कालीमाटी–खलंगा जोड्ने सडक पाँच दिनदेखि अवरुद्ध

बिहिबार, ८ माघ, २०८२
डिजिटल संस्करण

सल्यानको कालीमाटीदेखि सदरमुकाम खलंगा जोड्ने सडक विगत पाँच दिनदेखि अवरुद्ध भएको छ। कालीमाटी गाउँपालिका– ३, सुकिदहनजिकै ३ गते राति सुक्खा पहिरो खस्दा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा सवारी आवागमन बन्द भएको छ।

सडकको करिब ५० मिटरमाथिबाट चट्टानसहितको डाँडो नै खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको कालीमाटी गाउँपालिका– ३ का वडाध्यक्ष शिवकुमार खत्रीले जानकारी दिए। पहिरोले झन्डै ५० मिटरभन्दा बढी सडक पुरेको र ठुलो चट्टानसमेत आएकाले तत्काल सडक सञ्चालनमा कठिनाइ भइरहेको उनको भनाइ छ। उनले भने, ‘सडक डिभिजन कार्यालय, ठेकेदार र वडाका प्रतिनिधिसमेतले पहिरो झरेको स्थानमा अनुगमन गरियो। धेरै ठुला चट्टान सडकमा आएका रहेछन्।’

ठेकेदार कम्पनीले पहिरो झरेको स्थानमा झाली राखेपछि मात्र पहिरो हटाउन सहज हुने बताएको वडाध्यक्ष केसीले बताए। झाली नराखी सिधै पहिरो हटाउँदा मासखोलाको तुसारे बस्तीआसपासमा जोखिम हुन सक्ने ठेकेदार कम्पनीले बताएको उनको भनाइ छ। कालीमाटी गाउँपालिकालाई जोड्ने मुख्य सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनहरूले लक्ष्मीपुरको वैकल्पिक सडक प्रयोग गर्दै आइरहेका छन्।

सुझावित समाचार