पथलैया–निजगढ सडकखण्डमा इभी माइक्रोबसमा आगलागी, सबै यात्रु सकुशल

शनिबार, ४ माघ, २०८२
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा शनिबार बिहान गुडिरहेको इभी माइक्रोबसमा आगलागी भएको छ। आगलागीबाट माइक्रोबस पूर्ण रूपमा जलेर नष्ट भए पनि सवार सबै यात्रु भने सकुशल रहेका छन्।

पोखराबाट काकरभिट्टातर्फ जाँदै गरेको नेपाल यातायात प्रालिको प्र. १–०१–००१ ख ४७२० नम्बरको इभी माइक्रोबसमा बिहान करिब ३ः३० बजे आगो लागेको हो। घटना जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित सहजनाथ मन्दिर जाने बाटोअगाडि भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

माइक्रोबसमा १४ जना यात्रु सवार थिए। सवारीसाधनबाट अचानक आगो सल्किएको देखेपछि चालकले तत्काल गाडी सडकछेउमा रोकी सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए। आगलागीबाट माइक्रोबस पूर्ण रूपमा जलेको भए पनि यात्रुहरू र उनीहरूका सामानमा कुनै क्षति नभएको जनाइएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले राजमार्गमा अलपत्र परेका यात्रुहरूको उद्धार गरी वैकल्पिक सवारीसाधनको व्यवस्था गर्दै उनीहरूलाई गन्तव्यतर्फ पठाएको थियो।

प्रमुख प्रहरी निरीक्षक लामिछानेका अनुसार माइक्रोबसमा विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार