नेपाल र बंगलादेशबिच ‘प्रिफेन्सियल ट्रेड एग्रिमेन्ट (पिटिए)’को खाका तीन महिनाभित्र टुंग्याउने सहमति भएको छ । बंगलादेशको राजधानी ढाकामा सम्पन्न वाणिज्य वार्तामा दुई देशबिच तीन महिनाभित्र पिटिएको प्राविधिक पक्ष टुंग्याउने सहमति भएको हो ।
नेपाल–बंगलादेश आठौँ वाणिज्य सचिवस्तरीय बैठक ढाकामा मंगलबार र बुधबार आयोजना भएको थियो । उक्त वार्तामा निश्चित वस्तुमा व्यापार ग्राह्यता दिने गरी हुने व्यापार सम्झौता ‘प्रिफेन्सियल ट्रेड एग्रिमेन्ट’ छिटो टुंग्याउने गरी सहसचिवस्तरको प्राविधिक समितिको बैठक तीन महिनाभित्र गर्न दुवै पक्ष सहमत भएका हुन् । वार्तामा नेपालको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा. रामप्रसाद घिमिरे र बंगलादेशको नेतृत्व बंगलादेशका वाणिज्य सचिव मभुबुर रहमानले गरेका थिए ।
प्रिफेन्सियल ट्रेड एग्रिमेन्टमा तोकिएका निश्चित वस्तुहरूलाई भन्सार छुट तथा न्यून भन्सार लाग्ने व्यवस्था गरिन्छ । अहिले नेपालका वस्तुहरूलाई बंगलादेशले तुलनात्मक रूपमा उच्च भन्सार दर लगाउँदै आएको छ । नेपालले यस्ता भन्सार दर न्यून हुनुपर्ने माग गर्दै आएको छ । बंगलादेशसँगको व्यापारमा नेपालले उच्च घाटा व्यहोर्दै आएको छ ।
खासगरी व्यापार असमानता र अर्थतन्त्रको आकारलाई ध्यानमा राख्दै पिटिएको खाका तयार गरिने सहमति भएको वाणिज्य सचिव डा. घिमिरेले बताए । ‘अहिले प्राविधिक समितिको बैठकका लागि म्याद नै तोकेर पिटिए टुंग्याउने सहमति भएको छ, यसले पिटिए छिट्टै हुने सम्भावना बढाएको छ,’ उनले भने ।
व्यापार ग्राह्यता पाउने वस्तुको सूची, उत्पत्तिको प्रमाण (रुल्स अफ ओरिजिन)मा नेपालले बढी सुविधा पाउनुपर्ने नेपाल पक्षको माग छ । त्यसमा बंगलादेशसमेत सकारात्मक देखिएको छ । वार्तामा अन्तरदेशीय भुक्तानी (क्रसबोर्डर पेमेन्ट)मा सहजीकरण गर्न, भन्सार सहजीकरण, गैरभन्सार अवरोधलाई समाधान गर्नसमेत सहमति भएको छ । अर्को बैठक काठमाडौंमा गर्ने सहमति भएको छ ।
व्यापार अवरोध हटाउन सहमत
उक्त अवसरमा वाणिज्य सचिव घिमिरेले भन्सार तथा गैरभन्सार अवरोध हटाएर दुईपक्षीय व्यापार वृद्धि गर्नुपर्नेमा जोड दिए । नेपाल र बंगलादेश निकट भविष्यमै विकासशील मुलुकमा स्तरोन्नति हुने सन्दर्भमा साझा हित प्रवद्र्धन गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय फोरमहरूमा दुई देशले घनिस्ट साझेदारी गर्नुपर्ने बताए । बंगलादेशका वाणिज्य सचिव रहमानले आवश्यकता सहकार्य व्यापार तथा लगानी, अन्तरआबद्धता र पर्यटनका माध्यमबाट गहिरो आर्थिक साझेदारी बनाउन सहकार्य आवश्यक रहेको बताए ।
संयुक्त लगानी गर्न जोड
नेपाल र बंगलादेशबिच जलविद्युत् र उद्योगमा संयुक्त लगानी गर्नुपर्नेमा दुई देशका अधिकारीले जोड दिएका छन् । नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय बैठकमा सहभागी अधिकारीले दुई देशबिचको आर्थिक साझेदारी बढाउन नेपालको जलविद्युत् र दुई देशको वस्तु तथा सेवाको मूल्य शृंखलामा जोडिने गरी उद्योग–व्यवसायमा संयुक्त लगानी गर्न जोड दिएका हुन् । नेपाल र बंगलादेशले विद्युत् व्यापार सम्झौता गरिसकेका छन् ।
व्यापार सम्झौता छिट्टै हुने सम्भावना बढेको छ : डा. रामप्रसाद घिमिरे, सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
‘प्रिफेन्सियल ट्रेड एग्रिमेन्ट’ छिटो टुंग्याउने गरी सहसचिवस्तरको प्राविधिक समितिको बैठक तीन महिनाभित्र गर्ने सहमति भएको छ । यसले पिटिए छिट्टै हुने सम्भावना बढाएको छ । प्राविधिक समितिले व्यापार ग्राह्यता पाउने वस्तुको सूची, भन्सारदरलगायतमा छिट्टै टुंगो लगाउनेछ । नेपालले बंगलादेशसँग व्यहोरिरहेको व्यापार घाटा, दुई देशको अर्थतन्त्रको आकारलगायत विषयलाई ध्यानमा राखेर पिटिएको खाका बनाउन दुवै देश सहमत भएका छौँ ।