जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै इजाजतप्राप्त हातहतियार १५ दिनभित्र अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार मकवानपुर जिल्लाभित्र व्यक्तिगत रूपमा राखिएका सबै प्रकारका इजाजत प्राप्त हातहतियारहरु बन्दुक, राइफल, रिभल्वर, पिस्तोललगायत सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउनुपर्नेछ ।
निर्वाचनको समयमा सुरक्षा संवेदनशीलता उच्च हुने भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न यो कदम चालिएको प्रशासनको भनाइ छ । सूचनामा भनिएको छ, ‘प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउनु आवश्यक देखिएकाले जिल्लाभित्र व्यक्तिगत रूपमा राखिएका इजाजतप्राप्त हातहतियार अस्थायी रूपमा बुझाउन आग्रह गरिएको हो ।’
प्रशासनका अनुसार बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएको एक महिनापछि सम्बन्धित हतियारधनीलाई फिर्ता गरिनेछ । यस अवधिमा ती हातहतियार सुरक्षित रूपमा प्रहरीको नियन्त्रणमा राखिने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ । साथै, निर्वाचनको मर्यादा र सुरक्षा कायम राख्न सबै नागरिक, राजनीतिक दल तथा सरोकारवाला पक्षलाई सहयोग गर्न आग्रह गरिएको छ ।
निर्वाचन नजिकिँदै जाँदा मकवानपुरमा सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको छ। यसअघि पनि प्रशासनले अवाञ्छित गतिविधिमा संलग्न नहुन, आचारसंहिता पालना गर्न र शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ ।