धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम प्रदेशका ६ सय युवालाई सीपमूलक तालिम दिन लागेको छ । उपमहानगरको आयोजनामा धनगढीमा सोमबारबाट सीप तथा रोजगार मेला सुरु भएको छ । बेरोजगार युवायुवतीलाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले सुरु गरिएको तालिम एक महिनासम्म सञ्चालन हुनेछ ।
उपमहानगरले धनगढीको खुला मञ्चमा टेन्ट लगाएर तालिम सञ्चालन गरिरहेको छ । तालिम लिन सुदूरपश्चिमका विभिन्न जिल्लाका ८३ वटा पालिकाबाट १८ देखि ४० वर्ष उमेरका ६ सय युवायुवती छनोट भएका छन् । त्यसमध्ये महिलाको संख्या आधाभन्दा बढी रहेको उपमहानगरले जनाएको छ । सातवटा क्षेत्रमा २२ प्रकारका तालिम दिइन उपमहानगरको रोजगार शाखाका संयोजक चन्द्र महराले जानकारी दिए ।
कार, मोटरसाइकल, स्कुटर मर्मत, फर्निचर, प्लम्बिङ, वाइरिङ, वेटर, बेकरी, डिजिटल मार्केटिङ, मोबाइल मर्मत, फोटोग्राफी, पुरोहित, ब्युटिसियन, बुटिक तथा कडाइ, सांस्कृतिक पोसाक निर्माण, हस्तकला सामग्री निर्माण, वेल्डिङलगायत तालिम सञ्चालन भइरहेका छन् । युवा बेरोजगारीको समस्या र सीप अभावलाई सम्बोधन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको महराले बताए ।
तालिम लिएकाहरू आन्तरिक श्रमबजारमा रोजगार बन्न सक्ने तथा उद्यम व्यवसाय गरेर स्वरोजगार बन्न सक्ने अपेक्षा गरिएको छ । उपमहानगरले गत वर्ष पनि रोजगार मेला सञ्चालन गरेको थियो । संयोजक महरका अनुसार गत वर्ष एक हजार ४० जनालाई तालिम दिइएकोमा तालिम लिएका आधाभन्दा बढी रोजगार तथा उद्यम व्यवसायमा संलग्न छन् ।
एक महिनासम्म तालिम दिएपछि रोजगार तथा उद्यम व्यवसाय गर्न चाहने प्रशिक्षार्थीका लागि पाँच दिन व्यवसाय सुरुवात तथा उद्यमशीलता विकास तालिम सञ्चालन गरिनेछ । रोजगारमा जान चाहनेका लागि पाँच दिन नै रोजगार परामर्श कार्यशाला सञ्चालन गर्ने उपमहानगरको तयारी छ । अन्तिममा प्रशिक्षार्थी र रोजगारदाताबिच दुईदिने रोजगार मेलासमेत सञ्चालन गरिने रोजगार संयोजक महराले जानकारी दिए ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जनशक्तिको माग र रोजगारी, स्वरोजगारीको सुनिश्चितता हेरेर तालिमका विषय निर्धारण गरिएको बताए । विभिन्न तहका सरकारले बर्सेनि तालिम सञ्चालन गरे पनि उपलब्धि नदेखिएको उल्लेख गर्दै उनले बजारको आवश्यकता हेरेर तालिमलाई परिणामुखी बनाउन खोजिएको बताए ।
‘बजारको माग के छ, कहाँ के जनशक्ति आवश्यक छ भनेर तालिम निर्धारण गरिएको छ,’ उनले भने, ‘तालिम दिएर जनशक्तिलाई बजारसँग जोडौँ भनेर प्रयास गरेका हौँ ।’ सीप सिकाउने, रोजगार, स्वरोजगारको पहल गर्ने र उत्पादनलाई बजारीकरण गरी नागरिकलाई स्वरोजगार बनाउन मिलेर काम गर्नुपर्ने उनले बताए । धनगढीले गत वर्षबाट सुरु गरेको सीप तथा रोजगार मेलालाई आगामी वर्षहरूमा यहाँका सबै पालिका मिलेर साझा रूपमा सञ्चालन गर्न उनले प्रस्ताव गरे ।
मेलाको उद्घाटन गर्दै श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले युवालाई श्रमसँग नजोड्दासम्म मुलुकको विकास हुन नसक्ने धारणा राखे । श्रमप्रति हेर्ने दृष्टिकोण राम्रो नभएको र युवाहरूमा श्रमलाई लाजको रूपमा हेर्ने मनोवृत्ति रहेको उनको भनाइ थियो । ‘अहिले मुलुकको मूलभूत समस्या भनेको हामीले यहाँको जनलाई जनशक्तिमा रूपान्तरण गर्न सकेनौँ । जनशक्ति बाहिर गयो,’ मन्त्री भण्डारीले भने, ‘मान्छे यहाँ किन बस्न सक्दैन । यहाँ बस्न सम्भव छैन भन्ने मनोभावनामा किन असर पर्यो ? लोकतन्त्र स्थापनाको यतिका वर्षसम्म पनि युवामा भएको प्रचुर ऊर्जा प्रयोग गर्ने वातावरण हामीले किन बनाउन सकेनौँ ?’ युवाहरूको उकुसमुकुस र छटपटीको विस्फोटका रूपमा जेन–जी आन्दोलन भएको मन्त्री भण्डारीले बताए ।
बझाङको जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल र डडेल्धुराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बेरोजगार युवा जनशक्तिलाई सीपमूलक तालिममार्फत रोजगार र स्वरोजगारसँग जोड्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताए । उपमहानगरले गत वर्षबाट सीप तथा रोजगार मेला सुरुवात गरेको हो ।