झापाका एसपीको सरुवा गरिएकोमा ओली असन्तुष्ट

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

झापाको प्रहरी प्रमुख एसपी राजन लिम्बूलाई सरुवा गरिएकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार झापा आएर पत्रकार सम्मेलन गरेका ओलीले एसपी सरुवाको विषयमा सरकारको आलोचना गरे। 

प्रहरी प्रधान कार्यालयले आइतबार लिम्बूलाई हटाएर एसपी बसुन्धरा खड्कालाई झापाको एसपीमा सरुवा गरेको थियो। ओलीले दबाब, धम्की र कसैको आवश्यकतामा एसपी लिम्बूको सरुवा गरिएको दाबी गरे। ‘झापाका एसपीले निष्पक्ष भूमिका खेल्ने डर भयो सरकारलाई। त्यसकारण उहाँ फेरिनुभयो। उहाँलाई काठमाडौं तानिएको छ,’ उनले भने, ‘म गृहमन्त्री हुँदा यो पक्ष र त्यो पक्ष भनिनँ। नियमअनुसार जे हुन्छ त्यहीअनुसार गरेँ। म प्रधानमन्त्री हुँदा पनि कहिले त्यो गरिनँ। धम्की, दबाब कसलाई के आवश्यकता पर्यो भन्ने आधारमा गरिनँ।’ 

झापाको प्रहरी प्रमुख लिम्बूलाई एमालेनिकट भएको आरोप लाग्दै आएको छ। उनी ओली प्रधानमन्त्री हुँदा उनको पिएसओ भएर काम गरेका थिए। उनी गत वैशाखमा चितवनको जिल्ला प्रमुखबाट झापाको प्रमुखका रूपमा सरुवा भएर आएका हुन्। चितवनमा करिब तीन महिना काम गरेपछि उनकै रोजाइअनुसार झापा सरुवा गरिएको थियो। सामान्यतया एउटा जिल्लाबाट अर्काे जिल्लामा एसपीको सरुवा नहुने भए पनि ओलीकै निर्देशनमा उनको झापामा सरुवा भएको थियो। ओली त्यति वेला प्रधानमन्त्री थिए। जिल्ला इन्चार्जको अवधि एक वर्ष पुग्नै लागेकाले उनलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालयले आइतबार झापाका एसपीसहित ४८ एसपीको सरुवा गरेको थियो। 

झापामा पठाइएकी एसपी बसुन्धरा खड्का काभ्रेपलाञ्चोकमा हुँदा उत्कृष्ट काम गरेर पुरस्कृत भएकी थिइन्। 

सुझावित समाचार