राष्ट्रिय लिग २०८२ : चर्च ब्वाइजविरुद्ध एपिएफ हाबी

०७९ को सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइेटड राष्ट्रिय लिगको दोस्रो खेलमा एपिएफसँग ४–१ ले पराजित

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण

उपाधि दाबेदार चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबल प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्न सकेको छैन । लिगअन्तर्गत बिहीबार चर्च ब्वाइज नेपाल एपिएफ क्लबसँग ४–१ ले पराजित भयो । च्यासल मैदानमा एपिएफले चर्च ब्वाइजविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भयो । एपिएफको जितमा युवराज खड्काले दुई गोल गरेका थिए । समीराज थोकर र प्रदीप खड्काले समान एक गोल गरे । चर्च ब्वाइजका मिलन राईले एक गोल फर्काएका थिए । 

जितसँगै एपिएफ ६ अंकसहित शीर्ष स्थानमा फर्किएको छ । लिगमा एपिएफ, लालीगुराँस र मच्छिन्द्र एफसीले मात्र लगातार दुई खेलमा जित निकालेका छन् । लालीगुराँस र एपिएफले समान दुई खेल जित्दा पाँच गोल विपक्षी पोस्टमा गरेका छन् । ०७९ को सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज भने दोस्रो खेलमा पनि ३ अंक जोड्न असफल भयो । 

तीनजना राष्ट्रिय खेलाडी समावेश एपिएफले लगातार दोस्रो खेलमा जित निकालेको हो । उसले पहिलो खेलमा ललितपुुरको फ्रेन्ड्स क्लबलाई १–० ले हराएको थियो । 
एरिक विष्टको कप्तानीमा रहेको चर्च ब्वाइज आफ्नो पहिलो खेलमा श्री भगवतीसँग १–१ को बराबरीमा रोकिएको थियो । एपिएफविरुद्धको खेलमा चर्च ब्वाइजका लागि दीपक कार्कीले कप्तानी गरेका थिए । प्रशिक्षक राजेन्द्र तामाङले एपिएफलाई राष्ट्रिय लिगमा शीर्ष चारमा पुर्याउने बताएका छन् । 

एपिएफले पहिलो र दोस्रो हाफमै समान दुई गोल गरेको थियो । समीरले खेलको २२औँ मिनेटमा एपिएफलाई १–० को अग्रता दिलाएका थिए । प्रदीपले ३८औँ मिनेटमा एपिएफलाई २–० को स्थितिमा राखे । पहिलो हाफमा चर्च ब्वाइजले राम्रो मुभ बनाउन सकेन । खेलको ६०औँ मिनेटमा एपिएफका युवराजले ३–० का लागि गोल गरे । उनले ७७औँ मिनेटमा टोलीका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरेका हुन् । खेलको ८२औँ मिनेटमा मिलन राईले चर्च ब्वाइजलाई ४–१ को गोलअन्तरमा झारे । 

एनआरटीले काँक्रेबिहारलाई हरायो
राष्ट्रिय लिगमा न्युरोड टिम (एनआरटी)ले काँक्रेबिहार युथ क्लबलाई २–० ले हराएको छ । एनआरटीको जितमा तिमोथी र रनदीप पौडेलले एक–एक गोल गरेका थिए । एनआरटीले तीन खेलबाट ६ अंक जोडेर तेस्रो स्थान रक्षा गरेको छ । सुर्खेतको काँक्रेबिहारले लगातार तेस्रो हार सामना गरेको छ । एन्फा कम्प्लेक्समा एनआरटीले काँक्रेबिहारलाई पहिलो हाफमै २–० ले पछि राखेको थियो । खेलको दोस्रो मिनेटमै तिमोथीले १–० का लागि गोल गरे । खेलको ३४औँ मिनेटमा रनदीपले एक गोल थपे ।

सुझावित समाचार