प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विभिन्न १२ जनाको उम्मेदवारी परेकोमा दुईजनाले फिर्ता लिएका छन्। शुक्रबार स्वतन्त्र उम्मेदवार आसबहादुर पुन र दलबहादुर ओलीले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले जानकारी दिए।
एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वर्षमान पुन ‘अनन्त’ले तारा चिह्न, नेकपा एमालेका तर्फबाट गोकुलप्रसाद घर्तीमगरले सूर्य चिह्न र नेपाली कांग्रेसबाट डा. सुदनकुमार ओलीले रुख चिह्न लिएर चुनावी मैदानमा होमिएका छन्। यहाँ मुख्य दलको रूपमा रहेको नेपाली कम्युनिस्ट पार्टीको तुलनामा कांग्रेस–एमाले दोस्रो र तेस्रो हुँदै आएका छन्।
रोल्पामा पछिल्लो समय आक्रामक प्रचारमा लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घन्टी चुनाव चिह्नमा बालाराम थापालाई अगाडि सारेको छ। नेकपा (माओवादी)बाट चूडामणि वली ‘आदर्श’ले गोलो घेराभित्र दुई पात भएको कमलको फूल, राष्ट्रिय जनमोर्चाबाट मेखबहादुर विष्टले गिलास र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अमरबहादुर थापाले हलो चुनाव चिह्नमा उम्मेदवारी दिएका छन्।
त्यस्तै, मंगोल नेसनल अर्गनाइजेसनबाट कुमार घर्तीमगर कुखुराको भाले, नेसनल रिपब्लिक नेपाल पार्टीबाट मनबहादुर घर्तीमगर उडिरहेको माहुरी र आम जनता पार्टीका दिलबहादुर कामी मोबाइल चुनाव चिह्नका साथ चुनावी मैदानमा होमिएका छन्।