भ्रष्टाचारको मुद्धा लागेका मोहन बहादुर बस्नेतले पनि मतदान गर्न पाउने छैनन् ।
प्रमुख निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार प्रदेश सभा वा स्थानीय तहबाट राजिनामा दिएर प्रतिनिधि सभामा उम्मेदवार बनेकाले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न पाउने छैनन् । ‘एउटै व्यक्तिले एकैपटक दुई पदमा भूमिका निर्वाह गर्न नपाउने कानुनी व्यवस्था भएकाले उनीहरूको नाम मतदाता नामावलीबाट हटाइसकिएको छ,’ उनले भनिन्। निर्वाचन आयोगले जारी गरेको अन्तिम मतदाता नामावलीअनुसार नै निर्वाचन हुने उनको भनाई छ ।
मतभारको गणितः गठबन्धनको स्पष्ट बहुमत
अब बागमती प्रदेशमा १० जना जनप्रतिनिधिले मतदानमा सहभागी हुन नपाउने भएपछि १०४ प्रदेश सभा सदस्य र २३४ स्थानीय तहका जनप्रतिनिधि गरी कुल मतभार ९ हजार ९६३ कायम भएको छ । निर्वाचन आयोगको व्यवस्थाअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ का दरले ५ हजार ५१२ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ का दरले ४ हजार ४४६ हुन्छ ।
दलगत रूपमा हेर्दा नेपाली कांग्रेस बागमती प्रदेशको सबैभन्दा ठुलो दल हो। कांग्रेससँग प्रदेश सभामा ३७ सिट र स्थानीय तहमा १०८ प्रमुख तथा उपप्रमुख छन्। एकजना जनप्रतिनिधि भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा र एकजना प्रदेश सभा सदस्यले राजीनामा दिएपछि कांग्रेसको कुल मतभार ३ हजार ९६० पुगेको छ ।
नेकपा एमालेका दुईजना प्रदेश सभा सदस्य र एकजना स्थानीय तह प्रमुखले राजीनामा दिएपछि एमालेको कुल मतभार २ हजार ४४६ रहेको छ । कांग्रेस र एमालेबिच गठबन्धन हुँदा दुवै दलको संयुक्त मतभार ६ हजार ४२५ पुग्छ, जुन कुल मतभारको स्पष्ट बहुमत हो ।
अन्य दलको अवस्थाः
यता नेकपा माओवादी केन्द्रका एक जना प्रदेश सभा सदस्य र एकजना स्थानीय तह प्रमुखले राजीनामा दिएपछि उसको मतभार २ हजार १२४ कायम भएको छ । नेकपा एकीकृत समाजवादीका एक जना प्रदेश सभा सदस्यले राजिनामा दिएपछि उक्त दलको मतभार ४८९ रहेको छ । हाल यी दुई दल एकतामा रहेकाले उनीहरूको संयुक्त मतभार २ हजार ६१३ हुन आउँछ ।
प्रदेश सभामा एकजना सदस्यले राजीनामा दिएपछि राप्रपाको १२ सिट मात्रै बाँकी छ । स्थानीय तहमा पनि कमजोर उपस्थितिका कारण राप्रपाको कुल मतभार ६५५ रहेको छ। नेपाल मजदुर किसान पार्टीको १९७, हाम्रो नेपाली पार्टीको १०६ र स्वतन्त्र उम्मेदवारको १९ मतभार रहेको छ ।
बागमती प्रदेशमा कांग्रेस र एमालेबिच बलियो चुनावी सहकार्य रहेकाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुवै दलका उम्मेदवार निर्वाचित हुने प्रायः निश्चित छ । यद्यपि मतदान प्रक्रिया र अन्तिम मतगणनाले औपचारिक नतिजा तय गर्ने निर्वाचन आयोगले जनाएको छ ।