मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट)ले डा. दिनेशराज भुजूलाई उपाध्यक्ष (शैक्षिक तथा अनुसन्धान) पदमा नियुक्त गरेको छ।
तीन दशकभन्दा बढी समयदेखि उच्च शिक्षा, अनुसन्धान र विज्ञान नीति क्षेत्रमा सक्रिय डा. भुजू हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का प्रज्ञा हुन्। उनी चीनको नर्थवेस्ट युनिभर्सिटीमा अतिथि प्राध्यापकका रूपमा पनि कार्यरत छन्। यसअघि उनले नेपाल, इटाली र पोल्यान्डका विभिन्न विश्वविद्यालयहरूमा अध्यापन गरिसकेका छन्।
डा. भुजूले जापानको चिबा विश्वविद्यालयबाट इकोलोजी विषयमा विद्यावारिधि हासिल गरेका हुन्। उनले नास्टमा विज्ञान संकाय प्रमुख तथा विभाग प्रमुख, ख्वपः इन्जिनियरिङ कलेजका संस्थापक प्राचार्य तथा मध्यपश्चिम विश्वविद्यालयका शैक्षिक संयोजक तथा कार्यकारी निर्देशकजस्ता जिम्मेवारी सम्हालिसकेका छन्।
उनको अनुसन्धान मुख्यत चुरे क्षेत्रको इकोलोजी, हिमाली वृक्षरेखा तथा डेन्ड्रो–जलवायुविज्ञानमा केन्द्रित रहेको छ। डा. भुजूले युनेस्को, युएनडिपी, इसिमोड, डब्लुडब्लुएफ तथा नेपाल सरकारको सहकार्यमा जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, विपत् जोखिम व्यवस्थापन र विज्ञान नीतिसम्बन्धी विभिन्न अनुसन्धान तथा नीतिगत परियोजनाहरूको नेतृत्व र परामर्श दिएका छन्।
राष्ट्रिय प्रतिभा पुरस्कार (२०००) र बागमती प्रदेश नवप्रवर्तन पदक (२०२४) बाट सम्मानित डा. भुजूका ८० भन्दा बढी समीक्षित जर्नल लेख, ५० भन्दा बढी पुस्तक अध्याय तथा सम्मेलन कार्यपत्र र २० भन्दा बढी पुस्तक तथा पाठ्यपुस्तक प्रकाशित छन्। उनले एक सयभन्दा बढी स्नातकोत्तर तथा विद्यावारिधिका शोधकर्ताहरूलाई निर्देशन गरिसकेका छन्। साथै, उनी करिब ६ सय विज्ञानसम्बन्धी रेडियो कार्यक्रममार्फत विज्ञान जनसाधारणसम्म पुर्याउने कार्यमा संलग्न रहिसकेका छन्।
विश्वविद्यालयका अनुसार, उपकुलपति पदमा नियुक्त भएपछि डा. भुजूले शैक्षिक गुणस्तर सुधार, अनुसन्धान विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।