प्रतिनिधिसभा सदस्य निर्वाचन : उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

शुक्रबार, २ माघ, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारीलाई तीव्र बनाउँदै उदयपुर जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

त्रियुगा नगरपालिका– १०, बोक्सेमा स्थापना गरिएको उक्त कार्यालयको औपचारिक उद्घाटन मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मुकेश उपाध्यायले आज शुक्रबार गरेका हुन् । 

कार्यालयको उद्घाटनसँगै उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत हुने सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यहरू अब यही कार्यालयमार्फत सञ्चालन हुने जनाइएको छ । मतदान केन्द्र निर्धारणदेखि मतदाता नामावली व्यवस्थापन, निर्वाचन सामग्रीको व्यवस्थापन, कर्मचारी परिचालन तथा निर्वाचनसम्बन्धी अन्य प्रशासनिक तथा कानुनी प्रक्रियाहरू यही कार्यालयको समन्वयमा अघि बढाइनेछ ।

निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी समयमै सम्पन्न गर्ने उद्देश्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए । उनले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १ मा त्रियुगा नगरपालिका, चाैदण्डीगढी र बेलका नगरपालिका पर्दछन् ।

यसैबिच, उदयपुर प्रतिनिधसभा निर्वाचन क्षेत्र नम्बर २ का लागि निर्वाचन अधिकृतको कार्यालय कटारी नगरपालिका– ४ स्थित उदयपुर उद्योग वाणिज्य संघको कार्यालयमा स्थापना गरिएको छ । सो कार्यालयमार्फत निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका सम्पूर्ण निर्वाचन व्यवस्थापनका कार्यहरू सञ्चालन हुनेछन् ।

उदयपुर जिल्लामा प्रतिनिधिसभाका लागि दुईवटा निर्वाचन क्षेत्र कायम रहेका छन् । निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कटारी नगरपालिका, लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिका समावेश छन् ।

मुख्य तथा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएसँगै उदयपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को औपचारिक तयारीले गति लिएको छ ।

सुझावित समाचार