कांग्रेस बैठक : पूर्ण एकतासाथ निर्वाचनमा सहभागी हुन आह्वान

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले पूर्ण एकतासाथ निर्वाचनमा सहभागी हुन शेरबहादुर देउवा समूहसहित सबैमा आह्वान गरेको छ । निर्वाचन आयोगले कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको उल्लेख गर्दै बैठकले एकता, सद्भाव र सहकार्यमा जोड दिएको छ । 

संस्थापनले संसदीय बोर्डमार्फत उम्मेदवार चयनको मापदण्ड बनाउने र देउवा समूह तथा डा. शेखर कोइराला समूहलाई पनि समेटेर उम्मेदवार तय गर्नेभएको छ । ‘यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश–विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समितिहरू र सबै भ्रातृ तथा शुभेच्छुक संस्थाका साथीहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन हार्दिक आह्वान गरिन्छ,’ कांग्रेस प्रवक्ता देवराज चालिसेले बैठकपछि भने । 

बैठकले पार्टीबाट निष्क्रिय रहेका, पार्टी छाडेका नेता–कार्यकर्तालाई पुन: पार्टीमा जोडिन आह्वानसमेत गरेको चालिसेले बताए । संस्थापन पक्षले निवर्तमान सभापति शेरबहादुर देउवालगायत नेताहरूले कांग्रेसको नेतृत्वमा रही लामो समयदेखि पुर्‍याएको योगदानको उच्च कदर गरेको छ । देउवाको अभिभावकीय भूमिकाको पनि कांग्रेसले अपेक्षा गरेको चालिसेले बताए । 

मतभेद बिर्सौँ, एकता कायम गरौँ : सभापति थापा
कांग्रेस सभापति गगनकुमार थापाले विगतका तिक्तता र मतभेद बिर्सेर कांग्रेसलाई बलियो बनाउन सबैलाई आह्वान गरेका छन् । ‘निर्वाचन आयोगको निर्णय लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएकाले यसलाई स्वीकार गरेर अगाडि बढ्नुको विकल्प छैन । हामी पार्टीभित्रका अग्रज नेताहरूको अनुभव र नयाँ युवाहरूको ऊर्जालाई जोडेर अघि बढ्न प्रतिबद्ध छु,’ निर्वाचन आयोगले मान्यता दिएपछि आयोजित केन्द्रीय समिति बैठकअघि थापाले सञ्चारकर्मीसँग भने, ‘निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका पार्टीका लागि आवश्यक छ । म एक–दुई दिनभित्रै सिंगो कांग्रेस एक ठाउँमा उभिने वातावरण बताइरहेको छु । मलाई विश्वास छ, तपाईंहरूले त्यो परिस्थिति देख्न पाउनुहुनेछ ।’ 

उनले ६ माघसम्म प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने समयको चाप रहेको उल्लेख गर्दै सबै पक्षलाई समेटेर अघि बढ्ने बताए । ‘आन्तरिक एकता नै अहिले पार्टीको मुख्य शक्ति हो । सभापतिज्यूले अब मुद्दा–मामिलातिर नलाग्न सबैलाई आह्वान गर्नुहोस् भन्ने हाम्रो आग्रह छ,’ थापाले भने ।

देउवासँग कांग्रेस सभापति र उपसभापतिको भेट
कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले शनिबार पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग देउवानिवास महाराजगन्जमा भेटवार्ता गरेका छन् । उनीहरूबिच शिष्टाचार भेट भएको र पार्टी सुदृढीकरणबारे छलफल भएको कांग्रेस महामन्त्री गुरुराज घिमिरे र प्रवक्ता देवराज चालिसेले नयाँ पत्रिकासँग बताए । ‘सभापतिज्यूले निवर्तमान सभापतिज्यूसँग भेटवार्ता गर्नुभएको हो । नेताहरूसँग हुने यस्ता भेटहरू नियमित प्रकारका हुन् । सभापतिज्यूले अन्य नेताहरूसँग पनि भेट्नुहुनेछ,’ प्रवक्ता चालिसेले नयाँ पत्रिकासँग भने, ‘आफ्नै नेतासँगको शिष्टाचार भेट हो ।’ सभापति थापाले निर्वाचन आयोगको निर्णय स्वीकार गरेर पार्टीलाई एकताबद्ध हुन सबैलाई आह्वान गरिदिन निवर्तमान सभापति देउवासँग शनिबार सार्वजनिक रूपमा आह्वान गरेका थिए । 

निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको नयाँ केन्द्रीय समितिलाई मान्यता दिँदै कांग्रेसको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेपछि सभापति थापा र निवर्तमान सभापति देउवाबिच भएको पहिलो भेटवार्ता हो । उनीहरूबिच पछिल्लो भेट बुधबार भएको थियो । त्यही दिन थापा, शर्मा र तत्कालीन सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई देउवा समूहले पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको थियो । त्यही राति विशेष महाविधेशनको बन्दसत्रले थापालाई पार्टीको सभापति निर्वाचित गरेको थियो । बन्दसत्रले थापाको नेतृत्वमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

सुजाताले भनिन्– परिवर्तनलाई आत्मसात् गरौँ, पार्टी फुटेको छैन
कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेसमा नेतृत्व परिवर्तनलाई खुसीसाथ स्वीकार गर्न कांग्रेसको असन्तुष्ट पक्षलाई आह्वान गरेकी छिन् । शनिबार भिडियो सन्देश जारी गर्दै कोइरालाले पार्टी सभापति गगन थापालाई बिपीको विचार तथा गिरिजाप्रसाद कोइरालाको संगठनलाई नबिर्सन पनि आग्रह गरेकी छिन् । ‘देशमा धेरै परिवर्तन आएको छ । कांग्रेसमा पनि परिवर्तन आएको छ । पार्टी फुटेजस्तो मलाई अनुभूति भएको छैन । नयाँ सभापति आउनुभएको छ, अलिक छिटो आउनुभयो त्यत्ति मात्रै फरक हो,’ कोइरालाले भनिन्, ‘तपाईं अगाडि बढ्नुहोस् । कांग्रेसलाई राम्रो गर्नुस् । सम्पूर्ण कांग्रेसले तपाईंलाई साथ दिनेछ । पार्टी फुटेको छैन, दिक्क नमान्नुस्, परिवर्तनलाई खुसीसाथ स्विकार्नुस् ।’

सुझावित समाचार