जिल्ला प्रशासन कार्यालय पर्साले इजाजत प्राप्त हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो निर्णय लिएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार व्यक्तिगत सुरक्षाका नाममा स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका सम्पूर्ण हातहतियार तथा खरखजाना तोकिएको समयसीमाभित्र अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
प्रशासनले माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय पर्सामा हातहतियार बुझाउन सबै सम्बन्धित हतियारधनीलाई अपिल गरेको हो। निर्वाचनको समयमा सुरक्षा संवेदनशीलता उच्च रहने भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न तथा कुनै पनि अप्रिय घटना हुन नदिन यस्तो कदम चालिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।
यस्तै, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउनु राज्यको दायित्व हो भएकोले सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उनले प्रस्ट पारे। उनका अनुसार तोकिएको समयभित्र बुझाइएका हातहतियारहरू निर्वाचन सम्पन्न भएपछि, अर्थात् आगामी चैत २० गतेपछि सम्बन्धित हतियारधनीलाई फिर्ता गरिनेछ। हातहतियार बुझाउने र फिर्ता लिने प्रक्रिया प्रचलित कानुन र मापदण्डअनुसार गरिने प्रशासनले स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले तोकिएको समयभित्र हातहतियार नबुझाएमा वा प्रशासनको आदेश अटेर गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ। प्रशासनले निर्वाचनलाई भयमुक्त र सुरक्षित बनाउन सबै नागरिक, राजनीतिक दल तथा सरोकारवाला पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।