एसियामा पछिल्लो समयको हलचलपश्चात् मौसमी नेता जन्मने लहड चलेको छ । जनता सही र गलत छुट्याउन अलमलिएको देखिन्छ, जसको प्रत्यक्ष सिकार नेपाल बनिरहेको महसुस हुन्छ । भ्रष्टाचार, बेथिति, नियन्त्रित अस्थिर राजनीति आदि विषयविरुद्ध गरिएको २३ र २४ भदौको आन्दोलनले मौसमी नेता बन्ने रहर बोकेका व्यक्तिलाई नेता बन्ने साइत जुराइदिएको छ । जसको न्यूनतम योग्यता हो– चर्को भाषण, रिपोर्टर क्लबमा बाक्लो उपस्थिति र नसा फुल्ने गरी चिच्याउनु । पुरानालाई गाली गर्नु र सामाजिक सञ्जालका रंगीन स्क्रिनलाई प्रभावकारी ढंगले झिल्क्याउनु पनि यिनको विशेषता हो ।
जेन–जी आन्दोलनपश्चात्को नेपाली राजनीतिमा यस्तै मौसमी नेताको बिगबिगी छ । उनीहरू देशै परिवर्तन गर्ने क्षमता आफैँमा भएको गफ दिनसमेत पछि पर्दैनन् । कतै संसदीय व्यवस्थाकै नौलो अभ्यास चुनावअगावै प्रधानमन्त्रीको उधारो सम्झौता गरेको देखिन्छ भने कतै पहिल्यै बजेट लेख्न लगाउने कुरा सुनिन्छ । तिनै मौसमी नेताको समानुपातिक सूची हेर्दा योगदानभन्दा पनि अनुहार र शारीरिक बनोट पो चाहिने रहेछ कि राजनीति गर्न जस्तो पो लाग्छ । कसैको पूर्वकर्मचारीबाहेक अरू देख्न मुस्किल छ । कसैका आफ्नै थरबाहेक अन्य सीमितै छन् । कतै पूर्वप्रहरी अधिकृतको झुन्ड छ । यस्तै मौसमी नेता बन्ने रहर सबैले बोकेका छन् । कोही भन्छन्– यो संविधान राख्ने कि फाल्ने, म त टेन्सनमा छु । कोही भन्छन्– हामीले बनाएको सरकार हो यो, हामीले दे भन्दा राजीनामा दिनुपर्छ । अझै दुई कदम अघि बढेर राजीनामा पनि मागिहाल्छन् अनि चित्त नबुझे सम्झौता नै च्यात्न पनि पछि पर्दैनन् । यस्तै छ, मौसमले जुराइदिएका नेताको हबिगत ।
भनिन्छ, सचेत नागरिक लोकतन्त्रका लागि गहना हुन् । तर, आज सहरका प्राय: गल्लीमा नेता बन्ने रहर बोकेकाहरूले जमात बनाएर केही न केही फलाकिरहेकै हुन्छन् । एउटा कुराचाहिँ यो टोलीले राम्रोसँग बुझेको छ, नेता बन्न दल चाहिन्छ । यसो जमात बढी भयो कि निर्वाचन आयोगतिर दगुरिहाल्छन्, दल दर्ता गर्नका लागि । आयोगले आधिकारिक नेता त बनाइदिन्छ । तर, व्यावहारिक रूपमा भन्ने हो भने यस्तो प्रवृत्तिले समग्र उपलब्धि र आन्दोलनलाई नै गिज्याइरहेको छ ।
