पूर्वमन्त्रीदेखि प्रदेश सांसदसम्म चुनावी मैदानमा

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

महोत्तरीबाट पूर्वमन्त्री तथा प्रदेश सांसदले विभिन्न निर्वाचन क्षेत्रबाट आफ्नो मनोनयन दर्ता गराएका छन्। महोत्तरी क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री गिरिराजमणि पोखरेलले नेकपाबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् भने सोही क्षेत्रबाट पछिल्लो निर्वाचनमा निर्वाचित रहेका लक्ष्मी महतो कोइरीले यसपटकसमेत एमालेबाटै मनोनयन दर्ता गराएका छन् । पछिल्लो निर्वाचनमा थोरै मतान्तरले पूर्वमन्त्री पोखरेल एमाले उम्मेदवार कोइरीसँग पराजित भएका थिए ।

यता क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री तथा जसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले मनोनयन दर्ता गराएका छन् । पछिल्लो निर्वाचनमा समेत महोत्तरी क्षेत्र २ बाट नै निर्वाचित भएका पूर्वमन्त्री भण्डारीले कांग्रेस नेतृ किरण यादवलगायतका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै, क्षेत्र नम्बर ३ मा यसपटक जसपाका संरक्षक तथा पछिल्लो दुईपटक यसै क्षेत्रबाट निर्वाचित भइसकेका महन्थ ठाकुरले आफ्नी छोरी मीनाक्षी ठाकुर झालाई उम्मेदवार बनाएका छन् । छोरी उम्मेदवार बनाएपछि तीव्र आलोचनाको सामना गरिरहेका ठाकुर परिवारलाई चुनौती दिन सोही दलबाट टिकटका आकांक्षी रहेका पूर्वमन्त्री हरिनारायण यादवले टक्कर दिँदै छन् । आफूले पाउनुपर्ने टिकट नेता ठाकुरले छोरीलाई दिएपछि उनले जसपाबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् । त्यस्तै, महोत्तरी क्षेत्र ३ बाटै नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष पूर्वराज्यमन्त्री रिजवान अन्सारीले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

यता क्षेत्र नम्बर ४ मा पछिल्लो निर्वाचनमा कांग्रेसबाट निर्वाचित महेन्द्र यादवले यसपटकसमेत उम्मेदवारी दर्ता गराएका छन् भने सोही क्षेत्रबाट पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवले समेत जसपाबाट उम्मेदवारी दिएका छन् । यही क्षेत्रबाट एमालेबाट लड्ने चर्चा चलेका मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले भने आफ्नो ठाउँमा नेतृ नीलम अधिकारीलाई उठाएका छन् । यता नेकपाबाट प्रदेश सांसद रहेका भरत साहले आफ्नो पदबाट राजीनामा दिँदै यसपटक क्षेत्र नम्बर ४ बाटै चुनावी मैदानमा उत्रेका छन् ।

सुझावित समाचार