अमेरिकाको सम्भावित हमलाप्रति इरानको तयारी कस्तो छ ?

आइतबार, ४ माघ, २०८२
डिजिटल संस्करण
  • अहअमेरिकी पानीजहाजदेखि हवाई आधारलाई मिसाइल हमलादेखि अमेरिकी अखडामा रणनीतिक हमला गरेर तेहरानले वासिंटनलाई जवाफ दिनेछ

इरानमा राष्ट्रव्यापी हिंसा र सामूहिक विरोधका रिपोर्ट कम हुँदै जाँदा अमेरिकी हस्तक्षेपको भावना अलि कम भएको देखिन्छ, तथापि साम्य भएको छैन । यसको अर्थ सैन्य विकल्प हराएको छैन । मंगलबारको सुरुवातमै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विकल्प अगाडि राखेको बताइन् । उनले अगाडि भनिन्, ‘हवाई हमला तीमध्ये एक हुन् ।’ कूटनीति पहिलो विकल्प भएको उनको भनाइ थियो । ट्रम्पले इरानी अधिकारीसँगको बैठक रद्द गर्दै सजायको धम्की दिँदै विरोध प्रदर्शन जारी राख्न आग्रह गरिरहेका वेला यो कुरा भनिएको थियो ।

जे होस्, सम्पूर्ण खाडी क्षेत्र अराजक समयका लागि आफूलाई तयार गरिरहेको छ । जब एक अमेरिकी राष्ट्रपतिले अर्को देशका प्रदर्शनकारीलाई संस्थाहरू कब्जा गर्न आग्रह गर्छन्, विद्रोहीसँग वार्ताका लागि तयार हुन्छन् र विपक्षीका नारालाई आफ्नै रूपमा लिन्छन्, यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । उनको नारा, ‘इरानलाई फेरि महान् बनाउनुहोस्’लाई ह्वाइट हाउसले आफूलाई इरानको आन्तरिक राजनीतिक संकटभित्र एक सक्रिय खेलाडीको रूपमा हेर्छ भनेर बुझ्नुपर्छ, न कि कुनै टाढाको पर्यवेक्षकका रूपमा ।

पहिले नै तनावमा रहेको इरानको नेतृत्वले तुरुन्तै प्रतिक्रिया जनायो । इरानको संसद्का सभामुख मोहम्मद बागेर कालिबाफले चेतावनी दिए कि यदि उनको देशमा आक्रमण भयो भने यस क्षेत्रभरि रहेका अमेरिकी सैन्य अड्डा, जहाज र सम्पत्ति निसानामा हुनेछन् । प्रारम्भिक आक्रमणपछि त्यसको जवाफ दिन इरानले नपर्खने उनको भनाइ थियो । के यो घरेलु दर्शकलक्षित धम्की हो ? यो स्पष्ट छैन । तर, यसले खाडी क्षेत्रमा अन्तत: हुने युद्धको लागत बढाउँछ ।

मध्यपूर्वमा अमेरिकी उपस्थिति
खाडी किन यति धेरै चिन्तित छ भनेर बुझ्नका लागि इरानले के संकेत गरिरहेको छ भनेर व्याख्या गर्न उपर्युक्त हुन्छ । अमेरिकाले यस क्षेत्रमा घना सैन्य उपस्थिति कायम राखेको छ । कतारमा, यसको अल उदेइद एयर बेस छ, जुन मध्यपूर्वमा सबैभन्दा ठुलो अमेरिकी एयर बेस र अमेरिकी केन्द्रीय कमान्डअगाडिको मुख्यालय हो, जुन यस क्षेत्रभरि हवाई सञ्चालनका लागि महत्वपूर्ण छ । बहराइनमा अमेरिकी नौसेनाको संयुक्त राज्य अमेरिकाको पाँचौँ फ्लिटको मुख्यालय छ, जसले फारसी खाडी, लाल सागर, अरब सागर र हिन्द महासागरका केही भागमा नौसेनाको निरीक्षण गर्छ । कुवेतले दसौँ हजार अमेरिकी सेना र बन्दोबस्तीका सामान राखेको छ । हालैका वर्षमा उनीहरूको पुन: तैनाथीपछि साउदी अरेबियाले फेरि अमेरिकी कर्मचारी र हवाई रक्षा सम्पत्तिको अखडा बनेको छ । संयुक्त अरब इमिरेट्सले अमेरिकी सेनाले प्रयोग गर्ने बन्दरगाह र एयरफिल्डमा पहुँच प्रदान गर्छ भने अमेरिकी युद्धपोतले नियमित रूपमा खाडी र वरपरका सागरमा गस्ती गर्छन् । यी निश्चित दृश्यात्मक लक्ष्य हुन् । यदि वासिंटनले आक्रमण गर्छ भने तेहरानले नक्सामा लक्ष्यहरू खोज्नुपर्नेछैन । ती इरानी मिसाइल दायराभित्र छन् र सैद्धान्तिक रूपमा आक्रमण हुने सम्भावना छ । 

