आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन रहेको छ। निर्वाचन कार्यतालिकाअनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्।
निर्धारित समय सकिएपछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आज अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ।
निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार देशभरबाट कुल तीन हजार ४८५ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा पुरुष तीन हजार ८८, महिला ३९५ र तेस्रोलिंगी एकजना रहेका छन्।
यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो । उजुरीका आधारमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । काठमाडौं जिल्ला क्षेत्र नम्बर १० स्थित निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त सूचनाका आधारमा कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकी मितेरी पार्टीकी उम्मेदवार सुमित्रा बस्नेतको उम्मेदवारी पनि खारेज गरिएको छ ।