संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक घोषणा गर्दै नेटो महासचिव मार्क रुटसँग ग्रिनल्यान्ड विषयमा हुने एक ‘भावी सम्झौताको रूपरेखा’ बनेको बताएका छन् । यसका साथै ट्रम्प यसअघि ग्रिनल्यान्ड अमेरिकालाई बिक्री गर्न आपत्ति जनाएका आठ युरोपेली राष्ट्रमाथि लगाउने भनेको १० प्रतिशत व्यापार शुल्कबाट पनि पछि हटेका छन् । ट्रम्पले ग्रिनल्यान्ड बिक्रीमा अवरोध गर्ने देशमाथि भन्सार बढाउँदै लगेर २५ प्रतिशतसम्म पुर्याउने चेतावनी दिएका थिए ।
ग्रिनल्यान्ड डेनमार्कको स्वशासित क्षेत्र हो । डेनमार्क र ग्रिनल्यान्ड दुवैले सो टापु बिक्री नहुने बताउँदै आएका छन् । युरोपसँग बढ्दो तनावलाई कम गर्ने प्रयासमा ट्रम्पले विश्व आर्थिक मञ्चको वार्षिक शिखर सम्मेलनका क्रममा स्विट्जरल्यान्डको डाभोसमा नेटो प्रमुखसँग भेट गरेका थिए । बुधबार आफ्नो ट्रुथ सोसल अकाउन्टमा एक पोस्ट गर्दे ट्रम्पले रुटसँगको वार्ता ‘अत्यधिक फलदायी’ भएको बताए । ट्रम्पले ग्रिनल्यान्ड सम्बन्धमा हुने भावी सम्झौताअन्तर्गत ‘ग्रिनल्यान्डलाई पनि गोल्डेन डोम सुरक्षा छातामा’ ल्याउनेबारे छलफल भइरहेको जानकारी दिए ।
‘गोल्डेन डोम’ हवाई खतरा निस्तेज बनाउने उद्देश्यले वासिंटनद्वारा प्रस्तावित बहुतहको मिसाइल रक्षा कार्यक्रम हो । ट्रम्पद्वारा मे २०२५ मा घोषणा गरिएको यस परियोजनाअन्तर्गत अमेरिकाले आफ्नो क्षेत्रलाई ब्यालिस्टिक र हाइपरसोनिक आक्रमणबाट बचाउन अन्तरिक्षमा मिसाइल पहिल्याउने प्रणाली तैनाथ गर्नेछ ।