अमेरिका र बेलायतको पछिल्लो कदमलाई बुझ्न गाह्रो छ । दुवै देशले कतारको अल उदेइद हवाई अड्डामा कर्मचारी घटाउँदै छन् । बेलायतले पनि आफ्नो अडान कडा बनाएको छ । यसले तेहरानमा रहेको बेलायती दूतावासलाई अस्थायी रूपमा बन्द गरेको छ । के यो सैन्य कदमको संकेत हो ? भन्न गाह्रो छ ।

प्रति–प्रभाव
त्यसो भए ट्रम्पले इरानभित्र प्रत्यक्ष कारबाही गरे के हुन सक्छ ? यदि उनले हमलाको अधिकार दिए भने इरानभित्रको पहिलो प्रभावले मुल्लाहहरूको शासनको पतन नहुन सक्छ । यसविपरीत यसले एकीकरणमा परिणाम ल्याउन सक्छ । सबै सम्भावनामा राष्ट्रवादले विद्रोहीको मागलाई ओझेलमा पार्नेछ । राज्यको अस्तित्व मूल मुद्दा बन्नेछ । प्रदर्शनकारीलाई अमेरिकीलाई सहयोग गरेको र देशद्रोहको आरोप लगाइनेछ (पश्चिमी मिडियालाई विश्वास गर्ने हो भने २५० भन्दा बढीलाई पहिले नै पहिचान गरी मुद्दा चलाइएको छ) ।

यदि अमेरिकाले इरानमाथि आक्रमण गर्छ भने के यसले पश्चिमी शैलीको लोकतन्त्रलाई नजिक ल्याउँछ ? यसले इरानमा अझ असन्तोष बढाउनेछ । साथै, वैध गुनासालाई बदनाम गर्नेछ । यसले कट्टरपन्थीलाई स्थापित गर्न सक्छ । यसले विदेशी हस्तक्षेपबारे इरानीले पहिले नै राखेका हरेक शंकालाई पुष्टि गर्नेछ । यो दु:खद विडम्बना हो । 

वासिंटनले प्रदर्शनकारीलाई जति ठुलो स्वरमा जयजयकार गर्छ, तेहरानले त्यति नै आफ्नो पकड बलियो बनाउँछ । भित्रबाट शासनमा उथलपुथल नल्याएसम्म प्रतीकात्मक सैन्य हमलाले आफ्नो उद्देश्य प्राप्त गर्न सक्दैन । हामीसँग यस क्षेत्रमा उदाहरण छन् । इरान र रुसी सहयोगमा बलियो देखिने सिरियाली बसर अल–असदको शासनमाथि निरन्तर दबाब र अन्तत: सत्ता ढलेपछि असदको रुस पलायन ।

