चार निर्वाचन क्षेत्र रहेको पर्सामा १०६ जनाको उम्मेदवारी

मंगलबार, ६ माघ, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा दल र स्वतन्त्रका गरी १०६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पर्सा क्षेत्र नम्बर १ मा कांग्रेसका अनिलकुमार रुंगटा, एमालेका प्रदीप यादव, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अजय चौरसिया, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिप्रसाद पन्तले उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै, उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह पराग र जनता समाजवादी पार्टी, नेपालका रामनरेश यादवसहित ३० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले जानकारी दिए । 

निर्वाचन क्षेत्र २ मा राजनीतिक दल र स्वतन्त्रका गरी ३२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नम्बर २ मा कांग्रेसबाट अजयकुमार चौरसिया, एमालेबाट रिमाकुमारी यादव उम्मेदवार बनेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुशील साह कानु, राप्रपाका विना जैसवाल, जनता समाजवादी पार्टीका अशोककुमार टेमानी, उज्यालो पार्टीका कृष्णमुरारी प्रजापतिसहित ३२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

क्षेत्र नम्बर ३ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये एमाले, कांग्रेस, जसपा, जनमत, रास्वपा, नेकपा उज्यालो नेपाल र राप्रपासहित विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेबाट रुपेश पाण्डे, कांग्रेसबाट सुरेन्द्रप्रसाद चौधरी, नेकपाबाट छोटेलाल यादव, रास्वपाबाट रामाकान्त चौरसीयाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, उज्यालो नेपालबाट रामरुप साह कानुसहित २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर ४ मा २४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । एमाले, कांग्रेस, जसपा, जनमत, रास्वपा, नेकपा, उज्यालो नेपाल पार्टी र राप्रपासहित राजनीतिक दल र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेबाट जालिम मियाँ मन्सुरी, कांग्रेसबाट रमेश रिजाल, नेकपाबाट जयप्रकाश थारु, रास्वपाबाट टेकबहादुर शाक्य, कृपासिन्धु प्रसादले जसपा, नेपालबाट मनोनयन दर्ता गराएका छन् ।

यस्तै, उज्यालो नेपालबाट विनोद यादवसहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पर्सामा कुल तीन लाख ७६ हजार ५१३ मतदाता छन् । यसअघि ०७९ को निर्वाचनमा जिल्लामा कुल तीन लाख ५२ हजार ४८४ मतदाता रहेकामा २४ हजार २९ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले जानकारी दिइन् ।

रौनियारका अनुसार यसपटक पर्सामा महिला एक लाख ६४ हजार ४२१ र पुरुष दुई लाख १२ हजार ७७ र अन्य मतदाता १५ रहेको छ । 

सुझावित समाचार