यी नेता, जो यो चुनावमा देखिनेछैनन्

कांग्रेस, एमाले र नेकपाका शीर्ष नेतामध्ये कतिपयले यसपटक टिकट पाएनन्, कतिपय आफैँ प्रतिस्पर्धामा उत्रिन चाहेनन्

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल यस वर्ष प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएनन् । सोमबार अबेरसम्म निर्वाचन लड्ने मनसाय राखेर उम्मेदवार बन्ने प्रतीक्षा गरिरहेका देउवाले टिकट पाएनन् । कांग्रेस, एमाले र नेकपाका शीर्ष नेतामध्ये कतिपयले यसपटक टिकट पाएनन् भने कतिपय आफैँ प्रतिस्पर्धामा उत्रिन चाहेनन् । 

कांग्रेस पूर्वसभापति देउवा सोमबार रातिसम्म टिकटका सम्बन्धमा पार्टी सभापति गगन थापासँग आफूनिकटस्थ नेताहरूमार्फत सम्पर्कमा थिए । उनलाई निर्वाचन नलड्न सभापति थापाले सन्देश पठाइरहेका थिए, निर्वाचन लड्ने हो भने केही सर्तहरू मान्नुपर्ने सभापति थापाको सन्देश थियो । तर, सोमबार मध्यरातसम्म सहमति हुन नसकेपछि देउवाले टिकट नपाउने निश्चित भयो । त्यससँगै देउवाका स्वकीय सचिव भानु देउवाले पत्रकारहरूलाई पठाएको सन्देशमा देउवाले निर्वाचन नलड्ने जानकारी थियो । 

‘शेरबहादुर दाइले अन्तिमपटकका लागि डडेल्धुराबाट चुनाव लड्न चाहनुभएको थियो । तर, पार्टी सभापतिका तर्फबाट राखिएको सर्त स्वीकार गर्नुभएन र राति मात्रै चुनावमा भाग नलिने निष्कर्षमा पुग्नुभयो,’ उनीनिकटका एक कांग्रेस नेताले नयाँ पत्रिकासँग भने ।

निर्वाचन आयोगले विशेष महाविधेशनबाट निर्वाचित कांग्रेस सभापति थापालाई सभापति स्वीकार गरेपछि त्यसको विरोधमा देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । मंगलबार सुनुवाइमा आयोगको निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश जारी गरेन । देउवालाई टिकट प्राप्तिका लागि सभापति थापाले राखेको सर्त थियो– आइतबार सर्वोच्चमा दायर गरेको रिट फिर्ता गर्नुपर्ने । ‘यो सर्त स्वीकार नगरेमा निर्वाचनपछि संसदीय दलमा चुनाव नलड्ने प्रतिबद्धता उहाँले गर्नुपर्छ भन्ने थियो । किनभने समानुपातिकमा उहाँका पक्षधर नेताहरू अधिकांश छन्, पछि अप्ठेरो हुन्छ भन्ने संस्थापन पक्षको आशंका थियो,’ कांग्रेस स्रोतले भन्यो, ‘मुद्दा फिर्ताका लागि देउवाको सकारात्मक सन्देश आएको थियो । तर, उहाँ दबाबमा पर्नुभएछ र अन्तिममा ससर्त चुनावमा जान तयार हुनुभएन । हामीले उहाँ निकटका नैनसिंह महरलाई टिकट दिने तय गर्यौँ । उहाँले चुनाव नलड्ने घोषणा गर्नुभयो ।’ देउवाले डडेल्धुरामा टिकटबारे थापालाई भनेका थिएनन् । देउवानिकटस्थ एक पूर्वपदाधिकारीले भने, ‘सभापति थापाले आफ्नै विवेकका आधारमा डडेल्धुरामा नैनसिंह महरलाई टिकट दिनुभएको हो ।’

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काप्रति संस्थापन पक्ष नरम थियो । खड्कालाई चुनाव लड्न सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले फोनमा अनुरोध गरेका थिए, तर खड्काले स्वीकार गरेनन् । ‘उहाँहरूले फोन गरेर उम्मेदवारी दिन अनुरोध गर्नुभयो, तर पूर्णबहादुर दाइले आफैँले मुद्दा दायर गरेका कारण नैतिक रूपमा सभापति थापाको हस्ताक्षर भएको टिकट लिएर चुनावमा जान नसक्ने जवाफ दिनुभयो,’ उनीनिकट नेताले भने । खड्काले सोमबार अपराह्न यसपटक उम्मेदवारी नदिने र मुद्दा फिर्ता पनि नगर्ने सार्वजनिक गरेका थिए ।

