धनकुटामा निर्वाचन प्रहरी भर्नाका लागि दोस्रोपटक दरखास्त आह्वान

शनिबार, ११ माघ, २०८२
डिजिटल संस्करण

माग अनुसारको आवेदन नपरेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाले निर्वाचन प्रहरी भर्नाका लागि दोस्रोपटक पुनः दरखास्त आह्वान गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि निर्वाचन प्रहरी पदपूर्तिका लागि पुनः दरखास्त खुलाइएको हो। यसअघि तोकिएको अवधिमा आवश्यक संख्यामा आवेदन नपरेपछि पुनः आवेदन माग गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्सपेक्टर किशोर तामाङका अनुसार ६७ जना निर्वाचन प्रहरी अपुग भएकाले माघ १० र ११ गते दुई दिनका लागि पुनः दरखास्त आह्वान गरिएको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हे.क्वा. छिन्ताङ, इलाका प्रहरी कार्यालय छिन्ताङ वा इलाका प्रहरी कार्यालय राजारानीमध्ये आफूलाई अनुकूल पर्ने कार्यालयमा गएर दरखास्त दिन सक्नेछन्।

धनकुटा जिल्लाका लागि कुल १ हजार ८५ जना निर्वाचन प्रहरीको कोटा निर्धारण गरिएको छ। यसअघि पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरिएकोमा ८ सय ७६ जनाको मात्र आवेदन परेको थियो। त्यसपछि माघ ३ गतेसम्म म्याद थप गरिए पनि मागअनुसार आवेदन नपरेपछि दोस्रोपटक दरखास्त माग गरिएको हो।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटा जिल्लामा कुल १ लाख १८ हजार ४ सय २५ जना मतदाता रहेका छन्। जिल्लामा १ सय १९ मतदानस्थल र १ सय ६६ मतदान केन्द्र तोकिएका छन्।

सुझावित समाचार