अमेरिकासँग विकल्पैविकल्प
तार्किक रूपमा अमेरिकासँग प्रशस्त विकल्प छन् । तर, मलाई डर छ, ती सजिला छैनन् । ऊसँग लामो दूरीको बमवर्षक छन् । ऊसँग क्रुज मिसाइल छन् । उसले साइबर अप्रेसन र वास्तवमा दशकौँदेखि परीक्षण गरिएको विधि र गुप्त कारबाहीको सहारा लिन सक्छ । सबै सम्भव छन् । इरान ठुलो छ । इरान सैन्यीकृत छ । यो युद्धको मामिलामा कठोर छ । यसले यो परिदृश्यको तयारी गर्न दशकौँ बिताएको छ । तर, आज सबैभन्दा कमजोर अवस्थामा छ । तर पनि सीमित हमलाले इरानको क्षमतालाई असर गर्दैन । इरानको प्रतिक्रिया सम्भवत: समान रूपमा हुनेछ । प्रतीकात्मक हमलाले प्रतीकात्मक प्रतिक्रियालाई निम्तो दिनेछ । एक निरन्तर अभियानका लागि पहिले नै अमेरिकी सम्पत्तिले भरिएको क्षेत्रमा निरन्तर सुरक्षा आवश्यक पर्छ ।

खाडीमा रहेका हरेक अमेरिकी आधार उच्च सतर्कतामा रहनेछन् । हरेक जहाज निसाना बन्नेछन् । साथै, हरेक आपूर्ति मार्ग सम्भावित रूपमा कमजोर हुन सक्छन् । इरानले अमेरिकालाई सैन्य रूपमा पराजित गर्न आवश्यक छैन, यो सक्दैन पनि । तेहरान विश्वास गर्छ कि यसले केवल रणनीतिक कदम चाल्न आवश्यक छ । यसले वर्षौंको प्रतिबन्ध, एक्लोपन र द्वन्द्वमा यसलाई परिष्कृत गरेको छ ।

क्षेत्रीय परिणाम तत्काल देखिनेछन् । ती पहिले नै महसुस भइसकेका छन् । खाडी तनावग्रस्त छ । डर यो छ कि ढुवानी लेन खतरामा पर्नेछन् । बिमा लागत बढ्नेछ । ऊर्जा बजारमा अराजकता हुन सक्छ । खाडी राज्यले सार्वजनिक रूपमा संयम अपनाउन आग्रह गर्नेछन्, जबकि निजी रूपमा नतिजाका लागि तयारी गर्नेछन् । इजरायली आक्रमणबाट कमजोर इरानसँग गठबन्धन गरेका मिलिसियाले अझै पनि खतरा खडा गर्नेछन् । तिनीहरूलाई आदेशको आवश्यकता पर्दैन । तिनीहरू यही उद्देश्यका लागि तयारी अवस्थामा छन्, एउटा आधारमा एउटा हमला । अर्कोमा ड्रोन आक्रमण । एउटा गलत निर्णय गरिएको प्रतिक्रिया । आक्रमण रणनीतिकभन्दा यान्त्रिक हुनेछ ।

रुसले कसरी फाइदा लिन्छ ?
क्षेत्रभन्दा बाहिर विश्वव्यापी परिणाम उत्तिकै गहिरा हुनेछन् । रुसले परिणामस्वरूप उत्पन्न अराजकताबाट चुपचाप लाभ उठाउने आशा राख्नेछ । उसले पहिले नै अमेरिकालाई चेतावनी दिइसकेको छ कि उसको सैन्य कारबाहीले संसारलाई अस्थिर बनाउन सक्छ । रुसले आशा गरिरहेको हुनुपर्छ कि विचलित अमेरिकाले युक्रेनमा आफ्नो सैन्य अभियानमा दबाब कम गर्नेछ । बयानबाजीको रूपमा चीनले विद्यमान अराजकतामा आर्थिक रूपमा शोषण गर्दै महत्वपूर्ण शक्तिको भूमिका खेल्नेछ । यसले इरानसँग गैरडलर ऊर्जा व्यापारलाई तीव्र पार्ने र वासिंटन विश्वव्यापी अस्थिरताको मुख्य स्रोत हो भन्ने भाष्य अझ बलियो बनाउने प्रयास गर्न सक्छ ।

अहमद लन्डनस्थित वरिष्ठ भारतीय पत्रकार हुन्, उनीसँग पश्चिमी मिडियामा तीन दशकको अनुभव छ ।

–एनडिटिभीबाट

सुझावित समाचार