रवि–बालेन मधेशमा

बलिदान दिवसको अवसर पारेर मधेशी पोसाक धोती–कुर्तामा रास्वपा सभापति रवि लामिछानेसँगै बालेन जनकपुरमा एउटै मञ्चमा देखिने महोत्तरी पुख्र्यौली थातथलो रहेका बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको रास्वपा मधेशबाटै होमियो चुनावी यात्रामा

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण
  • काठमाडौंको मेयरबाट राजीनामा दिएर घन्टीघर पुगेका बालेनलाई भव्य स्वागत
  • ‘परिवर्तन उद्घोष सभा’का लागि आइतबार नै जनकपुर पुगे रवि–बालेन

२१ फागुनका लागि तय प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता दुई दिन मात्रै बाँकी रहँदा मधेशको राजनीतिक तापक्रम बढेको छ । यसको कारण हुन्– काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ । मनोनयनको अघिल्लो दिन रास्वपा सभापति रवि लामिछाने र बालेनले जनकपुरधामबाट चुनावी अभियानको उद्घोष गर्दै छन् । 

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै मधेशबाटै चुनावी प्रचारमा उत्रिने निर्णय गरेपछि उनको राजनीतिक कदमलाई मधेशले चासोपूर्वक नियालिरहेको छ । संघीयताको उद्गमस्थल मानिने मधेशमा बालेनको प्रवेशलाई संघीयताप्रति रास्वपाको ऐक्यबद्धताको सन्देशका रूपमा पनि हेरिएको छ ।

रास्वपाले बालेनलाई अघि सारेको घोषणा मात्र होइन, चुनावी सभासमेत जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना गर्दै छ । सोमबार हुने सभालाई पार्टीले ‘परिवर्तन उद्घोष सभा’ नाम दिएको छ । बालेनलाई केन्द्रमा राखेर चुनावी प्रचार गर्दा मधेशमा पार्टीलाई राजनीतिक लाभ पुग्ने विश्वास रास्वपाका नेता, मतदाता र विश्लेषकहरूले गरेका छन् ।

बालेन मधेशी पोसाक (धोती–कुर्ता)मा रास्वपा सभापति रवि लामिछानेसँगै एउटै मञ्चमा देखिनेछन् । रास्वपा मधेश संगठन उपप्रमुख अम्मुप्रसाद साहका अनुसारसभापति लामिछाने र वरिष्ठ नेता शाहसँगै उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनीष झासहितका नेताहरू आइतबार जनकपुरधाम आइपुगेका छन् ।
५ माघको बिहानै नेताहरूले जानकीमन्दिरको दर्शन गर्ने तथा सिराहाको लहानमा मधेश आन्दोलनका सहिद रमेश महतोको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरिएको छ ।

५ माघलाई मधेश प्रदेश सरकारले बलिदानी दिवसका रूपमा मनाउँदै आएको छ । त्यसपछि बिहान १० बजे जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा कार्यकर्ता भेटघाट, दिउँसो १ बजे तिरहुतिया गाछीको सभामा सम्बोधन र अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको साहले बताए । सभामा अहिलेसम्म मधेशमा भएका सबै सभाभन्दा धेरै जनसहभागिता रहने दाबी साहले गरे । जनकपुरधामका हरेक प्रवेशद्वारबाट बाहिरबाट आउने नेता तथा कार्यकर्ता ¥यालीसहित तिरहुतिया गाछीमा पुग्ने कार्यक्रम छ । ‘सभाको तयारी अन्तिम चरणमा पुगेको छ । शनिबारदेखि सहरभरि प्रचारप्रसार सामग्री झुन्ड्याउने काम सुरु हुन्छ,’उनले भने ।

विश्लेषक के भन्छन् ?
अहिलेसम्म स्वतन्त्र रूपमा र आफ्नो पृष्ठभूमि खासै उजागर नगरी राजनीति गर्दै आएका बालेन कुनै राजनीतिक दलमा आबद्ध भएर अघि बढ्नु सकारात्मक कदम भएको राजनीतिक विश्लेषक चन्द्रकिशोर बताउँछन् । नेपाल बहुदलीय लोकतान्त्रिक व्यवस्था भएको मुलुक भएकाले दलभित्र अनुशासन, संरचना र प्रतिबद्धता हुने उनी बताउँछन् । ‘रास्वपाले बालेनलाई मधेशी प्रतिनिधिका रूपमा अघि सारेर मधेशलाई आकर्षित गर्न खोजेको देखिन्छ,’ उनी भन्छन् ।

