अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जसरी पनि ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने अडानले अहिले पश्चिमी गठबन्धन तरंगित छ । डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्ड अमेरिकी सुरक्षाका लागि महत्वपूर्ण रहेको दाबी गर्दै ट्रम्पले जुनसुकै उपायबाट भए पनि लिइछाड्ने खुला घोषणा गरेका छन् । उता अमेरिकी घोषणाले युरोपेली मित्रशक्ति चिढिएका छन् । युरोपेली नेताले ग्रिनल्यान्डलाई बलपूर्वक नियन्त्रण लिने प्रयास गरे पश्चिमी शक्तिबिचको सैन्य गठबन्धन नेटो नै भंग हुने चेतावनीसम्म दिइरहेका छन् । यसबिच अमेरिकाले ग्रिनल्यान्डलाई डेनमार्कबाट खरिद गर्ने प्रस्तावसमेत अघि सारेको छ । उसो पनि अमेरिकाले विदेशी भूमि पैसामा किनेको धेरै ऐतिहासिक उदाहरण पनि छन् । आजको अमेरिकी भूमिको झन्डै ४० प्रतिशत हिस्सा अमेरिकाले कुनै न कुनै समय खरिद गरेर आफूमा गाभेको इतिहास छ । सामान्यतया युद्धमार्फत भूमि विस्तार गर्ने युरोपेली तथा एसियाली देशको अनुभवभन्दा यो अमेरिकी अभ्यास पृथक् देखिन्छ । यहाँ अमेरिकाले खरिद गरेको प्रमुख भूमिबारे चर्चा गरिएको छ :
सन् १८०३ : १.५ करोड अमेरिकी डलरमा फ्रान्सबाट लुइसियाना
सन् १७८३ मा भएको ‘पेरिस सम्झौता’ले अमेरिकी महादेशमा रहेका १३ ब्रिटिस उपनिवेश र औपनिवेशिक शक्ति बेलायतबिचको अमेरिकी स्वतन्त्र संग्राम अन्त्य गर्यो । साथै त्यही सम्झौताअनुरूप ती १३ पूर्वब्रिटिस उपनिवेश संयुक्त राज्य अमेरिकाको नाममा एक स्वतन्त्र देश बने । त्यो देशले ब्रिटिस शासनबाट स्वतन्त्रता हासिल गरेको बीस वर्षपछि एक खरिद सम्झौतामार्फत आफ्नो भूमि दोब्बर बनायो । ‘लुइसियाना खरिद’ नामले चिनिने सो सम्झौताअनुरूप संयुक्त राज्य अमेरिकाले १.५ करोड अमेरिकी डलर (अहिलेको मूल्यमा करिब ३४ देखि ३८ करोड अमेरिकी डलर) तिरेर फ्रान्सको स्वामित्वमा रहेको लुइसियाना क्षेत्रलाई किनेको थियो ।
यस सम्झौताले मिसिसिपी नदी र रकी पर्वतीबचको जम्मै भूमि अमेरिकी शासनमा आयो । पछि यस भेगलाई अहिलेका १५ वटा राज्यमा विभाजित गरियो । त्यस समय फ्रान्सका सम्राट् नेपोलियन बोनापार्ट युरोपका विभिन्न युद्धमा संलग्न थियो । आर्थिक कठिनाइका समय रकम चाहिएकाले उनले त्यो भूमि बेचेको मानिन्छ ।
सन् १८१९ : ५० लाख अमेरिकी डलरमा स्पेनबाट फ्लोरिडा
संयुक्त राज्य अमेरिकाको नियन्त्रणमा आउनुअघिका फ्लोरिडा बेलायत र स्पेनबिच तानातानमा परेको थियो । सन् १७६३ सम्म स्पेनको स्वामित्वमा रहेको सो भूमि त्यस वर्ष स्पेनले क्युबा र फिलिपिन्स लिएर बेलायतको अधीनमा पुग्यो । तर, बीस वर्षपछि नै सो भूमिको स्वामित्व फेरि स्पेनकै हातमा आयो ।
