देशका पुराना र ठुला दलहरूलाई पछि पार्दै ०७९ को चुनावमा भारी मतान्तरले चुनाव जितेका बालेन्द्र शाह बालेनले १६ महिना कार्यकाल बाँकी छँदै आइतबार राजीनामा दिए । संघीय सरकार हाँक्ने उद्देश्यले उनले राजीनामा दिएका हुन् । फरक कोणबाट राजनीतिमा उदाएका बालेनले २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट उम्मेदवार बन्न आइतबार उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन् ।
तर, एक वर्षभन्दा बढी कार्यकाल बाँकी छँदै संघीय चुनावमा उठ्ने हतारोमा राजीनामा दिएपछि उनको राजनीतिक यात्रा कस्तो हुने हो भन्ने आमचासोको विषय बनेको छ । अझ उनले एमाले अध्यक्ष केपी ओलीकै क्षेत्र ताकेर चुनाव लड्ने तयारी गरेपछि सर्वत्र चर्चा बढेको छ ।
महानगरमा तीन वर्ष आठ महिनाको अवधिमा सेवाप्रवाहमा सुधार देखिए पनि समन्वय र सहकार्यमा भने कमी देखियो । बालेनले सुरुवाती चरणमा अवैध संरचना हटाउने, टुकुचा खोला उत्खनन गर्ने, सडक विस्तार गर्नेलगायत काम थालेका थिए । उनकै कारण देशभरि नै डोजर चलाउने र अवैध संरचना हटाउने लहर चल्यो । उनले लामो समयदेखि नदी अतिक्रमण हटाउन खोजे पनि केन्द्र सरकारले अहयोग गर्दा काम पूरा गर्न सकेनन् । ‘उनले केन्द्र सरकारलाई कडै रूपमा खबरदारी गरे, तर खबरदारी गर्ने शैली धम्क्याउ भयो, माथिल्लो सरकारको बैठकमा भाग नलिने, आफ्ना कुरा नराख्ने, भेटघाट दिएनन्,’ स्थानीय शासनविज्ञ खिमलाल देवकोटाले भने, ‘तर, उनले पब्लिक सर्भिसमा ख्याल गरे, कर्मचारीलाई इमानदार बनाए, तैपनि समन्वय र सहकार्यमा कमी देखिए ।’ साथै, झुक्न नखोज्ने र आक्रोशित हुने स्वभावले उनले जति गर्न सक्ने त्यति काम गर्न नसकेको उनले बताए ।
राजनीतिक अध्येता हरि शर्मा बालेनको कार्यकाल सन्तोषजनक नभएको बताउँछन् । ‘बालेनले विकास निर्माण कार्यक्रममा भाग लिएको देखिएन । आफ्नै नगरपालिकाको बैठकमा पनि भिडन्त मात्रै भएको देखियो, बैठक समयमा बस्दै बस्नुभएन,’ उनले भने, ‘तर, बाहिर बालेनले राम्रो ग¥यो भन्ने मात्रै हल्ला चलाइयो, जे पनि बालेनले गरेका भनेर भनियो, तर बालेनले आफूलाई ठिक रूपमा प्रस्तुत गरेजस्तो लागेन, उनले जनतासँग भेटेनन्, जनमत सुनेनन् भन्ने लाग्छ ।’
स्थानीय शासनविज्ञ देवकोटा भने पारदर्शिता, वित्तीय अनुशासन, सुशासन, संस्थाप्रतिको जवाफदेहितामा बालेनले शतप्रतिशत अंक पाउने उनले बताए । ‘पारदर्शिता, वित्तीय अनुशासन, सुशासन, संस्थाप्रतिको जवाफदेहितामा उहाँले राम्रो गर्नुभयो,’ उनले भने, ‘काठमाडौं महानगर स्रोत–साधनले भरिपूर्ण संस्था भएकाले अझै धेरै पहिचालन गर्न सकिन्थ्यो, समन्वय र सहकार्यमा कमजोरी देखिए पनि उनले आफ्ना मतदातालाई खुसी बनाएका छन् ।’
मेयर भएलगत्तै बालेनले भनेका थिए– विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु
मेयर निर्वाचित भएलगत्तै १३ जेठ ०७९ मा बालेनले भनेका थिए, ‘निर्वाचनको जुन परिणाम आएको छ, त्यो विजयभन्दा पनि हाम्रो एउटा कार्यको सुरुवात हो । अबको पाँच वर्षमा हाम्रो भिजन, एजेन्डालाई पूर्ण रूपमा लागू गर्नेछौँ, महानगरवासीलाई परिवारका रूपमा लिएका छौँ । हामी सधैँ परिवार थियौँ, परिवार नै रहनेछौँ । सबै मिलेर काठमाडौंलाई देशकै मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउन सहकार्य गर्छौँ भन्ने आशा राखेका छौँ ।’ उनी ०७९ मा ६१ हजार ७६७ मतसहित निर्वाचित भएका थिए । त्यतिवेला उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवारी दिएकी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ र एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका थिए ।
के–के भए पूरा, के रहे अधुरा ?
