नवौँ संस्करणको निफ १९ चैतदेखि

शुक्रबार, २ माघ, २०८२
डिजिटल संस्करण

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गते (अप्रिल २–६)सम्म हुने भएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको महोत्सवको यो संस्करणमा दर्शकहरूले पाँच दिनभित्र ४० देशका ८८ चलचित्रहरू हेर्न पाउनेछन्।

‘विश्वभरका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजकले यस संस्करणको महोत्सवको मिति घोषणा गरेको हो। यस संस्करणमा युवा पुस्ताको रुचिलाई केन्द्रमा राखेर चलचित्रहरू चयन गरिएको निफले जनाएको छ।

यो वर्ष ८० भन्दा बढी देशबाट आठ सय बढी चलचित्रहरूले महोत्सवमा सहभागी हुन आवेदन दिएका निफका अध्यक्ष केपी पाठकले जानकारी दिए। तीमध्येका उत्कृष्ट र युवाको चासोमा रहेका चलचित्रहरू चयन गरिएकाले यस संस्करणको निफको स्क्रिनिङ विशेष रहने ‘महोत्सव चलचित्र छनोट समिति’को विश्वास छ।

विश्व प्रतिष्ठित कान्स, बर्लिन, भेनिस, ट्राइबेका, संघाई, लोकार्नो, बुसान, गोवालगायत चलचित्र महोत्सवमा सहभागी भएका र अवार्ड जितेका फिचर चलचित्र, सर्टफिल्म, एआईबाट बनेका चलचित्र र डकुमेन्ट्रीहरु निफले छनोट गरेको छ।

गत जुनमा निफले विश्वव्यापी आवेदन खुलाएको थियो। त्यसवेला निफ फागुनमा २१ देखि सुरु हुने घोषणा गरिएको थियो। फागुनमा आमनिर्वाचन हुने भएपछि महोत्सवको मिति एक महिना पछि सारिएको हो।

अध्यक्ष पाठक भन्छन्, ‘निर्वाचन हुँदा यातायातदेखि सुरक्षाका विषयहरू सरोकारमा पर्छन्। यिनै सुरक्षा र जटिलतालाई मध्यनजर गरी तथा आगामी निर्वाचन विशेष महत्त्वको भएकाले सबैको चासो र आमजनता सहभागिता हुनुपर्ने अवस्थालाई समेत ख्याल गर्दै निफलाई एक महिना पछि सारिएको हो।’

See More On

सुझावित समाचार