चार निर्वाचन क्षेत्र रहेको बारामा ११२ जनाको उम्मेदवारी

बुधबार, ७ माघ, २०८२
डिजिटल संस्करण

चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभा सदस्यका लागि कुल ११२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्लाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको उल्लेख्य संख्याले चुनावी माहोल तातेको छ भने प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ।

जिल्लाकै सबैभन्दा बढी उम्मेदवारी परेको निर्वाचन क्षेत्र नम्बर ४ हो। यस क्षेत्रमा ३९ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम उम्मेदवारी निर्वाचन क्षेत्र नम्बर १ हो। यहाँ २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा कुल २९ जना र निर्वाचन क्षेत्र नम्बर ३ मा २४ जनाले उम्मेदवारी दर्ता गराए।

क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट अच्युतप्रसाद मैनाली, नेपाली कांग्रेसबाट शम्भुबहादुर बुढाथोकी, नेपाली कम्युनिस्ट पार्टीबाट सन्तोष दंगाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश धिमाल उम्मेदवार बनेका छन्। यस्तै उज्यालो नेपाल पार्टीबाट अनवर अन्सारी, जनमत पार्टीबाट कमरुल्लाह संसारीले मनोनयन दर्ता गराएका छन्।

क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट बलवीरप्रसाद चौधरी र नेपाली कांग्रेसबाट भैयारामप्रसाद यादव प्रमुख उम्मेदवारका रूपमा देखिएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दनकुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबाबुप्रसाद साह तेली, जनता समाजवादी पार्टीबाट रामकिशोरप्रसाद यादव र उज्यालो पार्टीबाट मेघराज पासवानले पनि उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थितिले यस क्षेत्रको चुनावी समीकरण थप रोचक बनेको छ।

यसैगरी, क्षेत्र नम्बर ३ मा राजनीतिक दल र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा नेकपा एमालेबाट ज्वालाकुमारी साह, नेपाली कांग्रेसबाट फरमुल्लाह मन्सुर, नेपाली कम्युनिस्ट पार्टीबाट भरतप्रसाद साह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अरबिन्द साह उम्मेदवार छन्। उज्यालो नेपाल पार्टीबाट तीर्थबहादुर गुरुङसहित अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले पनि प्रतिस्पर्धा गर्दै छन्।

जिल्लाकै सबैभन्दा बढी उम्मेदवारी परेको क्षेत्र नम्बर ४ मा राजनीतिक दल तथा स्वतन्त्र गरी ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा नेकपा एमालेबाट कृष्णकुमार श्रेष्ठ किसान, नेपाली कांग्रेसबाट श्यामबाबु गुप्ता, समुन्नत नेपाली पार्टीबाट पूर्वआइजिपी सर्वेन्द्र खनालले उम्मेदवारी दिए। नेपाली कम्युनिस्ट पार्टीबाट अजय कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रहबर अन्सारी र जनता समाजवादी पार्टी नेपालबाट सन्जु साह कानुले मनोनयन दर्ता गराएका छन्। उज्यालो नेपाल पार्टीबाट सन्तोषकुमार गुप्तासहित स्वतन्त्र उम्मेदवारको ठुलो संख्याले यहाँको चुनावी प्रतिस्पर्धा सबैभन्दा चर्को हुने अनुमान गरिएको छ।

निर्वाचन कार्यालयका अनुसार बारा निर्वाचन क्षेत्र नम्बर १ मा ८६ मतदानस्थल र १६१ मतदान केन्द्र कायम गरिएको छ। जहाँ एक लाख २३ हजार ९८५ मतदाता सूचीकृत छन्। निर्वाचन क्षेत्र नम्बर २ मा ८२ मतदानस्थल र १४५ मतदान केन्द्र छन् भने एक लाख १३ हजार ८३९ मतदाता छन्। यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा ७६ मतदानस्थल र १४४ मतदान केन्द्र तोकिएका छन्। यहाँ एक लाख १३ हजार ५२१ मतदाता छन्। निर्वाचन क्षेत्र नम्बर ४ मा ६१ मतदानस्थल र १३७ मतदान केन्द्र तथा एक लाख १४ हजार ४३९ मतदाता छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार बारा जिल्लाभर कुल चार लाख ६५ हजार ७८४ मतदाता छन्। मतदाताको चाप व्यवस्थापन र सहज मतदान सुनिश्चित गर्न यसअघि रहेका ५५५ मतदान केन्द्रमा ३२ वटा नयाँ केन्द्र थप गरी जिल्लाभर ५८७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीले जानकारी दिए। उनका अनुसार जिल्लाभर कुल ३०५ वटा मतदानस्थल निर्धारण गरिएको छ।

उम्मेदवारको संख्या, दलगत प्रतिस्पर्धा र स्वतन्त्र उम्मेदवारको सक्रिय उपस्थितिले बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन यसपटक थप चासो, बहस र प्रतिस्पर्धामूलक बन्ने देखिएको छ।

सुझावित समाचार