ग्लोबल साउथले बनाउनुपर्छ डिजिटल भविष्य

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण
  • बीसौँ शताब्दी भौतिक पूर्वाधारको थियो भने एक्काइसौँ शताब्दी डिजिटल पूर्वाधार र डिजिटल प्रतिभाको हो 

ग्लोबल साउथअन्तर्गतका देशमा एउटा पुस्तामा एकपटक आउने अवसर अगाडि छ । र, यहाँ चीनमा देखेको अनुभवले हामीलाई सम्झाउँछ कि डिजिटल क्षमता अब वैकल्पिक छैन, बरु अनिवार्य बन्दै छ । निश्चय पनि डिजिटल उपकरण विकासका नयाँ इन्जिन हुन् । डिजिटल क्षमता महत्वपूर्ण छ, किनभने यसले हाम्रो भविष्यका चार मुख्य तत्वलाई परिभाषित गर्छ, प्रतिस्पर्धात्मकता, समावेशीकरण, राज्य क्षमता र मानव विकास । अफ्रिका, ल्याटिन अमेरिका, क्यारिबियन, मध्यपूर्व र यी बाहिरका देशका लागि डिजिटल खाडल (रिक्तता) केवल प्राविधिक मुद्दा मात्र होइन । यो लाखौँ मानिसका लागि वास्तविक परिणामसहितको सामाजिक र आर्थिक चुनौती पनि हो ।

यदि बीसौँ शताब्दी भौतिक पूर्वाधारबारे थियो भने एक्काइसौँ शताब्दी डिजिटल पूर्वाधार र डिजिटल प्रतिभाबारे हो । र, दुवै (भौतिक र डिजिटल पूर्वाधार) निर्माण गर्न असफल हुने राष्ट्रहरू निश्चय पनि विश्वव्यापी मूल्य शृंखलाबाट बाहिरिनेछन् । आज ग्लोबल साउथका अधिकांश भाग ग्रामीण अवस्थामै छन्, ग्रामीण परिवार, ग्रामीण अर्थतन्त्र र ग्रामीण युवा । र, अझै पनि धेरैजसो डिजिटल नीति केवल प्रमुख सहरमा केन्द्रित छन् । उरुम्कीदेखि तुर्पानसम्म (चीनका दुई प्राविधिक सहर), स्मार्ट कारखानादेखि सामुदायिक डिजिटल केन्द्रसम्म हामीले चीनमा सिकेका सबैभन्दा शक्तिशाली पाठमध्ये एक यो डिजिटलाइजेसन ग्रामीण क्षेत्रमा पुग्दा मात्र साँच्चै परिवर्तनकारी हुन्छ । तब मात्र यो परिवर्तन ग्रासरुट तहका मानिसले अनुभूति गर्न सक्छन् । जब ग्रामीण समुदायले कनेक्टिभिटी र डिजिटल सीप प्राप्त गर्छन्, तीनवटा कुरा सम्भव हुन्छ– कृषि क्षेत्र तथ्यांकद्वारा सञ्चालित हुन्छ, सार्वजनिक सेवाहरू पहुँचयोग्य हुन्छन् र युवाले आवश्यकताका कारणले बसाइँ सर्नुको सट्टा स्थानीय रूपमा अवसर सिर्जना गर्न सक्छन् ।

यो ल्याटिन अमेरिका र ग्लोबल साउथका लागि गहिरो रूपमा महत्वपूर्ण छ । ग्रामीण समावेशीकरण दान होइन, यो रणनीति हो । ग्लोबल साउथमा वास्तवमा एक अद्वितीय अवसर छ । हामी पुरानो डिजिटल प्रणालीको बोझ बोक्दैनौँ । हामी सीधै आधुनिक, अन्तरसञ्चालनयोग्य, एआईले तयार पारेको पारिस्थितिक प्रणालीमा छलाङ मार्न सक्छौँ । हामी भविष्यका लागि डिजाइन गरिएका डिजिटल सरकार निर्माण गर्न सक्छौँ । हामी सुरुदेखि नै गोपनीयता र समावेशीकरणका साथ डेटा प्रशासन मोडल डिजाइन गर्न सक्छौँ । र, हामी डिजिटल प्रतिभा निर्माण गर्न सक्छौँ, जुन अर्को दशकसम्म समयसापेक्ष हुनेछ । यद्यपि, धेरैजसो अवस्थामा हामीले डिजिटल रूपान्तरणलाई समर्थन गर्ने भौतिक पूर्वाधार पनि निर्माण गर्नुपर्छ, तर अब हामी भविष्यका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्न सक्छौँ । हाम्रा देश (तिनका युवा जनसंख्या, उद्यमशील ऊर्जा र रूपान्तरणको आवश्यकताका साथ) धेरैले अपेक्षा गरेभन्दा छिटो अगाडि बढ्न सक्छन् । चीनको उदाहरणले हामीलाई देखाउँछ कि दीर्घकालीन दृष्टिकोण, मानिसमा लगानी र अनुशासित कार्यान्वयनले केही दशकमा राष्ट्रको मार्गलाई पुन: आकार दिन सक्छ ।

हामी प्रत्येकले एउटा देश, एउटा समुदाय र एउटा सम्पूर्ण पुस्ताको प्रतिनिधित्व गर्छौं, जसले यहाँ देखेका कुरालाई वास्तविक नीति, वास्तविक परियोजना र वास्तविक प्रभावमा रूपान्तरण गर्न हामीमाथि भरोसा गरिरहेको छ । ग्लोबल साउथभर अवसरहरू विशाल छन्, फिनटेक ( बैंकिङ तथा वित्तीय सेवाहरूलाई समर्थन गर्न वा सक्षम पार्न प्रयोग गरिने कम्प्युटर प्रोग्राम र अन्य प्रविधि), एजटेक (वृद्ध वयस्कहरूको स्वास्थ्य, कल्याण र स्वतन्त्र जीवनयापनलाई समर्थन गर्न डिजाइन गरिएका प्रविधि), स्वास्थ्य–प्रविधि, शैक्षिक प्रविधि, डिजिटल सरकार, सार्वजनिक सेवाका लागि एआई, स्मार्ट गाउँ, नवप्रवर्तन, इत्यादि ।

हामी एक नेटवर्कका रूपमा जोडिएका छौँ । नेटवर्कले के काम गर्छ र के गर्दैन भन्नेबारे साझा गर्छौं, यदि हामी क्षेत्रहरूमा सहकार्य गर्छौं भने हामीले अफ्रिका, ल्याटिन अमेरिका, एसिया र प्रशान्त क्षेत्रमा गर्ने काम छिटो बढ्नेछ, अझ अगाडि बढ्नेछ र जीवनलाई रूपान्तरण गर्नेछ । भविष्य डिजिटल छ । भविष्य समावेशी छ । र, भविष्य हाम्रो छ ।

(चाइना डेलीका लागि सिउजिङको आलेख)

सुझावित समाचार