टी–२० आईमा रुविनाको हजार रन

नेपाली महिला क्रिकेटकै पहिलो पुस्ताकी रुविना क्षेत्री टी–२० आईमा हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनिन्

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण

पूर्वकप्तान रुविना क्षेत्रीले आइसिसी महिला टी–२० आईमा हजार रन पुरा गरेकी छिन् । रुविनाले त्रिवि क्रिकेट मैदानमा बिहीबार आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्सविरुद्ध ३७ रन बनाएपछि हजार अन्तर्राष्ट्रिय रन पूरा गरेकी हुन् । नेपाली राष्ट्रिय महिला क्रिकेटमा हजार रन पार गर्ने उनी दोस्रो खेलाडी हुन् । यसअघि कप्तान इन्दु बर्माले अन्तर्राष्ट्रिय टी–२० आईमा यो सफलता प्राप्त गरेकी थिइन् । इन्दुले गत वर्ष अक्टोबरमा मलेसियासँगको सिरिजमा हजार रन पूरा गर्ने रेकर्ड बनाएकी थिइन् । 

नेदरल्यान्ड्ससँगको महत्वपूर्ण खेलमा नेपाल २ रनले पराजित हुँदा रुविनाले ३७ रन बनाएकी थिइन् । लक्ष्य पछ्याएको इनिङ्समा रुविनाले १९.५ ओभरमा २ रन लिँदै हजार रनको कोसेढुंगा पूरा गरिन् । समग्रमा उनले ८१ टी–२० आईमा ७१ इनिङ्स ब्याटिङ गरी एक हजार पाँच रन बटुलेकी छिन् । उनले टी–२० आईमा समान एक शतक तथा अर्धशतकीय इनिङ्स खेलेकी छिन् । रुविनाले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा तटस्थ भूमिमा धेरै रन बटुलेकी छिन् । उनले सन् २०१९ देखि ०२६ सम्म तटस्थ भूमिमा ४२ टी–२० आईमा ३५ इनिङ्स ब्याटिङ गरी ५३३ रन बनाएकी छिन् । 

नेपाली क्रिकेट इतिहासमा पहिलो अन्तर्राष्ट्रिय शतकीय इनिङ्स उनकै नाममा छ । १३ फेब्रुअरी २०२४ मा उनले मलेसियामा माल्दिभ्सविरुद्ध ११८ रन बनाएकी थिइन् । यसक्रममा उनले ५९ बलमा १० चौका र पाँच छक्का प्रहार गरेकी थिइन् । रुविनाले सबैभन्दा कम रन घरेलु मैदानमा बनाएको देखिन्छ । त्रिवि मैदानमा सन् २०१९ देखि ०२६ सम्म १६ टी–२० आई खेलमा उनले १४ इनिङ्स ब्याटिङ गरी १७४ रन बटुलेकी थिइन् । यसैगरी, अवे मैदानमा उनले २३ टी–२० आईमध्ये २२ इनिङ्समा २९८ रन जोडेकी छिन् । सन् २०२३ को सिजनमा उनी उत्कृष्ट फर्ममा थिइन् । यसवेला उनले १८ टी–२० आईमा २२२ रन जोडेकी थिइन् । सन् २०१९ देखि ०२३ सम्म महिला टोलीको कप्तानी गर्दै ४६ टी–२० खेलमा उनले ५०२ रन बनाइन् । वर्तमान कप्तान इन्दु बर्माले तीन वर्षभित्र ३५ टी–२० आईमा ५०३ रन बनाएकी छिन् । रुविनाले टोलीको नेतृत्व नगरेको अवस्थामा ३५ टी–२० आईमा ५०३ रन जोडेकी थिइन् । 

