नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनमार्फत सभापतिमा निर्वाचित गगन थापालाई बधाई दिँदै पार्टी विभाजन नभई समयअनुसारको परिवर्तन भएको स्पष्ट पारेकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले परिवर्तनलाई सहज रूपमा स्विकार्न र त्यसको पक्षमा उभिन सबैलाई आग्रह गरिन्। उनका अनुसार नेपाली समाज, जनता र विशेष गरी युवापुस्ताले नयाँपन खोजिरहेको अवस्थामा कांग्रेसभित्र आएको नेतृत्व परिवर्तन स्वाभाविक प्रक्रिया हो।
कोइरालाले भनिन्, 'नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भएको हो, पार्टी फुटेको होइन। परिवर्तनलाई डर होइन, मुस्कानसहित स्वागत गर्नुपर्छ।' नयाँ सभापति थापालाई बधाई दिँदै उनले बिपी कोइरालाको विचारधारा र गिरिजाप्रसाद कोइरालाको संगठनात्मक शैलीलाई आत्मसात गरेर पार्टी अगाडि बढाउन सुझावसमेत दिइन्।
उनले पार्टीभित्र अनावश्यक आशंका नगर्न, कानुनी व्याख्यामा अत्यधिक अल्झिनुनपर्ने र कसैले पनि आत्तिनु वा डराउनुनपर्ने बताइन्। परिवर्तनले अवसर ल्याउने भएकाले सबैले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने उनको धारणा थियो।