अर्का राजनीतिक विश्लेषक राकेश मिश्र पनि बालेनको प्रवेशले रास्वपाप्रति मधेशी जनताको चासो र आकर्षण बढेको बताउँछन् । ‘विगतमा संगठनात्मक रूपमा मधेशमा कमजोर रहेको रास्वपाले मधेशकै व्यक्तिलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बनाएर समर्थन जुटाउने प्रयास गरिरहेको छ,’ उनी भन्छन्, ‘तर, यो प्रयास कति सफल हुन्छ भन्ने कुरा अहिले नै ठोकुवा गर्न सकिँदैन ।’

मिश्रका अनुसार मधेशका धेरैजसो युवा वैदेशिक रोजगारीका लागि देशबाहिर छन् भने देशभित्र रहेका युवा मतदाता प्रायः कुनै न कुनै दलसँग आबद्ध छन् । साथै, सामाजिक सञ्जाल प्रयोग गर्ने धेरै युवा अझै मतदाता भइसकेका छैनन् । यस्तो अवस्थामा युवामाझ देखिएको आकर्षणले मात्र ठुलो मात्रामा मतपरिणाम बदल्ने अवस्था नदेखिएको जानकारको निष्कर्ष छ ।

०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरको मेयर बनेका बालेनलाई नजिकबाट बुझ्न मधेशका जनता, विशेषगरी युवा वर्ग उत्सुक देखिन्छन् । रास्वपाले बालेनलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा गरेपछि मधेशी समुदायमा उनीप्रति सहानुभूति बढेको युवा नेता दिनेश पुर्वे बताउँछन् ।सधैँ विभेद र दोस्रो दर्जाको नागरिककारूपमा व्यवहार भोग्दै आएको मधेशी समुदायका व्यक्तिलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको घोषणाले मधेश प्रदेशमा रास्वपाप्रति सकारात्मक धारणा बढेको उनको भनाइ छ । 

बालेनको प्रवेशले मधेशमा रास्वपालाई कस्तो प्रभाव पार्ला ?
०७९ को निर्वाचनमा अप्रत्याशित मत ल्याउँदै चौथो शक्तिका रूपमा उदाएको रास्वपाले मधेश प्रदेशमा भने एक लाख सात हजार ८४ मत मात्र प्राप्त गरेको थियो । त्यतिवेला मधेश कुल मतदाता संख्या ३३ लाख ८७ हजार थियो । यहाँका ३२ मध्ये कुनै पनि सिट जितेन । ०८२ सम्म आइपुग्दा रास्वपाले मधेशमा न त संगठन विस्तार गर्न सक्यो, न त प्रभावशाली नेताहरूलाई जोड्न नै सफल भयो । सामाजिक सञ्जालमा जति चर्चा भए पनि मधेशका ग्रामीण क्षेत्रमा रवि लामिछाने र बालेन शाहको लोकप्रियता अपेक्षाकृत कमजोर देखिन्छ ।

‘बालेनबारे मधेशी जनता अहिलेसम्म खासै जानकार छैनन्,’ राजनीतिक विश्लेषक राकेश मिश्र भन्छन्, ‘अहिले उनलाई बाहिरबाट देख्नेहरू जान्न र बुझ्न उत्सुक हुन्छन् ।’ महोत्तरीको एकडारा गाउँपालिका बालेनको जन्मस्थान भए पनि त्यहाँका स्थानीय नै उनको राजनीतिक यात्राबारे धेरै जानकार छैनन् । त्यसैले उनलाई देख्न र बुझ्न विशेषगरी युवा जमात उत्सुक देखिन्छ । तर, यसले निर्वाचनमा रास्वपालाई कति फाइदा पुर्याउँछ भन्ने कुरा तत्काल भन्न सकिने अवस्थामा छैन ।

