कञ्चनपुर १ मा मगर र ३ मा सुनार नेकपाका उम्मेदवार

सोमबार, ५ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कञ्चनपुरमा पूर्वमन्त्रीद्वय बिना मगर र मानबहादुर सुनारलाई आगामी प्रतिनिधिसभा निर्वाचनको टिकट दिएको छ।

निर्वाचन क्षेत्र नं १ मा संघीय सरकारकी पूर्वखानेपानीमन्त्री मगर र क्षेत्र नं ३ बाट प्रदेशका भूमि, व्यवस्था तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनारले टिकट पाएका हुन्। नेकपाले कञ्चनपुर क्षेत्र १ मा महिला क्लस्टरबाट मगर र दलित क्लस्टरबाट सुनारलाई अघि सारेको हो।

नेकपा कञ्चनपुरका नेता खेमराज पाण्डेयले क्षेत्र तथा जिल्लाबाट सिफारिस भएका आधारमा क्षेत्र नं १ मा मगर र क्षेत्र नं ३ मा सुनारले टिकट पाएको बताए।

नेकपा केन्द्रीय सदस्यसमेत रहेकी पूर्वमन्त्री मगर ०७० मा पहिलो संविधानसभा सदस्य चुनाव लडेकी थिइन्। दोस्रो प्रयासमा ०७४ मा पहिलोपटक संसदीय यात्रा तय गरेकी मगर मन्त्री भएकी थिइन्। ०७९ मा पराजित भएकी उनी पुनः चुनावी मैदानमा उत्रिएकी हुन्। ०७४ मा क्षेत्र ३(ख)बाट प्रदेश सभा सदस्य हुँदै राज्यमन्त्री भएका सुनार अहिले संघीय संसद्को यात्रामा लागेका हुन्। 

निर्वाचन क्षेत्र नं २ को उम्मेदवारका विषयमा भने अन्योलता देखिएको छ। पहिलो चरणमा प्रदेशका पूर्वसामाजिक विकासमन्त्री लालबहादुर खड्काको नाम सार्वजनिक भए पनि दोस्रो दिन युवा नेता माधव पन्तको नाम सार्वजनिक भएपछि अन्योल भएको हो। 

सुझावित समाचार