जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले आइसिसी टी–२० ग्लोबल छनोटको सुपर सिक्स सम्भावना कायम राखेको छ । शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको जिम्बाव्वेले २० ओभरमा ६ गुमाउँदै १३० रनको लक्ष्य दिएको थियो ।
प्रत्युत्तरमा नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पहिलो जित निकाल्यो । यसअघि नेपाल थाइल्यान्डसँग ८ विकेट तथा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यता, जिम्बाव्वे प्रतियोगिताबाट बाहिरिसकेको छ । पछिल्ला चारै खेलमा हार बेहोरेको जिम्बाब्वे अंक विहीन छ । समूह ‘बी’बाट नेदरल्यान्ड्सले सुपर सिक्समा स्थान बनाइसकेको छ ।
नेपालको लागि उपकप्तान पूजा महतोले अर्धसतक बनाइन् । उनले ५० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक अविजित ५२ रन बनाइन् । पूजाले चौका हान्दै नेपाललाई जित दिलाएकी थिइन् । कप्तान इन्दु बर्माले २३ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाइन् । ओपनर बिन्दू रावलले १७ बलमा दुई चौकासहित १५ रनको योगदान गरिन् । सीता रानामगरले ११ रन जोड्दा हर्ट भइन् । नेपालको लागि इन्दु र पुजाले तेस्रो विकेटको लागि ३८ बलमा ३५ रनको साझेदारी गरेका थिए । यसअघि पहिलो विकेटको लागि बिन्दू र सम्झना खड्काले २८ रनको साझेदारी गरेका थिए । यसअघि ओपनर सम्झना ख्ड्का ९, कविता जोशी १ रन बनाएर आउट भएका थिए ।
यसअघि जिम्बाव्वेको लागि ब्याटर केली एन्डलोभुको अविजित ५२ रन बनाइन् । चौथो नम्बर क्रिजमा आएकी एन्डलोभुले ३६ बलमा ८ चौका हिर्काएकी थिइन् । त्यस्तै, ओपनर विलोभ्ड बिजाले ३५ बलमा चार चौकासहित ३४ र मोडेस्टर मुपाचिक्वाले १४ रनको योगदान गरे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि रिया शर्माले चार ओभरमा २५ रन खर्चिँदै दुई विकेट लिइन् । त्यस्तै कविता कुंवर, पूजा महतो, सीता रानामगर र रुवीना क्षेत्रीको नाममा समान एक विकेट रह्यो ।