पुटिन युक्रेनमा अल्झिँदा एक्लिँदै उनका मित्र

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण
  • सबैभन्दा आवश्यक समयमा समेत समर्थन नपाएकाले रुससितको सम्बन्धमाथि नै पुनर्विचार गर्नुपर्ने निष्कर्षमा उसका साझेदार पुगेका छन्

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा जारी युद्धमा अल्झिँदा विश्वभरका रुसका रणनीतिक सहयोगीले उपेक्षित महसुस गर्न थालेका छन् । रुसका केही मित्रले त रुसले आफूहरूलाई संकटको समयमा समेत बेवास्ता गरेको गुनासो गरेका छन् । जस्तो, भेनेजुएलाका सत्तारुढ दल र त्यसका पदाधिकारी अहिले मस्कोसँगको वर्षौं लामो सुरक्षा सम्बन्ध ‘कागजी बाघ’ मात्र रहेको निचोडमा पुगेका छन् । 

रुसबाट सहयोग नपाएको महसुस गर्ने देशमा भेनेजुएला एक्लो छैन । विगत १३ महिनाभित्र दमास्कस र तेहरानदेखि हवानासम्मका क्रेमलिनका मित्रलाई रुससँगको घनिष्ठ सम्बन्धले कुनै लाभ गरेको देखिएन । प्राय: अधिनायकवादी शासन रहेका ती देशका शासक सबैभन्दा आवश्यक समयमा समेत रुसको समर्थन नपाएकाले सम्बन्धमाथि नै पुनर्विचार गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । कुनै समय रुसले सैन्य समर्थन दिएका सिरियाली तानासाह बसर अल–असद सन् २०२४ को अन्त्यतिर देश छाडेर भाग्न बाध्य भए । उसो त असद सत्ताच्युत भएपछि मस्कोले शरण त दियो, तर उनको शासन बचाउन क्रेमलिन अगाडि आएन । त्यस्तै, रुसको अर्को मित्र क्युबाले आर्थिक सहायताको अभावमा चरम मानवीय संकटको सामना गरिरहेको छ । केही विज्ञले क्युबाली शासनको पतनको भविष्यवाणी गर्न थालेका छन् । उता, गत वर्ष अमेरिकाले इरानमाथि बमबारी गरेको थियो । देशभित्र बढ्दो विरोधबिच सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको शासनमाथि अमेरिकी सैन्य कारबाहीको खतरा अझै टरेको छैन । आफ्ना मित्रहरू संकटमा पर्दासमेत रुसले सहयोगको हात बढाएको देखिन्न ।

रुसी बेवास्ताको सबैभन्दा शक्तिशाली प्रतीक भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरो बने, जो अहिले न्युयोर्कको जेलमा कैद छन् । भेनेजुएलाको सुरक्षा संयन्त्रले आफ्ना राष्ट्र प्रमुखलाई अमेरिकाले कसरी पक्राउ गर्यो भन्ने अध्ययन गर्दा क्युबाली र रुसी साझेदारको कमजोरी फेला पारेका छन् । अहिले भेनेजुएलाका अधिकारी निजी भेटघाटमा यस विषयप्रति निराशा व्यक्त गर्छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा बारम्बार मदुरोलाई सत्ताच्युत गर्ने चेतावनी दिइरहेका थिए । त्यस्तो खुला घोषणाका बाबजुद भेनेजुएलाका दुई मित्रशक्ति क्युबा र रुसको गुप्तचर एजेन्सीले मदुरोको सुरक्षाको कमजोर पक्ष पहिल्याउन नसकेको र आक्रमणको पूर्वानुमान गर्न नसकेको काराकसका अधिकारी बताउँछन् । भेनेजुएलाले आफ्नो सुरक्षाको महत्वपूर्ण हिस्साको जिम्मा ती दुई देशलाई दिएको थियो । 