यसअघि झापा १ बाट निर्वाचित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले यसपटक निर्वाचन नलड्ने र नयाँ उम्मेदवारलाई ठाउँ दिने पहिले नै घोषणा गरिसकेका थिए । पूर्वउपसभापति सभापति धनराज गुरुङ, पूर्वउपसभापति प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री डा. शशांक कटोइरालाले टिकट मागेनन् । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाप्रति संस्थापन पक्ष सकारात्मक थिएन, तर कोइराला र सिंहप्रति सकारात्मक थियो । विशेष महाधिवेशनप्रति देउवालाई नकारात्मक बनाउनेमध्येका प्रमुख पात्र सिटौला रहेको संस्थापन पक्षको बुझाइ छ ।

‘उहाँहरूले टिकटका लागि अनुरोध गर्नुभएन, अनुरोध गर्नुभएको भए विचार गर्न सकिने अवस्था हुन्थ्यो,’ संस्थापननिकट एक पदाधिकारीले भने । तर, केही नेतालाई टिकट नदिनेमा संस्थापन पक्ष पहिल्यै तयार थियो । ‘पूर्वमन्त्री रमेश लेखक, बालकृष्ण खाण, दीपक खड्का, मोहनबहादुर बस्नेत, डा. आरजु राणा देउवालाई हामी कुनै पनि हालतमा टिकट दिने पक्षमा थिएनौँ । हुन त डा. प्रकाशशरण महत, विमलेन्द्र निधिप्रति पनि सभापति सुरुमा सकारात्मक हुनुहुन्थेन, तर उतैबाट अनुरोध आएपछि उहाँहरूले टिकट दिनुभएको हो,’ संस्थापनपक्षीय एक नेताले भने ।

कांग्रेसका पूर्वपदाधिकारी बद्री पाण्डेले निर्वाचन नलड्ने घोषणा गरिसकेका थिए । उनीसँगै नेताहरू मीन विश्वकर्मा, बलबहादुर केसी, रामनाथ अधिकारी, राजेन्द्रकुमार केसी, हृदयराम थानी, जिपछिरिङ लामा, दिलेन्द्रप्राद बडू, डा. नारायण खड्का, मानबहादुर विश्वकर्मालगायतले पनि चुनाव लड्ने चाहना राखेनन् । सुदूरपश्चिम कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले टिकट पाए पनि उम्मेदवार बन्न अस्वीकार गरे । उनको क्षेत्रमा हरि बोहरालाई टिक दिइएको छ ।

एमालेमा यी नेता बाहिर
एमाले उपमहासचिव योगेश भट्टराई, नेता गोकुल बाँस्कोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, विष्णु रिजाल, रचना खड्कालगायतले यसपटक टिकट पाएनन् । उनीहरूले एमाले महाधिवेशनमा अध्यक्ष केपी ओलीइतरमा निर्वाचन लडेका कारण ओलीले प्रतिशोधका रूपमा टिकट दिएनन् । भट्टराईले ताप्लेजुङ र बाँस्कोटाले काभ्रे २ बाट टिकट पाएनन् । ओलीले ताप्लेजुङमा युवा संघका अध्यक्ष क्षितिज थेबे र काभ्रे २ मा अशोक ब्याञ्जूलाई टिकट दिएका छन् ।

एमाले पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले चुनाव नलड्ने घोषणा गरेका थिए । पूर्वउपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यले पहिले नै चुनावी प्रतिस्पर्धाबाट अलग्गिने घोषणा गरेका थिए । उनीहरू पार्टीभित्र पनि चुनावी प्रतिस्पर्धामा रहेनन् । ओलीका पक्षमा निरन्तर पैरवी गर्दै आएका नेता विष्णु रिजालले दैलेख २ बाट टिकट पाएनन् । 

नेकपामा खनाल, गौतमदेखि गजुरेलसम्म बाहिर
नेकपा नेता झलनाथ खनालले चुनाव लड्ने इच्छा गरेनन् । विगतमा इलाम २ बाट चुनाव लडेका खनाल यसपटक प्रतिस्पर्धामा सहभागी हुन चाहेनन् । अर्का नेता वामदेव गौतमले प्युठानबाट चुनाव लड्न चाहेका थिए, तर उनले टिकट पाएनन् । उनलाई नेकपाले बर्दिया १ मा टिकट दिएको थियो । तर, पार्टीले अरूलाई नै दिएपछि गौतमले चुनाव नलड्ने निर्णय लिए । नेकपा नेताहरू हरिबोल गजुरेल, प्रकाश ज्वाला, देव गुरुङ, गंगालाल तुलाधरले टिकट पाएनन् । गुरुङले श्रीमती यशोदा सुवेदीलाई मनाङबाट उम्मेदवार बनाए । नेतृ पम्फा भुसाल, पूर्वसभामुख अग्नि सापकोटा, कृष्णबहादुर महराले चुनाव लड्ने चाहना राखेनन् । 

यसैगरी, नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले रोल्पाबाट चुनाव लड्ने चर्चा थियो, तर उनले अन्तिम समयमा उम्मेदवारी दिएनन् । राप्रपा नेताहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, डा. धवलशमशेर राणा, बुद्धिमान तामाङले पनि यसपटक निर्वाचनमा उम्मेदवारी दिएनन् । 

See More On

सुझावित समाचार