पोखरामा जारी एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत माछापुच्छ्रे क्रिकेट क्लबले गण्डकी क्रिकेट क्लबलाई २२१ रनको फराकिलो अन्तरले परजित गरेको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको माछापुच्छ्रेले ५० ओभरमा ५ विकेट गुमाएर २७१ रनको योगफल तयार गरेको थियो । २७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङका लागि मैदान उत्रेको गण्डकी २१.१ ओभरमा अल आउट हुँदै जम्मा ५० रनमा मात्र जोड्न सक्यो ।
माछापुच्छ्रेका लागि प्लेयर अफ दि म्याच सुमित श्रेष्ठले १५८ बलमा १३० रन बनाउँदै सतक पुरा गरेका थिए । प्रमोद बाँस्तोलाले १९ बलमा २४, दिपक माझीले २९ बलमा २३ रन बनाएका थिए । गण्डकीका लागि श्रीराम प्रजापतिले ११ बलमा ११ र विवेक अधिकारीले ४२ बलमा ९ रन जोडेका थिए ।
माछापुच्छ्रेका रतेश बरालले ५.१ ओभर खेल्दै ३ मेडनसहित ७ रन खर्चेर ५ विकेट हात पार्दा लक्ष्मण क्षेत्री ५ ओभर खेल्दै २ मेडनसहित ९ रन खर्चेर २, रिदम पाण्डेले ६ ओभर खेल्दै ३ मेडनसहित १४ रन खर्चेर २ विकेट हात पार्दा गण्डकीका स्रमाट अधिकारी, श्रीराम प्रजापति र अनिश पोखरेलले समान १-१ विकेट हात पार्न सफल भए ।
१६ माघसम्म चल्ने प्रतियोगितामा कास्कीका विभिन्न १० क्लबले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताका विजेता क्लबले प्रदेशस्तरीय एक दिवसीय प्रतियोगितामा कास्की जिल्लाको प्रतिनिधित्व गर्नेछ ।