बीस वर्षको शासनकालमा बेलायतले फ्लोरिडालाई पूर्वी र पश्चिम फ्लोरिडा नामक दुई प्रकासनिक एकाइ (उपनिवेश)मा बाँडेका थिए । त्यसमध्ये पश्चिम फ्लोरिडामा दिन–प्रतिदिन छिमेकी संयुक्त राज्य अमेरिकाका नागरिकको जनसंख्या बढ्दै गएको थियो । तिनले सन् १८१० मा विद्रोह गरेर सो भूमिलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गरे । उता अमेरिकी सरकारले भने पश्चिम फ्लोरिडा ‘लुइसियाना खरिद’कै हिस्सा भएको भन्दै सो भेग अमेरिकाकै भएको दाबी गरिरहेको थियो । विवादबिच सन् १८१८ मा अमेरिकी जनरल एन्ड्रयू ज्याक्सनले स्पेनी किल्लामाथि अचानक आक्रमण गर्दै स्पेनलाई सम्पूर्ण क्षेत्रमाथिको दाबी त्याग्न माग गरे ।
दबाब बढ्दै गएपछि स्पेनले संयुक्त राज्य अमेरिकासँग ‘एडम्स–ओनिस सन्धि’मा हस्ताक्षर गर्यो, जसअनुरूप स्पेन पूर्वी र पश्चिम फ्लोरिडा दुवैमाथिको दाबी त्याग्यो । दुई वर्षपछि दुवै देशका सरकारले त्यस सन्धिलाई अनुमोदन गरे । संयुक्त राज्य अमेरिकाले त्यस भूमिकाका लागि प्रत्यक्ष भुक्तानी त गरेको थिएन । तर, फ्लोरिडाका अमेरिकी नागरिकले स्पेनिस औपनिवेशिक शक्तिलाई तिर्नुपर्ने करिब ५० लाख डलर (करिब १० करोड डलर)को ऋण तिरेकाले यो रकमलाई सो भूमिको मूल्य मानिने गरिन्छ । फ्लोरिडा सन् १८४५ मा औपचारिक रूपमा अमेरिकाको राज्य बन्यो ।
सन् १८४८ : डेढ करोड डलरमा मेक्सिकोबाट क्यालिफोर्निया, नेभाडा, युटा, न्यू मेक्सिको र थप
सन् १८३६ मा मेक्सिकोबाट अलग भएर स्वतन्त्र बनेको गणतन्त्र टेक्सासले लगत्तै अमेरिकाको हिस्सा बन्न अनुरोध गरेको थियो । तर, राष्ट्रपति एन्ड्रयु ज्याक्सनको विदेश मन्त्रालयले यसलाई अस्वीकार गरिदिएको थियो । पछि सन् १८४५ मा अर्का राष्ट्रपति जोन टाइलरले त्यस भूभागलाई अमेरिकाको हिस्सा बनाउने गरी सम्झौता गरे । तर, टेक्ससलाई अझै आफ्नो भूमि मान्दै आएको मेक्सिको यस कदमबाट क्रुद्ध बन्यो । दुई देशबिच विवाद बढ्दै गएपछि सन् १८४६ देखि दुई देशबिच युद्ध सुरु भयो ।
युद्धमा मेक्सिको अमेरिकासामु निरीह देखियो । अमेरिकी फौजले मेक्सिकोको राजधानी नै कब्जा गर्ने स्थितिका बिच सन् १८४८ फेब्रुअरीमा दुई देशबिच ‘ग्वाडालुप हिडाल्गो सन्धि’ भयो । यसले दुई वर्षदेखि दुई छिमेकीबिच चलिरहेको युद्ध त अन्त्य गर्यो । तर, बदलामा मेक्सिकोले आफ्नो झन्डै ५५ प्रतिशत भूमि अमेरिकालाई बुझाउनुपर्यो । आज अमेरिकाका राज्यहरू क्यालिफोर्निया, नेभाडा, युटाको सम्पूर्ण भूभाग, न्यू मेक्सिको, एरिजोना र कोलोराडोको ठुलो भूभाग र वायोमिङका केही भाग यही मेक्सिकोबाट लिइएको जमिनलाई छुट्याएर बनाइएको हो । बदलामा अमेरिकाले ‘अमेरिकाले विस्तार गरेको भूमिको सन्दर्भ’मा मेक्सिकोलाई १.