प्रतिनिधिसभा निर्वाचन लड्न बागमती प्रदेशका ६ सांसदले दिए राजीनामा

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न बागमती प्रदेशसभाका ६ जना सांसदले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र नेकपाका सांसदहरूले संघीय संसदमा प्रतिस्पर्धा गर्ने तयारीसँगै प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका हुन्।

प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार सोमबार ५ जना सांसदले इमेलमार्फत राजीनामा-पत्र दर्ता गराएका छन् भने एकजना सांसदले प्रदेश सभा उपसभामुख अप्सरा चापागाईँलाई भेटेर राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा कांग्रेस र राप्रपाबाट १/१ जना तथा एमाले र नेकपाबाट २/२ जना सांसद रहेका छन् ।

कांग्रेसका सांसद कुन्दनराज काफ्लेले पनि पदबाट राजीनामा दिएका छन् । दोलखा–१ कबाट प्रदेश सभा सदस्य निर्वाचित काफ्लेले उपसभामुख अप्सरा चापागाईँलाई सोमबार भेटेर राजीनामा-पत्र बुझाएका हुन् । 

उनी आगामी प्रतिनिधिसभा निर्वाचनमा दोलखाबाट उम्मेदवार बन्ने तयारीमा छन्, यद्यपि उनको टिकट भने अझै टुंगो लागिसकेको छैन । काफ्ले २०८० देखि २०८१ सम्म बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री रहेका थिए ।

यस्तै, राप्रपाका प्रदेश सांसद काठमाडौं–२ कबाट निर्वाचित सुनील केसीले पनि प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बन्ने भएका छन्। पूर्वमेयर बालेन्द्र शाह (बालेन)को टिमको समर्थनमा रास्वपाले केसीलाई टिकट दिएको हो ।  

यता प्रदेश सभामा प्रतिनिधित्व गर्ने अर्को दल नेकपाका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री युवराज दुलाल ‘शरद’ले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका छन्। २०७४ र २०७९ गरी दुईपटक प्रदेश सभा सदस्य निर्वाचित भएका दुलाल आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धा गर्दै छन्। 

उनलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक–२ बाट उम्मेदवार बनाएको छ । आइतबार टिकट पाएपछि कार्यव्यस्तताका कारण प्रदेश सभा सचिवालय हेटौँडा पुग्न नसकेका दुलालले इमेलमार्फत राजीनामा पत्र पठाएका हुन् । उनी २०७४ देखि २०७७ सम्म सामाजिक विकासमन्त्री तथा २०७९ देखि २०८१ सम्म भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा रहेका थिए।

२०७४ र २०७९ मा प्रदेश सभा सदस्य निर्वाचित वसन्त मानन्धरले पनि इमेलमार्फत राजीनामा दिएका छन्। २०७४ मा एमाले र २०७९ मा नेकपा एकीकृत समाजवादीबाट काठमाडौं–७ (क) बाट निर्वाचित मानन्धर हाल नेकपामा आबद्ध छन्। उनी काठमाडौं–७ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई सो क्षेत्रमा टिकट दिएका छन्। मानन्धर प्रदेश सभाको पहिलो कार्यकालमा २०७८ देखि २०७९ सम्म खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री रहेका थिए ।

यसैगरी, प्रदेश सभाको दोस्रो ठुलो दल एमालेका दुईजना प्रदेश सांसदहरूले पदबाट राजीनामा बुझाएका छन् । यसरी राजीनामा बुझाउनेमा प्रदेश सभा सदस्य तथा पूर्वकृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले रहेका छन्। काठमाडौं–७ (ख) बाट २०७४ र २०७९ मा प्रदेश सांसद निर्वाचित श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएपछि पदबाट हटेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्य पदको टिकट दिएका छन् । श्रेष्ठ २०८१ देखि २०८२ सम्म प्रदेश सरकारको मन्त्री रहेका थिए ।

 एमालेबाट बागमती प्रदेशका पूर्वमन्त्री तथा एमाले सांसद अमनकुमार मास्केले पनि प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका छन्। काठमाडौं–६ (ख) बाट निर्वाचित मास्केले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन इमेलमार्फत राजीनामा दर्ता गराएका हुन् । उनी आगामी निर्वाचनमा काठमाडौं–६ बाट एमालेको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा छन् । मास्के २०८० देखि २०८१ सम्म भौतिक पूर्वाधार विकासमन्त्री रहेका थिए । 
 

सुझावित समाचार