मिथिला चित्रकलालाई प्रवर्द्धन गर्ने उद्देश्यले मिथिला चित्रकलाको प्रयोगात्मक तालिम सञ्चालन हुने भएको छ । मिथिला थाली बाई सेफ सन्तोष शाह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा काठमाडौँमा चारदिने चित्रकला तालिम दिइन लागेको हो।
मिथिला कलामा रुचि राख्ने महिला तथा बालबालिकालाई लक्षित गर्दै आयोजना गरिएको यस तालिममा मिथिला पेन्टिङका आधारभूत सीप, डिजाइन तथा चित्रमा रङहरूको संयोजनका बारेमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिइनेछ ।
प्रशिक्षण माघ १४, १६ र १८ गते सेफ सन्तोष शाहको मिथिला थालीमा सञ्चालन हुनेछ । पहिलो दिन नक्साल, दोस्रो दिन गौशाला र तेस्रो दिन झम्सिखेलस्थित विभिन्न आउटलेटमा तालिम दिइनेछ । तालिम दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
तीन दिनको लगातार तालिमपछि १० दिनको अन्तरालमा नक्सालस्थित मिथिला थालीको आउटलेटमा अन्तिम प्रतिस्पर्धा गराइनेछ । सो प्रतिस्पर्धासहित तालिम चार दिनको हुने र प्रतिस्पर्धामा विजयी हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
तालिममा सहभागी हुनका लागि मिथिला थाली अथवा रोटरी न्यातपोलको आधिकारिक फेसबुक पेजमा राखिएको क्यूआर कोड स्क्यान गरी गुगल फर्ममा आवश्यक विवरण भर्नुपर्नेछ । दर्तासम्बन्धी अन्योल भएमा ९८६२३००८८९ मा सम्पर्क गरेमा सहजीकरण गरिने आयोजकले जनाएको छ । फर्म भरिसकेपछि आयोजकले तालिममा सहभागी हुनसक्ने व्यक्तिको छनोट गर्नेछ । तालिमका लागि छनोट भएमा आयोजक टोलीले सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्नेछ ।
त्यसपछि छनोट भएकाबाट प्रतिव्यक्ति पाँच सय रुपैयाँका दरले दर्ता शुल्क लिइनेछ । जम्मा भएको दर्ता शुल्क सामाजिक काममा खर्च गरिने सेफ सन्तोष शाहले बताएका छन् । शुल्क बुझाएपछि मात्र तालिममा सहभागी हुन पाइनेछ । सहभागीहरूलाई तालिममा आवश्यक पर्ने रङ, ब्रस, बोर्ड तथा खाजाको व्यवस्था आयोजकले गर्नेछ भने आवासको व्यवस्था सहभागी आफैँले गर्नुपर्नेछ ।
मिथिला चित्रकलालाई जनकपुरमा मात्र सीमित नराखी देश–विदेशमा चिनाउने तथा प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो तालिमको व्यवस्था गरिएको सेफ सन्तोष शाहले बताएका छन् । उनले मिथिला चित्रकलाको महत्व र इतिहास सबैले जान्न आवश्यक रहेको उल्लेख गर्दै यसलाई व्यवसायिक रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउनु पनि तालिमको मुख्य उद्देश्य रहेको उनले बताए ।
धर्म, संस्कृति र परम्परालाई जोगाउन आवश्यक छ । यसलाई प्रवर्द्धन गर्न पनि जरुरी छ । अब आउने नयाँ पुस्तालाई पनि मिथिला संस्कृतिबारे सिकाउनुपर्छ । त्यसैका लागि यस्ता प्रशिक्षण आवश्यक छन्,सेफ शाहले बताए ।
सुडी महिला कल्याण समाजकी अध्यक्ष रुबी महतो पुर्वेले पनि अहिलेको समयमा महिलालाई आत्मनिर्भर बनाउनु आवश्यक रहेको बताइन् । “महिलाहरू घरमै सीमित बस्नुभन्दा यस्ता तालिममा सहभागी भई सीप सिक्न सक्छन् र आम्दानी पनि गर्न सक्छन् । पहिला हामीले सीप सिकाएका महिलाहरू अहिले आफैँ काम गरेर आम्दानी गरिरहेका छन्,” उनले भनिन् । तालिममार्फत सहभागीहरूले परम्परागत मिथिला चित्रकलाको ज्ञान हासिल गर्दै आत्मनिर्भर बन्ने अवसर पाउने अपेक्षा गरिएको छ ।