कोशी प्राइड प्रालिले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करणको अक्सन सम्पन्न भएको छ । सात फ्रेन्चाइज टोलीले ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने प्रतियोगिताका लागि अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरेका छन् । हरेक टोलीले ड्राफ्टबाट तीनदेखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् ।
अक्सनमा २३२ खेलाडी समावेश थिए ।
क्याटगोरी ‘ए’मा ३४, क्याटगोरी ‘बी’मा ९५ तथा क्याटगोरी ‘सी’मा १०३ खेलाडी थिए । २३२ खेलाडीमध्ये ८४ खेलाडी बिक्री भएका छन् । आयोजक कोशी प्राइडका निर्देशक अफजल हुसैनले क्याटगोरी ‘ए’को मूल्य न्यूनतम ४५ देखि ६५ हजार रुपैयाँ रहेको जनाए । क्याटगोरी ‘बी’का लागि २५ देखि ४५ हजार तथा क्याटगोरी ‘सी’को मूल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको थियो ।
प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान)ले स्वीकृति दिएको छ । कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ । राष्ट्रिय पुरुष टोलीका चर्चित खेलाडीले पनि लिग खेल्नेछन् । एभरेस्ट थन्डर्सले राष्ट्रिय टोलीका करण केसी र सोमपाल कामीलाई भित्र्याएको छ । नमुना ब्लास्टर्सले राष्ट्रिय टोलीकै नन्दन यादवलाई अनुबन्ध गरेको छ । यसैगरी, इटहरी आदर्श जायन्ट्सबाट कुशल मल्लले प्रतिस्पर्धा गर्नेछन् । बिर्तामोड हिट्सले अलराउन्डर गुल्सन झा र शेर मल्ललाई भित्र्याएको छ । पूर्वेली सुपर किंग्सले ललित राजवंशी र मोहम्मद आदिल आलमलाई अनुबन्ध गरेको छ । बिएन कोशी अर्नासले भुवन कार्कीलाई भित्र्याएको छ ।