विपन्न बस्तीका बालबालिकालाई जीवनोपयोगी शिक्षा कार्यक्रम

आइतबार, ४ माघ, २०८२
डिजिटल संस्करण

विपन्न बस्तीका बालबालिकालाई पोखरा उद्योग वाणिज्य संघले सिप सिकाउनका लागि जीवनोपयोगी शिक्षा कार्यक्रम सुरु गरेको छ । संघअन्तर्गतको सामाजिक विकास केन्द्रले पोखरा नगर क्षेत्रभित्रका ९ वटा बस्तीका बालबालिकालाई जीवनोपयोगी शिक्षा कार्यक्रम सञ्चालन गरेको हो।

स्थानीय बाल क्लबका पदाधिकारीहरूलाई किडासाको सहयोगमा पहिलो चरणमा दुईदिने कार्यक्रम आइतबार सम्पन्न गरेको हो।

कार्यक्रममा बाल क्लबमा आबद्ध ७६ बालबालिका सहभागी रहेका सामाजिक विकास केन्द्रका संयोजक राजेन्द्रकुमार लालचनले जानकारी दिए। उनका अनुसार सहभागी बालबालिकालाई जीवनोपयोगी सिप, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, सामाजिक उत्तरदायित्वलगायतका विषयमा केन्द्रित रहेर प्रशिक्षण दिएको थियो ।

सहभागीहरूलाई बालमनोविद् तथा शिक्षक प्रेमनारायण पोखरेल ‘पानी पोखरेल’ ले सहजीकरण गरेका थिए । संघअन्तर्गतको केन्द्रले पोखरा–१ बगरस्थित शान्ति टोल, पोखरा–९ स्थित कृष्ण टोल, पोखरा–१५ स्थित अमिनतारा टोल, पोखरा–१६ स्थित गायक टोल र गोस्ते टोल, पोखरा–१७ स्थित पुलचोक टोल, पोखरा–१८ स्थित भकुन्डे टोल, पोखरा–२५ स्थित मसिना बगर टोल र पोखरा–२८ पट्नेरीस्थित सामुदायिक सबलीकरण परियोजना सञ्चालन गरिरहेको छ । केन्द्रले कार्यक्रम सञ्चालन भएका ती क्षेत्रहरूमा बाल क्लब गठन गरी क्लबलाई विभिन्न रचनात्मक कार्यक्रमसँगै विभिन्न सहयोग गर्दै आएको छ । कार्यक्रमअन्तर्गत विद्यालय शिक्षा, अतिरिक्त कक्षा, अनौपचारिक शिक्षा तथा अभिभावकको सशक्तीकरण कार्यक्रमसमेत सामेल गरिएको परियोजनाकी सुपरभाइजर अञ्जना पौडेलले जानकारी दिइन् । 

कार्यक्रम समापन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सहरी क्षेत्रमा रहेका अव्यवस्थित बस्तीमा रहेका बालबालिकाको सर्वा‌ंगीण विकासका लागि राज्य र पालिकाले सहयोग गर्न आवश्यक रहेको बताएका थिए।

सुझावित समाचार