आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका पूर्वमन्त्री महावीर पुनले सडकमै पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्रिभुज निर्वाचन चिन्ह प्रदान गरेसंगै पुनले शनिवार जिल्ला सदरमुकाम बेनीबजारको बिरेन्द्रचोकमा सडकमा पत्रकार सम्मेलन गरी आफ्नो चुनाबी प्रतिबद्धता घोषणा गरेका हुन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गी गाउँमा जन्मनुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुन वर्तमान अन्तरिम शुसिला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए । मन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका पुनले आफु मन्त्री रहँदा नेपालको शिक्षा क्षेत्र सुधारका लागि तयार गरेका विद्येयकहरुलाई अध्यादेशको रुपमा जारी गर्न राष्ट्रपतिले सहयोग नगरेको र आफ्नो योजना विफल भएकाले त्यसलाई टुङ्गोमा पु¥याउन आफु उम्मेदवार बनेको बताए ।
आफु शिक्षा मन्त्री हुँदा नेपालको विद्यालय शिक्षा, व्यावसायिक शिक्षा र विश्वविद्यालय शिक्षामा रहेका बेतिथि हटाउन र सुधार गर्नका लागि अध्यादेश मार्फत कार्यान्वयन गर्ने गरी तयार गरेका तीन वटा ऐन र चार वटा नियमावली अलपत्र परेकाले त्यसलाई आगामी संसदबाट कार्यान्वयन गराउन मन्त्रीबाट राजीनामा दिएर साँसदमा उम्मेदवार बनेको बताए ।
‘‘ पहिले राष्ट्रपतिले अध्यादेश ल्याउन सकरात्मक देखिनुभएको थियो, अन्तिममा दुई महिना लगाएर विज्ञ टोली समेतको सहयोगमा तयार गरेका ऐन र नियमावलीका मस्यौदा अघि बढ्ने स्थिति रहेन, निर्वाचन आचार संहिताको कारण पनि आगामी संसदबाट मात्रै त्यसलाई अघि बढाउन सकिने भएकाले म निर्वाचनमा होमिएको हुँ’’– पुनले भने । नेपालको शिक्षा क्षेत्र राजनीतिक हस्तक्षपले अस्तव्यस्त बनेकाले त्यसलाई सुधार गर्न विद्यमान कानुन र ऐनहरुलाई परिमार्जन गर्न आबश्यक रहेकाले आफुले त्यसलाई टुङ्गोमा पुर्याउने कोसिस गरेको बताए ।
उनले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थालाई हटाउनुपर्ने र हरेक विश्वविद्यालयको फरक फरक शिक्षा सेवा आयोगलाई खारेज गरेर एउटै विश्वविद्यालय शिक्षा आयोग बनाउन आबश्यक रहेको समेत बताउनुभयो । पुनले नेपालमा प्रविधि र नवप्रवद्र्धनलाई प्राथमिकतामा राखेर उद्यमीलाई प्रोत्साहन गरी आर्थिक विकास गरेर युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको समेत बताए ।
रास्वपाले गर्यो समर्थन
राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार युवराज रोकाले सर्मथन गर्नुभएको छ । पुनले बेनीको वीरेन्द्रचोकमा आयोजना गरेको पत्रकार सम्मेलन स्थलमा पुगेका रोकाले पार्टीको सल्लाह र शुभेच्छुकहरूको सुझाव अनुसार प्रतिनिधिसभामा महाविरलाई सघाउने घोषणा गरेका हुन् । ‘हामी र हाम्रो पार्टीको नेतृत्वले महावीर सरसंग निरन्तर संवाद गर्दै आएका थियौँ, तर फोन गर्दा कुरा गर्नै नचाहने, फोन उठाएर पनि त्यत्तिकै राखिदिने गर्नुभयो, गाली पर्नि गर्नुभयो, उहाँले जे–जस्तो गरेपनी हामीले उहाँ जत्तिको सक्षम व्यक्तिलाई जिताउन पर्छ भनेर समर्थन गर्ने निर्णय गरेका हौँ’’–रोकाले भने ।
निर्वाचन आयोगले तोकेको समयसिमा भित्र मनोनयन फिर्ता गर्न ढिलाइ भएपनि प्रतिनिधिसभामा उहाँलाई सघाउने र बिजेता बनाउने रोकाले बताए । जान्नेलाई छान्ने पार्टीको नीति नै रहेकाले जिल्लामा उम्मेदवार बनेकाहरुमध्ये पुन सबैभन्दा सक्षम रहेको उनको भनाई छ ।
स्वतन्त्र उमेदवार बनेका बेनीका नविन जिसीले उमेदवारी फिर्ता लिएर शुक्रबार महावीरलाई सघाउने घोषणा गरेका थिए । नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजाले बिहीबार विज्ञप्ति जारी गरेर महावीरलाई सर्मथन गर्ने घोषणा गरेपनि उमेदवारी फिर्ता गरेका छैनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको शुक्रबार दिउँसो १० देखि १ बजेभित्रको समयमा जिसीको मात्र उमेदवार फिर्ता भएको हो ।
१३ जनाको मनोनयन दर्ता भएकोमा एक जना स्वतन्त्र र १२ जना राजनीतिक दलको उमेदवारी कायम रहेको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताए।
नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा, र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, नेकपा (माओवादी)का क्षेत्रबहादुर घिमिरे (धु्रब), प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा र मंगोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामाले उमेदवारी दिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम रहेका छन् ।