‘मधेशको निर्वाचनमा जाति, धर्म, पार्टी संगठन, पैसा र सञ्जाल सबैले प्रभाव पार्छन्,’ उनी भन्छन्, ‘रास्वपाको मधेशमा संगठन कमजोर छ, नेताहरूको अभाव छ । मधेशले नयाँ शक्तिलाई सहजै स्वीकार गर्ने परम्परा पनि छैन । त्यसैले समानुपातिकतर्फ केही सुधार भए पनि प्रत्यक्षतर्फ राम्रो सिट ल्याउने सम्भावना देख्दिनँ ।’ मधेशकेन्द्रित दल कमजोर बन्दै जानु, कांग्रेसभित्रको आन्तरिक कलह उत्कर्षमा पुग्नु तथा एमाले र माओवादीमाथि प्रश्न उठिरहेको अवस्थामा रास्वपाले आन्दोलनको केन्द्रविन्दु जनकपुरधामलाई प्राथमिकता दिँदै चुनावी प्रचार सुरु गर्ने घोषणा गरेको छ ।

राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘चुनावी मौसम सुरु हुँदैछ । सबै दलले आफ्ना एजेन्डा लिएर जनतामा जान्छन् । रास्वपा पनि आफ्ना एजेन्डा लिएर मधेश झर्दैछ । मधेशका मुद्दा–समावेशिता, संघीयता, धर्मनिरपेक्षता, रोजगारी बुझेर मतदाताले मतदान गर्छन् । केवल बालेन शाहलाई संसदीय दलको नेता वा प्रधानमन्त्रीको उम्मेदवार बनाउँदैमा मत दिने होइन ।’रास्वपा मात्र होइन कांग्रेसले मधेशीलाई प्रथम राष्ट्रपति बनाएर सम्मान दिएको बताउँदै उनले भने, ‘अन्य पार्टीहरूले पनि मधेशका ६ जना नेतालाई उपप्रधानमन्त्री बनाएकै हो ।’ 

प्रधानमन्त्री बन्ने व्यक्तिले पहिले चुनाव जित्नुपर्छ, दलले बहुमत ल्याउनुपर्छ, बहुमत नआए गठबन्धन गर्नुपर्छ र गठबन्धनका दलले उक्त व्यक्तिलाई स्वीकार गर्नुपर्छ । ‘यो लामो प्रक्रिया हो,’ उनी भन्छन्, ‘मधेश कुनै दलको मोहीखेत होइन । जसले जति मिहिनेत गर्छ, त्यहीअनुसार मत पाउँछ । रास्वपाको मधेशमा न संगठन छ, न पर्याप्त लगानी । यस्तो अवस्थामा ठुलो सफलता पाउने संकेत अहिले देखिँदैन ।’

 यसकारण मधेशबाट ‘परिवर्तन’को उद्घोष
०७९ को निर्वाचनमा रास्वपालाई संघीयताविरोधी भन्दै मधेशकेन्द्रित दलहरू जसपा, लोसपासँगै कांग्रेस र एमालेसहितका राष्ट्रिय पार्टीले तीव्र आलोचना गरे । यसको प्रत्यक्ष प्रभाव संघीयताको उद्गमस्थल मानिने मधेश प्रदेशमा रास्वपाको चुनावी परिणाममा देखियो । ०८२ को निर्वाचनलाई लक्षित गर्दै रास्वपाले आफ्नो ‘परिवर्तनको उद्घोष’ नामक चुनावी यात्राको सुरुवात संघीयताको केन्द्रविन्दु मधेश प्रदेशको राजधानी जनकपुरधामबाटै गर्ने निर्णय गरेको छ । पार्टी संगठन कमजोर रहेको मधेश प्रदेशबाटै रास्वपाले चुनावी प्रचार किन सुरु गर्दै छ भन्ने विषयमा विभिन्न अड्कल र चर्चा भइरहेका छन् । 

कतिपयले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर मधेशबाटै यात्रा सुरु गर्दा मधेशी जनताको सहानुभूति प्राप्त गर्ने उद्देश्य रहेको बताउँछन् भने कतिपयले महोत्तरीको एकडारा गाउँपालिकाका स्थायी बासिन्दा बालेन स्वयं मधेशबाटै चुनाव लड्ने तयारीमा रहेकाले यस्तो गरिएको तर्क गर्छन् । यद्यपि, बालेनले झापा५ बाट पूर्वप्रधानमन्त्री केपी ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने र त्यसका लागि सम्पर्क कार्यालयका लागि घरसमेत लिइसकेका छन् । यस्तो अवस्थामा बालेनले पहिलोपटक जनकपुरधामबाट सार्वजनिक मञ्चमा सम्बोधन गर्नुको कारणबारे रास्वपाका प्रवक्ता मनीष झा भन्छन्, ‘परिवर्तन र सुशासनका लागि मधेश परिवर्तनको भूमि हो । यहीँबाट सुरु भएका आन्दोलनले मुलुकमा विभिन्न परिवर्तन ल्याएका छन् । त्यसैले हामीले परिवर्तनको उद्घोष जनकपुरधामबाट गर्ने निर्णय गरेका हौँ ।’

