म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनलाई नेसनल रिपब्लिक नेपाल पार्टीले समर्थन गरेको छ । पार्टीबाट उम्मेदवारी दिएका तुलप्रसाद गर्बुजाले पुनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।
बिहीबार विज्ञप्ती जारी गर्दै गर्बुजाले आफ्नो दलको दर्शन, विचार र सिद्धान्तप्रति प्रतिबद्धता रहेको भन्दै वैज्ञानिक डाक्टर महावीर पुनलाई सर्वसम्मतिका साथ साझा उम्मेदवार बनाएर निर्विरोध निर्वाचित गराउनुपर्छ भन्ने मान्यताका साथ उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेको बताएका छन् ।
उनले शुक्रबार आयोगले निर्धारण गरेको समयसीमाभित्र जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता गर्ने समेत जानकारी दिए । यसै पार्टीबाट यसअघिका निर्वाचनमा उम्मेदवार बनेका डिके पुन, ओमराज मगर र दीपक पुनले समेत महावीर पुनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नांगीगगाउँमा जन्मिएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।