नेता बन्ने रहर बोकेकालाई नियम, विचार अनि मार्गदर्शक सिद्धान्त केही चाहिँदैन । चाहिएको त केवल नारा लगाउन सक्ने चर्को स्वर, सामाजिक सञ्जाल व्यापक रूपमा प्रयोग गर्न सक्ने क्षमता अनि तिनकै भाषामा भन्दा ‘ट्रेन्डिङ’मा चलेको चलनलाई ‘क्याचअप’ गर्ने खुबी । हिजो समाजलाई के योगदान गरेँ र आज म यसको भागीदार छु भन्ने यिनलाई हेक्का छैन, नेता बन्ने रहर जो चलेको छ नेपालमा । यी शब्द लेखिरहँदा मैले हिजोको नेपाली समाज सम्झन्छु, जहाँ आपसी सद्भाव, भाइचारा, समाजप्रति योगदान दिने व्यक्तिहरू सम्झन्छु, जसले समाजले मलाई के दिने भन्दा पहिले मैले समाजलाई के दिएँ भनेर सोच्थे । कथित मौसमी नेता बन्ने रहरले यस समाजलाई यसरी गिजोलेको छ, अझ भनौँ चरम दलीयकरणले एक–अर्कालाई मानिस र छिमेकीको रूपमा नहेरी शत्रुताको व्यवहार गरिन्छ । अन्यथा, छिमेकीको घर जलिरहँदा त्यसलाई निभाउन सहयोग गर्नको साटो जलाइनुपर्छ भनेर छिमेकी नै अगुवा भएर निस्कन्छन् त ? भन्छन्, लोकतन्त्रलाई अझै सुदृढ बनाएर लैजान्छौँ । यिनलाई सद्बुद्धि आइदियोस् । लोकतन्त्र केवल बोली मात्र होइन, व्यवहार र संस्कार पनि हो ।
यो प्रवृत्तिले न समाजलाई एकताबद्ध बनाउन सक्छ, न त मुलुकलाई निकास नै दिन सक्छ । यो त फगत नेता बन्ने रहर मात्र हो । ‘सम्झौता’हरूमा दिन–प्रतिदिन बुँदा थपिँदै छन् । अनुहार थपिँदै छन् । त्यसमा यो समाज र राष्ट्रलाई के दिने भन्ने प्राथमिकता पर्दैन, पर्छ त केवल व्यक्तिगत स्वार्थ ।
नेपाली समाजलाई यस्तो नेता र दल चाहिएको छ, जसले हालसम्मको उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई थप निकास दिन सकोस् । जसले नेपाली समाजलाई एकताबद्ध र सुदृढ बनाउन हरक्षेत्रबाट आफ्नो भूमिका निर्वाह गरोस् । आफूलाई प्रधानमन्त्रीमा योग्य भनिरहँदा एकपटक सोचिदियोस् मैले यो मुलुकलाई हालसम्म के दिएको छु, संविधानलाई च्यात्ने र फाल्ने होइन, अपनत्व र समयानुकूल परिमार्जन गर्न बहस र पहलकदमी गरिदियोस्, नेपालको भूराजनीतिक जटिलता तथा भौगोलिक अवस्थितिभित्रका विविध जातजाति र समाजलाई केन्द्रमा राख्न सकोस् । देश रूपान्तरण गर्न सक्ने ब्लुप्रिन्ट कोर्न सकोस् । पछिल्लो समय नेपाली कांग्रेसभित्र गगन–विश्वले गरेको विद्रोह लोभलाग्दो छ । जसले मौसमी नेता बन्ने रहर बोकेकालाई गतिलो झापड हिर्काएको छ । उनीहरूले इतिहासलाई गाली गरेनन्, बरु अपनत्व लिए र भविष्यका लागि उचित कार्ययोजना पनि निर्माण गरे । उनीहरू अझै भन्दै छन्, मलाई कारबाही गर्ने शेरबहादुर देउवासँगै म आशीर्वाद लिन जान्छु । यस्तो संस्कार सबैका लागि उदाहरणीय छ ।
समय र आवश्यकताअनुसार जन्मिएका अनुहार परिपक्व हुनु आवश्यक छ । अन्यथा, चैतमा प्रयोग हुने ठुटे हलो बर्खामा प्रयोग नभएर ढिस्कोमा फ्याँकेजस्तै प्रयोगहीन हुन्छन् । बर्खाको खहरे हिउँदमा सुकेजसरी मौसमी नेता बन्ने होइन, नदीजस्तै सदाबहार बगिरहने नेतृत्व विकास गर्नु आवश्यक छ ।