नेकपा एमालेले बागमती प्रदेशका ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २७ स्थानका उम्मेदवार टुंग्याउँदा ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम तय गर्न सकेको छैन। ती क्षेत्रका उम्मेदवार पार्टी अध्यक्ष केपी ओलीले स्वयं टुंग्याउने भन्दै हाललाई ‘होल्ड’ गरिएको हो।
एमालेका अनुसार काभ्रे २, काठमाडौं ४, ५, ७, ९ र ललितपुर ३ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाउन बाँकी छ। यी क्षेत्रलाई राजनीतिक र रणनीतिक रूपमा संवेदनशील मानिँदै आएको छ।
काभ्रे २ बाट प्रतिनिधिसभा उम्मेदवारका लागि गोकुल बाँस्कोटाको नाम एकल सिफारिस भएर केन्द्रमा पुगेको छ। पुस २१ गते बसेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय समन्वय कमिटी बैठकले बाँस्कोटालाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जिल्ला कमिटीले पनि उनको नाम एकल सिफारिस गरेको एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले बताए।
काभ्रे एमालेका प्रभावशाली नेता मानिने बाँस्कोटाले हालै सम्पन्न एमाले महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका थिए। तर, उनी पराजित भए। काभ्रे २ को उम्मेदवारीमा उनको नाम एकल सिफारिस भए पनि अन्तिम निर्णय अध्यक्ष ओलीले गर्ने भन्दै हाललाई होल्डमा राखिएको हो। यसैबिच काभ्रे १ बाट भने १० जनाको नाम सिफारिस भएकामा अमित लामालाई टिकट दिइएको छ।
यता काठमाडौं ४ मा पनि एमालेले उम्मेदवार टुंग्याउन सकेको छैन। यस क्षेत्रबाट एमाले नेता राजन भट्टराईदेखि उषाकिरण भण्डारीसम्म १३ जनाको नाम सिफारिस गरेको थियो। जिल्ला र क्षेत्रीय कमिटीको सुझावसहित राजन भट्टराईको नाम पहिलो प्राथमिकतामा सिफारिस गरिएको एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले बताए।
भट्टराई ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए। तर, उनी कांग्रेसका उम्मेदवार गगन थापासँग पराजित भएका थिए। उक्त निर्वाचनमा थापाले २१ हजार ३०२ मत ल्याउँदा भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका थिए। ०७४ सालको निर्वाचनमा पनि उनी थापासँगै प्रतिस्पर्धा गर्दै पराजित भएका थिए। तेस्रोपटक पनि भट्टराईकै नाम पहिलो नम्बरमा सिफारिस भए पनि अन्तिम निर्णय अझै भएको छैन।
काठमाडौं ५ मा एमाले वरिष्ठ नेता ईश्वर पोखरेलको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ। पोखरेलसहित आठजनाको नाम सिफारिस भए पनि उनी इच्छुक नभए मात्रै अन्य आकांक्षीलाई अवसर दिने सर्तसहित नाम पठाइएको जिल्ला अध्यक्ष निरौलाले बताए। यद्यपि, पोखरेलको नाम पनि अध्यक्ष ओलीले होल्ड गरेका छन्।
०७९ को निर्वाचनमा यही क्षेत्रबाट पोखरेलले कांग्रेसका प्रकाशशरण महतलाई १० हजारभन्दा बढी मतान्तरले पराजित गर्दै जित हासिल गरेका थिए। पोखरेलले २३ हजार २९ मत प्राप्त गर्दा महतले १३ हजार ६९ मत पाएका थिए। विशेष महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका पोखरेलको उम्मेदवारीलाई लिएर पार्टीभित्र थप छलफल आवश्यक ठानिएको स्रोतको भनाइ छ।
काठमाडौं ७ मा पनि टिकट होल्ड भएको छ। यस क्षेत्रबाट बागमती प्रदेश सभा सांसद प्रकाश श्रेष्ठ, रघुजी पन्तलगायत ११ जनाको नाम सिफारिस गरिएको छ। प्रदेश सांसद श्रेष्ठको नाम पहिलो नम्बरमा सिफारिस भए पनि अन्तिम निर्णय हुन सकेको छैन। ०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका थिए। त्यतिवेला एमाले उम्मेदवार श्यामकुमार घिमिरे एक हजार ९४३ मतान्तरले पराजित भएका थिए। घिमिरेको नाम यसपटक दोस्रो नम्बरमा सिफारिस गरिएको एमाले काठमाडौं अध्यक्ष निरौलाले जानकारी दिए।
काठमाडौं ९ मा पनि उम्मेदवार टुंगो लागेको छैन। यहाँ एमाले नेता अजयक्रान्ति शाक्य, कृष्णगोपाल श्रेष्ठदेखि बागमती प्रदेश सभा सांसद केशवप्रसाद पोखरेलसम्म सातजनाको नाम सिफारिस गरिएको छ। २०७९ को निर्वाचनमा यस क्षेत्रबाट कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए। उनले रास्वपाका टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले पराजित गरेका थिए। यद्यपि, यसपटक श्रेष्ठको नाम दोस्रो नम्बरमा सिफारिस गरिएको छ।
ललितपुर ३ मा पनि एमालेले उम्मेदवार होल्ड गरेको छ। जिल्ला अध्यक्ष पुरुषोत्तम ढुंगाना, केन्द्रीय सदस्य डा. टीका ढकाललगायत सातजनाको नाम सिफारिस गरिएको भए पनि अन्तिम निर्णय भएको छैन। ०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रास्वपाकी तोसिमा कार्की विजयी भएकी थिइन्। उक्त निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका अमृत खड्काले १२ हजार ९६३ मत प्राप्त गर्दै पराजित भएका थिए। यसपटक भने खड्काको नाम सिफारिसमा परेको छैन।
एमाले स्रोतका अनुसार यी ६ निर्वाचन क्षेत्रको उम्मेदवारी पार्टी अध्यक्ष ओलीले राजनीतिक समीकरण, जितको सम्भावना र समग्र रणनीतिका आधारमा अन्तिम टुंगो लगाउनेछन्।