मकवानपुरको भीमफेदी गाउँपालिका– ६, जुरिखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा कार दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।
हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ३८९० नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्तकुमार श्रेष्ठको नेतृत्वमा सातजना ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले कारचालकसहित तीनजना घाइतेको उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाएको जनाएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।