०७९ को निर्वाचनमा बालेनले आफ्नो चुनावी घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका थिए । महानगरवासीलाई व्यक्तिगत घटना दर्ता, वृद्धभत्ता वितरणसम्बन्धी सेवा घर–घरमै पुगेर दिने उनको बाचा थियो । उनले युवालक्षित करिअर परामर्श र कोचिङ कक्षा उपलब्ध गराउने घोषणा गरेका थिए । कक्षा एकदेखि आठसम्मको पाठ्यक्रम परिमार्जन गर्ने, त्यसमा इतिहास, नयाँ ढंगले फोहोर व्यवस्थापन गर्ने, योग, आयुर्वेदजस्ता पौराणिक शिक्षा लिने घोषणापत्रमा उल्लेख गरेका थिए । उनको घोषणापत्रमा सबै वडा र नगरपालिकास्तरमा अनलाइन भुक्तानी सेवा सञ्चालन गर्ने, बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्नेलगायत घोषणा गरेका थिए ।
शिक्षामा कायापलट, स्वास्थ्य कम सुधार
बालेनले घोषणापत्रको बुँदा १ मै सामुदायिक विद्यालयमा सुधार ल्याउने, छात्रवृत्तिलाई पारदर्शी बनाउने बाचा गरेका थिए । सातामा एक दिन शिक्षामा सिप कार्यक्रम सञ्चालन गर्ने, स्थानीय पाठ्यक्रम सुधार गर्नेलगायतमा उनले प्रभावकारी काम देखाएका छन् । हाल महानगरभित्रका निजी विद्यालयमा ३० हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिलाएका छन् । तर, घोषणापत्रमा समेटेजसरी कक्षा आठसम्मको पाठ्यक्रम भने परिमार्जन हुन सकेन । उनले निजी विद्यालयको नाम नेपालीकरण गर्ने, सामुदायिक विद्यालयका कक्षाकोठा फराकिलो पार्ने, डिजिटल शिक्षामा जोड दिने र सामुदायिक विद्यालयले अनधिकृत रूपमा भाडामा लगाएको सटर खाली गरेर उदाहरणीय काम गरे । बालेनले चुनावी घोषणापत्रमा महानगरभित्रका अस्पतालमा १० शड्ढया निःशुल्क उपचार सेवा कार्यान्वयन गराउने घोषणा गरेका थिए । त्यो पूरा गरे । उनले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र निर्माण, वडा स्वास्थ्य चौकी निर्माण, ७० वर्षमाथिकाको निःशुल्क स्वास्थ्य जाँचलगायत प्रतिबद्धता पनि पूरा गरे । तर, महानगरकै फार्मेसी खोल्ने योजनामा भने उनी असफल भए ।
पूर्वधार र पर्यटनमा सीमित काम
बालेनले पूर्वाधारतर्फ कल सेन्टर स्थापना गर्ने, पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने, सांस्कृतिक दृष्टिले पुनर्निर्माण गर्ने, वडा र टोल–टोलमा सार्वजनिक शौचालय निर्माण गर्ने, बसस्टपहरूमा फल्चा निर्माण गर्ने, साँघुरा गल्लीहरूमा ओभरहेड ट्यांकी राख्ने र फायर हाइड्रन्टहरू राख्ने भनेर बुँदा नम्बर ३ मा घोषणा गरेकोमा पूर्वाधार एम्बुलेन्स सञ्चालन र टोलटोलमा शौचालय निर्माण गर्नेमा असफल भए । तर, उनले सुरुमा विभिन्न होटेलसँग मिलेर सार्वजनिक शौचालय प्रयोग सहज बनाए पनि महानगरबाटै निर्माण भने गर्न सकेनन् । त्यस्तै, बुँदा ७ मा पर्यटनलाई स्थानीय बासिन्दाको जीवनचर्यासँग जोड्ने कार्यक्रम ल्याइने, पर्यटनलाई जात्रा, संस्कृति र सम्पदा क्षेत्रसँग जोडेर सरकारी तहबाट प्रवद्र्धन गरिने, होमस्टे सञ्चालन गर्नका निम्ति स्थानीय बासिन्दालाई उपत्यकाको मौलिक खानपिन रहनसहन, पर्यटक सूचनाजस्ता अधिकांश कार्य अधुरै छन् । हाल महानगरले स्थानीय खानेकुरा र पयर्टन प्रवद्र्धनका लागि हाडीगाउँलाई कार फ्री डे भनेर मनाउने गरेको छ ।