पक्राउ पर्नुअघि मदुरोको व्यक्तिगत सुरक्षाको अधिकांश जिम्मेवारी भेनेजुएलाले क्युबाली गुप्तचर अधिकारीलाई सुम्पेको थियो । अमेरिकी अप्रेसनका क्रममा ३२ क्युबाली नागरिकको मृत्यु भएको क्युबाली सरकारको घोषणाले पनि यही तथ्यमाथि प्रकाश पार्छ । पछिल्लो असफलतापछि भेनेजुएलाले रुस तथा क्युबामाथिको सुरक्षा निर्भरतामाथि प्रश्न गर्न थालेको छ । त्यसबाहेक अहिले भेनेजुएलामा त्यहाँको हवाई क्षेत्रको सुरक्षामा तैनाथ गरिएको रुसी एस–३०० र बुक–एम २ वायु–प्रतिरक्षा प्रणालीको असफलताबारे पनि बहस चलिरहेको छ । 

रुसले भेनेजुएलालाई दिएको प्रतिरक्षा प्रणालीको प्रभावकारी सञ्चालन गर्न पर्याप्त प्राविधिक सहयोग प्रदान नगरेको अधिकारीहरूको गुनासो छ । भेनेजुएलाको साइबर–प्रतिरक्षाको प्राविधिक जिम्मेवारी पनि रुसलाई दिइएको थियो । तर, मदुरोलाई पक्राउ गर्ने अप्रेसनका वेला अमेरिकाले साइबर आक्रमणमार्फत राजधानी काराकसको ठुलो हिस्सामा बिजुली अवरुद्ध गरेको देखियो । यसमा पनि रुसी निर्भरताले काम गरेन । 

यी घटनाको परिणामस्वरूप भेनेजुएला, क्युबा र रुसबिच कायम सुरक्षा साझेदारी टुट्ने अवस्थामा पुगेको छ । सम्भवत: यसैले मदुरोको अपहरणपछि भेनेजुएलाकी राष्ट्रपति पद सम्हालेकी डेल्सी रोड्रिगेजले अमेरिकी सहयोगका प्रस्तावलाई स्वीकार गर्नुबाहेक अन्य विकल्प नरहेको ठानिन् । 

भेनेजुएलामा अमेरिकी कारबाहीको यति दिनपछि यस घटनाबारे पुटिनले हालसम्म कुनै सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् । उसो त रुसी विदेश मन्त्रालयले औपचारिक विज्ञप्ति जारी गर्दै मदुरोको अपरहण अन्तर्राष्ट्रिय कानुनका प्रमुख सिद्धान्तविरुद्ध रहेको भन्दै विरोध जनाएको थियो । ट्रम्पले मदुरोलाई अपहरण गरेको घटनाप्रति रुस असन्तुष्ट रहे पनि पछिल्लो समय क्रेमलिनका लागि भेनेजुएलाभन्दा अमेरिकी राष्ट्रपति ट्रम्पसँगको सम्बन्ध बढी महत्वपूर्ण बनेको छ । युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा ट्रम्पले प्राय: क्रेमलिनकै अडानलाई समर्थन गरिरहेको सन्दर्भमा उनीहरू वर्तमान अमेरिकी प्रशासनलाई चिढ्याउन चाहँदैनन् । 

मदुरोको पक्राउ रुसका लागि अप्रिय घटना भए पनि यो उसका लागि विपत्ति नै चाहिँ थिएन । बरु रुसका लागि इरान बढी गम्भीर मुद्दा हो । किनकि, तेहरानसँग रुसी सहयोग धेरै बलियो छ, जुन सैन्य तहमै छ । तर, इरानको हकमा पनि रुसले सार्वजनिक रूपमा समर्थन त गर्न सक्छ, तर त्यहाँ पनि ऊ गहिरो रूपमा संलग्न हुने सम्भावना देखिँदैन । विशेषत: युक्रेन युद्ध अन्त्य गर्ने रुसी प्राथमिकताबिच ऊसँग अहिले बाह्य क्षेत्रमा प्रभावकारी कदम चाल्न सक्ने क्षमता पनि सीमित छ । 

क्रेमलिन अहिले अमेरिकाको सहयोगमा युक्रेनलाई कुनै छुट नदिई त्यहाँ चलिरहेको युद्ध अन्त्य गर्ने कुरामा यति केन्द्रित छ कि ऊ आफ्ना विदेशी मित्रका घटनामा संलग्न भएर अमेरिकालाई चिढ्याउन चाहँदैन । यसले गर्दा रुसका अन्य रणनीतिक साझेदार रुसको सहयोगमा विश्वस्त हुन सक्ने अवस्था छैन । 

ब्लुमबर्गबाट

सुझावित समाचार