उनका अनुसार ०७९ को निर्वाचनमा सहभागी हुँदा रास्वपाको स्थापना भएको जम्मा चार महिना २७ दिन मात्र भएको थियो । ‘त्यसवेला प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा उम्मेदवार खडा गर्नु र त्यसको व्यवस्थापन गर्नु सहज थिएन,’ उनी भन्छन्, ‘तर, त्यसलाई राजनीतिक दलले रास्वपालाई संघीयताविरोधी भनेर प्रचार गरे । त्यस भ्रमलाई चिर्न पनि हामी संघीयताको उद्गमस्थलबाट परिवर्तनको उद्घोष गर्दैछौँ ।’ 

प्रवक्ता झाले रास्वपा संघीयताविरोधी नरहेको बताए । ‘रास्वपा संघीयताविरोधी हो भन्ने कुरा कहीँ पनि दस्ताबेजी रूपमा प्रमाणित भएको छैन । तर, अन्य दलहरूले आफ्ना स्वार्थका लागि यो विषय उठाए । अब हामी संघीयता र सनातन मूल्य–मान्यता (धार्मिक स्वतन्त्रता)का विषयमा स्पष्ट छौँ भन्ने सन्देश मधेशलाई दिन पनि यही भूमि रोजेका हौँ,’ उनले भने ।

 घन्टीघरमा बालेनलाई भव्य स्वागत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि पहिलोपटक पार्टीको केन्द्रीय कार्यालय पुगेका छन् । आइतबार दिउँसो वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालय (घण्टीघर) पुगेका बालेनलाई सभापति रवि लामिछानेसहित नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए । सयौँको संख्यामा उपस्थित नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै बालेनको स्वागत गरे ।

उत्साहित समर्थकहरूको ठेलमठेलबिच बालेन पार्टी कार्यालय प्रांगणमा रहेको घण्टीसम्म पुगे, जहाँ सभापति लामिछानेले उनलाई स्वागत गरेका थिए । त्यसपछि बालेनले घण्टी बजाए । लामिछानेले पनि साथ दिए । घण्टी बजाएपछि बालेनले नेता तथा कार्यकर्तातर्फ ‘फ्लाइङ किस’ र नमस्कार गर्दै अभिवादन गरे । उनले सभापति लामिछानेलाई अँगालो हाल्दा घण्टीघर ताली र हुटिङले गुन्जिएको थियो । रविसँग अंकमाल गरेपछि बालेन आफ्नो कार्यकक्षमा पुगे र वरिष्ठ नेताको हैसियतमा पदभार ग्रहण गरे । पार्टी कार्यालयमा पहिलोपटक पुगेका बालेन केही समय मात्र बसेर बाहिरिएका थिए ।

‘पार्टी कार्यालय आउनुभयो, पदभार ग्रहण गर्नुभयो र निस्कनुभयो,’ रास्वपा नेता प्रमोद न्यौपानेले भने । दिउँसो करिब साढे तीन बजे घण्टीघर पुगेका बालेन करिब १५ मिनेट मात्रै पार्टी कार्यालयमा बसे । त्यसपछि उनी जनकपुर जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका थिए । आइतबार नै जनकपुर पुगेका बालेनले सोमबार त्यहाँ आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने र मंगलबार झापा–५ पुगेर उम्मेदवारी दर्ता गर्ने तयारी छ । रास्वपा र बालेन समूहबिच १३ पुसको राति सातबुँदे सहमति भएको थियो ।

बालेनले पहिलोपटक जनकपुरधामबाट सार्वजनिक मञ्चमा सम्बोधन गर्नुको कारणबारे रास्वपाका प्रवक्ता मनीष झा भन्छन्– परिवर्तन र सुशासनका लागि मधेश परिवर्तनको भूमि हो । यहीँबाट सुरु भएका आन्दोलनले मुलुकमा विभिन्न परिवर्तन ल्याएका छन् । त्यसैले हामीले परिवर्तनको उद्घोष जनकपुरधामबाट गर्ने निर्णय गरेका हौँ ।

सुझावित समाचार