‘हामी नेपाल’का संयोजक सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएका छन्। बालेन शाहसँगै रास्वपा प्रवेश गर्न लागेको गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
रास्वपा प्रवेशको निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट लिएको उनको भनाइ छ। जनताले मागेको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको उल्लेख गर्दै उनले जनहितलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारेका छन्।
‘आज दिउँसो ३ः३० बजे, बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै छौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो। तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ। जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ र परिवर्तनलाई स्थायी बनाइनेछ। यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ,’ गुरुङले फेसबुकमा लेखेका छन्।