कुलेखानीनजिकै बोलेरो दुर्घटना हुँदा सहचालकको मृत्यु, दुईजना घाइते

बिहिबार, ९ माघ, २०८२
डिजिटल संस्करण

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- २, सिमखोला पुलनजिकै भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा बोलेरोका सहचालक रोहन मण्डल रहेका छन् ।

मकवानपुर प्रहरीका अनुसार बिहीबार राति करिब १ बजे सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड गरेकाे बोलेरो पिकअप ब्रेक फेल भई अनियन्त्रित भएर सडकबाट करिब पाँच–सात मिटर तल खोल्सामा खसेको छ ।

दुर्घटनामा परेका तीनजनामध्ये सर्लाही बरहथवा नगरपालिका- १ का १७ वर्षीय रोहन मण्डलकाे काठमाडौं मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही ठाउँका १६ वर्षीय छोटे पासवान कम्मरमा चोट लागेर मध्यम अवस्थाका घाइते छन् । बोलेरोचालक सर्लाही बरहथवा– १ का २५ वर्षीय रामवली साहलाई शरीरमा सामान्य चोट लागेको छ । दुवै घाइतेको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बोलेरोमा करिब पाँच सयवटा कुखुरा लोड गरिएको थियो । दुर्घटनाका कारण तीमध्ये करिब तीन सयवटा कुखुरा मरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार