२५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बालाई बेस्ट इन्टिग्रिटी अवार्ड प्रदान गरिएको छ।
कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा स्थापना गरिएको २५ हजार रुपैयाँ राशिको ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’ सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ रिजर्भ गण पकली सुनसरीमा कार्यरत सुब्बालाई आइजिपी राजु अर्यालले शुक्रबार प्रदान गरेका हुन्।
संगठनबाट आफूलाई प्राप्त जिम्मेवारी निर्वाहमा उल्लेखनीय ढंगबाट कार्यसम्पादन गरी उल्लेखनीय कार्य गर्न सफल डिएसपी सुब्बालाई पुरस्कृत गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। विगतमा विराटनगरको रानी, सिराहाको मार्डर र पर्साको वीरगन्ज भन्सार गुल्मको कमान्ड सम्हालेर राजस्व संकलन र तस्करी नियन्त्रणमा उल्लेखनीय योगदान दिएकोमा उनले सो पुरस्कार प्राप्त गरेका हुन्।
त्यस्तै, सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक कोइरालालाई ‘एपिएफ सम्मान’बाट पुरस्कृत गरिएको छ । सुरक्षा सेवाको अतिरिक्त आफ्नो कला, साहित्य, अभिनय, सिर्जना, लेखन, परिकल्पना तथा सांस्कृतिक प्रस्तुति एवं सन्देशमूलक टेलिभिजन कार्यक्रमहरू र गीत–संगीतमार्फत आमजनमानसमा परिचित छन् ।
विपत् व्यवस्थापन तालिम शिक्षालयलाई रनिङ अवार्ड
यस वर्ष पनि सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार केन्द्रीय निरीक्षणमा प्रथम भएको छ । २५औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा माघ ९ गते आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक भरत खनियाँलाई ‘रनिङ अवार्ड’ प्रदान गरिएको छ ।

यस वर्ष सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणको क्रममा देशभरका तालिम शिक्षालयहरूमध्ये साे तालिममा शिक्षालय प्रथम भएको हो ।
डिएसपी थापालाई उत्कृष्ट मिडिया समन्वय पुरस्कार
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापालाई उत्कृष्ट मिडिया समन्वय पुरस्कार प्रदान गरिएको छ ।
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा माघ ९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चाेकमा आयोजित प्रभातकालीन विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनलाई नगदसहित प्रशंसापत्र प्रदान गरेका हुन् । योसँगै उनी चौथोपटक संगठनबाट पुरस्कृत भइसकेका छन्। थापा हाल उनी सशस्त्र प्रहरी बल नेपालको सूचना शाखामा सहप्रवक्ताको जिम्मेवारीमा छन्।

यसअघि उनी ०७७ सालमा २०औँ सशस्त्र प्रहरी दिवसको अवसरमा संगठनसँग सम्बन्धित उजुरी तथा गुनासोहरूको समाधान तथा व्यवस्थापनमा प्रभावकारी कार्य गरेबापत पुरस्कृत भएका थिए । त्यस्तै, २१औँ सशस्त्र प्रहरी दिवस ०७८ मा स्टाफ ड्युटीमा उत्कृष्ट कार्य गरेबापत र २४औँ सशस्त्र प्रहरी दिवस ०८१ एपिएफ आइजिपी कमेन्डेसन प्राप्त गरेका थिए।