सार्वजनिक यातायाततर्फका सबैजसो बाचा अधुरै
यातायात र पूर्वाधारतर्फ बालेनले प्रभावकारी भूमिका निर्वाह गरेको देखिँदैन । उनले घोषणापत्रको बुँदा नम्बर ४ मा सार्वजनिक यातायातलाई कार्यालय समयमा सहज बनाउने, सार्वजनिक यातायात र महानगर यातायातलाई एउटै छातामा ल्याउने, विद्युतीय यातायात सञ्चालन गर्ने, यातायातका साधनमा सिसिटिभी जडान गर्ने, पार्किङ व्यवस्थित बनाउने, काठमाडौं महानगरको आफ्नै ट्याक्सी एप सञ्चालन गर्ने, सार्वजनिक यातायातमा मासिक प्रिपेड कार्ड सुरु गर्नेलगायत घोषणा गरेका थिए । तर, यी सबै योजना अधुरै रहे । खानेपानी व्यवस्थापनतर्फ १५ वटाहाराहारी ढुंगेधारामा पानी आउने गरी पुनर्निर्माण भएको छ भने चारवटा पुराना पोखरी पुननिर्माणको काम गरेका छन् । तर, स्थानीय नदीमा ढल प्रशोधन प्लान्ट भने जडान गर्न सकेनन् ।
प्रदूषण र फोहोर व्यवस्थापनमा पनि कमजोर
चुनावी घोषणापत्रको बुँदा ८ प्रदूषण नियन्त्रणतर्फ पूर्वाधार एम्बुलेन्सको सहायताले प्रदूषणको मूल कारणको समाधान गरिने, खाल्डाखुल्डी, ढल निकास र अन्य प्रदूषण उत्सर्जन गर्ने क्षेत्रहरूको दूत मर्मतसम्भार र व्यवस्थापन गरिने, धुलो र अन्य प्रदूषण उत्पन्न गर्ने निर्माणस्थलहरूको आइसोलेसन गरिने, उपत्यका प्रवेश विन्दुमा ठुला सवारीसाधन धुने केन्द्र सञ्चालन गरिने जसले गर्दा र दैनिक दुई सय मेट्रिकटन धुलो काठमाडौं महानगरपालिकाभित्र पस्न पाउनेछैन भनेर उल्लेख थियो । तर, धुलो व्यवस्थापनमा प्रभावकारी काम नगर्दा उपत्यका धुलाम्य र प्रदूषित हुने गरेको छ ।
बुँदा नम्बर ९ मा फोहोर व्यवस्थापनलाई समेट्दै अर्गानिक, प्लास्टिक र सिसाजन्य फोहोरलाई छुट्टाछुट्टै संकलन गरिने उल्लेख भए पनि हालसम्म उक्त कार्य पूरा हुन सकेन । काठमाडौं महानगरकै नजिकै इन्सिनरेटर जडान गरी उच्चस्तरीय प्रविधिले फोहोर व्यवस्थापन, अर्गानिक फोहोरलाई प्रांगारिक मलमा परिणत गरी नजिकको कृषिप्रधान जिल्लामा बिक्री गरिने भनेर उनले घोषणा गरेका थिए । तर, फोहोर व्यवस्थापनमा महानगरले प्रभावकारी कार्य गर्न सकेको छैन ।
ओलीसँग शृंखलाबद्ध टसल