५ करोड अमेरिकी डलर (जुन आजको मूल्यमा करिब ५० देखि ५५ करोड अमेरिकी डलरबिच हुन आउँछ) भुक्तानी गरेको थियो । सम्झौतामा अमेरिकी नागरिकलाई मेक्सिकोले तिर्नुपर्ने रकम पनि अमेरिकी सरकारले नै तिरिदिने विषय पनि थियो ।
सन् १८५४ : मेक्सिकोबाट एक करोड डलरमा एरिजोना र न्यू मेक्सिकोका केही भाग
सन् १८४८ को ‘ग्वाडालुप हिडाल्गो सन्धि’ले अमेरिका मेक्सिकोबिच युद्ध अन्त्य त गर्यो । तर, दुई देशको सीमा क्षेत्रको सबै विवाद टुंगिएन । यही विवाद बढ्दै जादा फेरि युद्ध भड्किने डर बढ्न थाल्यो । युद्ध टार्न दुई देशका कूटनीतिज्ञबिच भएको छलफलपछि सन् १८५४ जुनमा ‘मेसिला सन्धि’ भयो । यसअनुरूप ६ वर्षअघि दुई देशबिचको सीमा विवाद टुंगियो । र, बदलामा संयुक्त राज्य अमेरिकाले मेक्सिकोबाट ७६ हजार ७६८ वर्गकिलोमिटर जमिन हात पार्यो । हाल एरिजोना र न्यू मेक्सिकोको तल्लो भागको त्यस जमिनका लागि अमेरिकाले एक करोड अमेरिकी डलर (सन् २०२४ को मूल्यमा २७ करोड अमेरिकी डलर) तिरेको थियो । ‘ग्याड्सडेन खरिद’ नामले समेत चिनिने यस सम्झौताले संयुक्त राज्य अमेरिकाको हालको दक्षिणी सीमा टुंगो लगायो ।
सन् १८६७ : ७२ लाख अमेरिकी डलरमा रुसबाट अलास्का
युरोपेली शक्ति रुसको साम्राज्य कुनै वेला युरोप, एसिया हुँदै उत्तर अमेरिकासम्म फैलिएको थियो । उत्तर अमेरिकी भूमिमाथि रुसी चासो जार पिटर महान्कै शासनमा सुरु भएको थियो । पिटर महान्ले अठारौँ शताब्दीको सुरुतिरै (सन् १७२५) अन्वेषक भिटस बेरिङलाई अलास्का तटमा पठाएदेखि नै रुसको गतिविधि बढेका थिए । त्यस शताब्दीको अन्त्यसम्ममा, केही भागमा स्थायी रुसी बस्ती र व्यापारिक चौकी निर्माण भइसकेको थियो । तर, सन् १८६० को दशकमा घट्दो भुवाको व्यापार र सन् १८५६ मा क्रिमियामा पराजयका कारण उत्पन्न आर्थिक दबाबबिच रुसलाई केन्द्रबाट धेरै टाढाको अलास्का टिकाइराख्न गाह्रो भइरहेको थियो । यही समयमा अमेरिकी सरकारले ७२ लाख अमेरिकी डलर (सन् २०२४ को मूल्यमा करिब १३.२ करोड अमेरिकी डलरमा) बेच्न सहमत भयो । लामो समय केन्द्र शासित रहेको अलास्का सन् १९५९ मा औपचारिक रूपमा अमेरिकाको राज्य बन्यो ।
(पत्रकार बिसेटले क्याम्ब्रिज विश्वविद्यालयबाट अरबिक तथा मध्यपूर्व अध्ययन पूरा गरेकी थिइन् । वासिंटन पोस्टमा प्रकाशित उनको यो लेख श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)