आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको गुनासो र जिज्ञासा सुन्न निर्वाचन आयोगले ‘कल सेन्टर’ स्थापना गरेको छ । विगतमा जस्तै यसपटक पनि आयोगको कार्यालय, कान्तिपथमा सञ्चालित कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
६ वटा डेस्क रहेको उक्त केन्द्र बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । यसमा निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर मतदाता, नागरिक र सरोकार भएकाले जिज्ञासा राख्न सक्नेछन् । यसमा एकैपटक १५ जनासम्मले फोन गर्दा कल होल्डमा नपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।