स्वतन्त्र रूपमा मेयरमा चुनिएका बालेनको संघीय सरकारसँग पटक–पटक टसल प¥यो । देशकै प्रधानमन्त्रीसँग समेत नझुकी उनले काम गरे । चुनावका वेला एमाले उम्मेदवार केशव स्थापितले ‘¥यापर केटो आफूसँग भिड्न आएको’ भन्दै होच्याउने गरी व्यंग्य गरेपछि विवाद सुरु भएको थियो । स्थापित हारेपछि ओली बालेनविरुद्ध खनिन थालेका थिए । तत्कालीन प्रधानमन्त्री ओली र बालेनबिचको विवाद शृंखला लामो समयसम्म चल्यो । कहिले फोहोर उठाउने नाममा, कहिले टुकुचा उत्खनन गर्ने नाममा त कहिले सुकुमवासी बस्ती हटाउने नाममा ।
ओली प्रधानमन्त्री भएपछि बालेनले धरहरामा पार्किङ खुलाए । त्यसपछि ओली झन् बिच्किए । बालेनले ओलीको पालामा बनेको धरहरालाई सेतो टावर र झापा दमकमा ठड्याइएको बिजनेस टावरलाई फेसबुकबाटै ‘अग्लो घर’को संज्ञा दिएका थिए । बालेन मेयर भएपछि उनले चक्रपथको अस्तव्यस्तता अवलोकन गर्न पुगे । सरकारले चक्रपथ निर्माणमा ढिलासुस्ती गरेर जनतालाई सास्ती दिएको भन्दै तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने भन्दै फेसबुकमा लेखे । त्यसलगत्तै सडक विभागअन्तर्गत सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंको गेटमा महानगरले उपहारस्वरूप भन्दै एक ट्रक धुलो फ्याँक्यो । उक्त भिडियो बालेनले सार्वजनिक गरेपछि ओली निकै रिसाए । बालेनले न्युरोडमा सडकपेटी विस्तार अघि बढाए । त्यहाँ एमालेनिकट वडाध्यक्ष चिनीकाजी महर्जनले अवरोध गरे । सडक विभाग र महानगरबिच विवाद मच्चियो ।
बालेनले ओलीको गिरीबन्धु टी–स्टेट मुद्दामाथि फेसबुकबाटै कटाक्ष गरे । उनले भनेका थिए, ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थाल्नुभएछ ।’ प्रधानमन्त्रीले नै मेयर शाहलाई विरोध गरेपछि ओलीविरुद्ध सामाजिक सञ्जालमा अनफलो अभियान चल्यो । त्यसको केही समयपछि एमालेनिकट लुम्बिनी प्रदेश सांसद रेखा शर्माले बालश्रमिक राखेको र यातना दिएको मुद्दामा महानगरले अध्ययन गर्दै कारबाहीका लागि सिफारिस ग¥यो । तर, ओलीले सांसद शर्मालाई जोगाए । त्यसपछि ०८१ भदौदेखि प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर ओली र बालेनबिच निकै लामो विवाद चल्यो । बालेनले नरुचाएका कार्यकारीलाई ओलीले सरुवा गरेनन् । बरु प्रहरीको सुरक्षामा कार्यालय पठाएपछि विवाद उत्कर्षमा पुगेको थियो ।
सुनीताको काँधमा महानगर
मेयर बालेनले राजीनामा दिएपछि काठमाडौं महानगर प्रमुखको जिम्मेवारी उपप्रमुख सुनीता डंगोलले सम्हालेकी छिन् । मेयरले राजीनामापत्र बुझाएपछि जिम्मेवारी स्वतः डंगोलमा सरेको हो । मेयर शाहले संविधानको धारा २१६ को उपधारा ८ बमोजिम उपप्रमुखलाई राजीनामा बुझाएका हुन् । त्यसलगत्तै डंगोलको अध्यक्षतामा ४६औँ नगर कार्यपालिका बैठक बसेकोे थियो । बैठकको मुख्य प्रस्ताव मेयर शाहको राजीनामापत्र तथा धन्यवाद ज्ञापन सम्बन्धमा थियो । डंगोलले मेयर शाहले दिएको राजीनामापत्र प्रस्तुत गर्दै नगर कार्यपालिकाका सदस्यहरूलाई जानकारी गराएकी थिइन् ।