निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आग्रह

बुधबार, ७ माघ, २०८२
डिजिटल संस्करण

कांग्रेस जिल्ला कार्यसमिति खोटाङले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सबै राजनीतिक दल, उम्मेदवार, सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आग्रह गरेको छ । कांग्रेस खोटाङले बुधबार दिक्तेल बजारस्थित बिपी स्मृति भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो आग्रह गरेको हो। 

पत्रकार सम्मेलनमा पार्टी उपसभापति तीर्थराज भट्टराईले मुलुक जटिल र संवेदनशील मोडमा रहेको उल्लेख गर्दै सहिदको बलिदान र लाखौँ नागरिकको संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुखसमेत रहेका भट्टराईले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गर्न सबै सरोकारवाला निकाय, राजनीतिक दल र उम्मेदवारले संयमता अपनाउन जोड दिए।

निर्वाचनका क्रममा हिंसा, धम्की, प्रलोभन, आचारसंहिता उल्लंघन तथा अवाञ्छित गतिविधि नगर्न-नगराउन आग्रह गरेका छन्। कार्यक्रममा कांग्रेस खोटाङले निर्वाचनलक्षित पाँचबुँदे पार्टीको अवधारणपत्रसमेत सार्वजनिक गरेको छ। 

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि दुईजना स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिए । 
 

सुझावित समाचार