रानामगरलाई ८ रन आवश्यक
पहिलो पुस्ताकी खेलाडी सीता रानामगरलाई टी–२० आईमा हजार रन पूरा गर्र्न ८ रनको खाँचो छ । डेढ वर्षपछि नेपाली टोलीमा फर्किएकी सीताले ६५ टी–२० आईमा ६१ इनिङ्स ब्याटिङ गरी ९९२ रन बनाएकी छिन् । अन्तर्राष्ट्रिय करिअरमा उनले एक अर्धशतक बनाएकी छिन् । ग्लोबल टी–२० छनोटमा उनले नेदरल्यान्ड्सविरुद्ध २७ रन बनाएकी थिइन् । सीताले तटस्थ भूमिमा ३५ अन्तर्राष्ट्रिय खेलमा ५५५ रन र घरेलु मैदानमा १४ टी–२० आईमा १२३ रन जोडेकी छिन् । अवे भूमिमा उनले १६ खेलमा ३२४ रन बटुलेकी छिन् । सन् २०२३ को सिजनमा उनले करिअरकै उत्कृष्ट ब्याटिङ प्रदर्शन गरी १८ टी–२० आई खेलमा २५० रन बनाइन् । सन् २०२५ को सिजनमा उनले सात खेलमा ५१ रन मात्र जोडिन् । सीतालाई मलेसियाको भूमि निकै फापेको देखिन्छ । उनले मलेसियामा २६ टी–२० आई खेलमा ३१६ रन बनाएकी छिन् । त्यसपछि उनले थाइल्यान्डमा ११ टी–२० आईमा २१५ रन बनाएको रेकर्ड छ । 

सुपर सिक्समा पुग्ने नेपालको सम्भावना कमजोर
आइसिसी ग्लोबल टी–२० विश्वकप छनोटको सुपर सिक्समा पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ । छनोटअन्तर्गत समूह ‘बी’मा नेपालले लगातार दुई खेल गुमाएको छ । त्रिवि मैदानमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले चुकेको थियो । पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा पाँच विकेट गुमाएर १४० रन बनायो । प्रत्युत्तरमा नेपालले २० ओभरमा सात विकेटको क्षतिमा १३८ रन जोड्दा नेदरल्यान्ड्सले २ रनले बाजी मा¥यो । नेपाल पहिलो खेलमा थाइल्यान्डबाट आठ विकेटले पराजित भएको थियो । लगातार तीन जितका साथ नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ । 

प्रत्येक समूहबाट समान तीन शीर्ष टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सबाट चार टोलीले आगामी जुनमा इंग्ल्यान्डले आयोजना गर्ने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् । नेपाल अंकविहीन छ । थाइल्यान्डले दुई खेलबाट ४ तथा स्कटल्यान्डले पनि दुई खेलबाट २ अंक बटुलेका छन् । नेपालले आगामी खेलमा स्कटल्यान्ड र जिम्बावेको सामना गर्नेछ । यी दुवै खेलमा जित निकाल्दा नेपालको ४ अंक हुनेछ । तर, स्कटल्यान्डले एक खेल मात्र जित्दा सुपर सिक्समा पुग्नेछ । गणितीय रूपमा सुपर सिक्समा पुग्ने आशा जीवित रहे पनि नेपालको भविष्य स्कटल्यान्डमाथि नै निर्भर छ । 

नेदरल्यान्डसँगको खेलमा नेपाललाई अन्तिम ओभरमा १३ रन आवश्यक थियो । अन्तिम ओभरमा नेपालले १० रन मात्र जोड्दा २ रनको नमिठो हार सामना ग¥यो । नेपालको ब्याटिङमा रुविनाले ३२ बलमा ३७ रन बनाइन् । सीताले १२ बलमा २७ रन जोडे पनि जितका लागि काफी भएन । उनले १२ बलमा चार चौका र एक छक्का प्रहार गरेकी थिइन् । रुविनाले पाँच चौका प्रहार गरिन् । ओपनर विन्दु रावलले १५ बलमा १८ तथा सम्झना खड्काले आठ बलमा १४ बनाए । नेपालको ब्याटिङमा रुविना र सीताले आठौँ विकेटका लागि २३ बलमा ४५ रनको साझेदारी गरेका थिए ।

ब्याटिङमा साझेदारी भएन
 रुविना क्षेत्री, पूर्वकप्तान, नेपाल

खेलको मुख्य टर्निङ प्वाइन्ट नै राम्रोसँग साझेदारी गर्न नसक्नु हो । खेलमा नियमितजसो विकेट झरिरहेको थियो । ब्याटिङ विकेटमा अनावश्यक सट रोज्दा विकेट गएको हो । अहिले महिला टोली संक्रमणकालीन अवस्थामा छ । यस्तोमा नयाँ खेलाडीलाई मोमेन्टम प्राप्त गर्ने अवसर छ । खेलाडीलाई पनि धैर्यसाथ समय दिन र बाहिरबाट धेरै दबाब दिनुहुँदैन । यद्यपि, टोलीमा ब्याटिङ, फिटनेस र फिल्डिङमा सुधार आइरहेको छ । 

सुझावित समाचार