धनकुटामा जेन-जी पुस्ताको एक्लो उम्मेदवारी, २५ वर्षीय शालिकराम राई मैदानमा

शनिबार, १० माघ, २०८२
डिजिटल संस्करण

गत भदौं २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनको प्रभावस्वरूप आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। उक्त आन्दोलनको मुख्य उद्देश्य राज्यको नीतिनिर्माण तहमा जेनजी पुस्ताको सहभागिता सुनिश्चित गर्नु रहेको थियो।

यसै सन्दर्भमा धनकुटा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि तीन जना स्वतन्त्रसहित कुल १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तर उम्मेदवारहरूको सूची हेर्दा जेनजी पुस्ताबाट केवल एक जनाको मात्र उम्मेदवारी परेको देखिन्छ।

जेनजी पुस्ताबाट धनकुटामा एक्ला उम्मेदवार राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राई रहेका छन्। हाल २५ वर्ष पुगेका राई सबैभन्दा कान्छा उम्मेदवार हुन्। बाँकी उम्मेदवारहरूको उमेर ३० वर्षदेखि ६५ वर्षसम्म रहेको छ।

उमेरका आधारमा हेर्दा सबैभन्दा जेठा उम्मेदवार नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेल ६५ वर्षका छन्। नेकपा एमालेका राजेन्द्रकुमार राई ५९ वर्षका छन् भने स्वतन्त्र उम्मेदवार जितेन्द्र राई ५४ वर्ष पुगेका छन्।

३० देखि ४० वर्ष उमेर समूहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा (३०), मंगोल नेशनल अर्गनाइजेशनका सागर राई र स्वतन्त्र उम्मेदवार मनकुमार योञ्जन (३१/३१), आम जनता पार्टीका प्रेमबहादुर थापा (३४), जनता समाजवादी पार्टीका निशान राई (३५), स्वतन्त्र उम्मेदवार लाक्पा तामाङ (३६), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी बालकुमारी ताम्ली (३७), राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी र नेकपा माओवादीका रविनकुमार राई (३७/३७) रहेका छन्।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी ४० वर्ष, नेपाली कांग्रेसका दिनेश राई ४५ वर्ष, श्रम संस्कृति पार्टीका सानबहादुर राई ४६ वर्ष तथा जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बू ५० वर्षका रहेका छन्।

जेनजी आन्दोलनले युवा सहभागिताको मुद्दा उठाए पनि उम्मेदवारीको तथ्यांकले भने अझै पनि राजनीतिक नेतृत्वमा युवाको प्रतिनिधित्व न्यून रहेको देखाएको छ। धनकुटामा जेनजी पुस्ताबाट एक्ला उम्मेदवार शालिकराम राईको उपस्थितिले मतदाताबीच नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

सुझावित समाचार