नेकपा एमालेले कञ्चनपुरबाट सिफारिस नै नगरेका नेतालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउने (टिकट) दिने निर्णय गरेको छ । एमाले सचिवालय बैठकले क्षेत्र, जिल्ला, प्रदेश कमिटीबाट सिफारिसभन्दा बाहिरबाट टिकट दिएपछि बबन्डर मच्चिएको छ ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार तेस्रो सचिवालय बैठकले कञ्चनपुर क्षेत्र १ मा कमला बोहरा, २ मा बचनबहादुर सिंह र ३ मा डा. दीपकप्रकाश भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसअघि समानुपातिकतर्फ पनि जिल्लाबाट सिफारिस नगरेका नेताहरूलाई टिकट दिएपछि विवाद उत्पन्न भएको त्रुटि फेरि प्रत्यक्ष तर्फ पनि गरेपछि एमाले कञ्चनपुरमा बबन्डर मच्चिएको हो । समानुपातिकतर्फ जिल्लाबाट सिफारिस नै नपरेका केन्द्रीय सदस्यद्वय निरुदेवी पाल, कृपाराम रानालाई टिकट दिएपछि पहिल्यैदेखि समानुपातिकमा सिफारिस भएका उम्मेदवारदेखि नेता–कार्यकर्ताहरू रुष्ट रहेका थिए ।
स्थिरप्रसाद घिमिरे, फैरू तामाङ, चित्रा चौधरी, इकरानी राना, कुलवीर चौधरी, करमसाय राना, सुशीला सिंह, ज्ञानेन्द्र राना, रमिता राना (बडायक), चिनी गिरी, नन्दलाल चटौत, लक्ष्मी विक, तेज विकलाई सिफारिस गरे पनि हेभिवेटका नेता प्रत्यक्षभन्दा समानुपातिक गएर सुरक्षित अवतरण भएका छन् ।
अरूलाई विधि, प्रक्रिया, लोकतन्त्र सिकाउने एमाले कञ्चनपुरबाट समानुपातिक र प्रत्यक्षतर्फ ढोकाबाट गएकाहरूलाई लत्याउँदै झ्यालबाट गएकाहरूलाई स्वागत गर्न थालेपछि एमालेका बुद्धिजीवी शिक्षकहरूसमेतले कम्युनिस्टको नीति, आचरण सिद्धान्त, निष्ठाविरुद्धको काम भइरहेकाले यसले पार्टीलाई क्षति गर्ने बताइरहेका छन् ।
पार्टी केन्द्रको निर्देशनअनुरूप हरेक क्षेत्रबाट एक महिलासहित तीनजना सिफारिस गरिएको थियो । क्षेत्र १ मा निवर्तमान सांसद तारा लामा तामाङ, पार्टी केन्द्रीय सदस्य कमला बोहरा, पूर्वराष्ट्रिय सभा सदस्य इन्दु कडरिया विष्टलाई सिफारिस गरेको थियो । ०७९ मा सम्पन्न भएको स्थानीय तह निर्वाचन बेलौरी मेयरमा पराजित भएकी बोहरालाई पार्टीले पालिकाबाट सिधै संघीय टिकट दिएपछि उनीसँगै सिफारिस भएका नेताहरू असन्तुष्ट रहेको एमाले नेताहरूले बताएका छन् ।
क्षेत्र २ मा उम्मेदवार छान्न चुनाव नै भएको थियो । गत २० मंसिर ०८२ मा उम्मेदवार छान्न भएकाे चुनावमा सर्वाधिक मत ल्याएका बेदकोट नगरका पूर्वमेयर जो विवादरहित विकासवादी रूपमा अन्य पार्टीले समेत भरोसा गरेका नेता अशोककुमार चन्दले ६१, पूर्वसांसद नरबहादुर धामीले ५७ र तेस्रो नम्बरमा ५० मत ल्याएका राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष एवं ०७९ मा सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनमा तत्कालीन माओवादी उम्मेदवार ओमविक्रम भाट (सरल)सँग पराजित बचनबहादुर सिंहले टिकट पाएपछि पार्टीका नेता–कार्यकर्ताहरू रुष्ट रहेका छन् ।
महिलातर्फ पार्वती जोशीले ४४ मत ल्याएकी थिइन् । क्षेत्र ३ बाट एकल सिफारिसमा परेका पूर्वसांसद डा. दीपकप्रकाश भट्टलाई पार्टीले दोहोर्याएको छ । यसअघि भट्ट ०७४ मा तत्कालीन माओवादी केन्द्रसँग एकता गरेर कांग्रेस नेता रमेश लेखक पराजित गर्दै पहिलोपटक संसदमा डेब्यु गरेका थिए। क्षेत्र, जिल्ला, प्रदेशबाटै सिफारिसमा नपरेका एवं उम्मेदवार छनाेटमै पराजितलाई पहुँचका भरमा टिकट दिएसँगै भन्दै एमाले नेता–कार्यकर्ताहरू रुष्ट मात्रै होइन, यसबाट चुनावमा आउने दुर्घटनासमेत स्वयं पार्टी सचिवालयले जिम्मेवारी दिनुपर्ने बताउँछन् ।
जिल्लाका केही नेता–कार्यकर्ताले भने पटक–पटक उही नेता–कार्यकर्ताभन्दा यसपटक नयाँ युवालाई पनि पार्टीले जिम्मेवारी दिएकोसमेत बताइरहेका छन् । एमाले कञ्चनपुरकी अध्यक्ष लक्ष्मी बुढा उतिवेला क्षेत्रबाट उम्मेदवार छान्ने क्रममा जे–जस्तो भए पनि अहिले पार्टी केन्द्रले गरेको निर्णय आफूहरूले स्वीकार गर्नुपर्ने बताउँछिन । ‘उम्मेदबार छनाेटका क्रममा क्षेत्रमा हार्दैमा उसले टिकट नपाउने भन्ने होइन,’ उनले भनिन्, ‘त्यो एक प्रक्रिया थियो, अब पार्टीले गरेको निर्णय हामी सबैले मान्नुपर्छ ।’