माघेसंक्रान्तिको अवसरमा धनकुटाको चौबिसे गाउँपालिकामा सम्पन्न तेस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक त्रिवेणी खेलकुद विकास समितिले जितेको छ।
त्रिवेणी खेलकुद विकास समितिको आयोजनामा चौबिसे गाउँपालिका–४ र ५ को संगमस्थल हंस मोरङमा पुरुष भलिबल प्रतियोगिता भएको थियो। उक्त प्रतियोगितामा कोशी प्रदेश प्रहरीलाई पराजित गर्दै आयोजक त्रिवेणी खेलकुद विकास समितिले उपाधि चुमेको हो। फाइनल खेलमा त्रिवेणीले कोशी प्रदेश प्रहरीलाई २३–२५, २५–२२, २१–२५, २५–२१ र १५–७ को सेटमा पराजित गरेको हो।
आयोजक त्रिवणी खेलकुद विकास समितिले उपाधि जितेसँगै नगद एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी र प्रमाण–पत्र हात पारेको छ भने उपविजेता कोशी प्रदेश प्रहरीले नगद ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझाएको छ। खेलका सर्वोत्कृष्ट खेलाडी आयोजकका प्रदीप कटेल घोषित भए। उनले नगद दुई हजार ५०० प्राप्त गरे।
कोशी प्रदेशका ६ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा उत्कृष्ट लिब्रो कोशी प्रदेश प्रहरीका युगल मगर, उत्कृष्ट सटर आयोजकका जितेश राई, उत्कृष्ट ब्लकर कोशी प्रहरीका ऋषि घिमिरे र उत्कृष्ट स्पाइकर आयोजकका रविन गौतम घोषित भएको आयोजक समितिका संयोजक रोशन भण्डारीले बताए। उनीहरूलाई जनही नगद दुई हजार रुपैयाँले पुरस्कृत गरिएको थियो ।